१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
पठनपाठनमा समेत असहज अवस्था आएपछि मंगलबार घन्टाघरअगाडि सरकारलाई खबरदारी गर्दै विद्यार्थी । प्रदर्शनमा सरकारको नेतृत्व गरेको कांग्रेसनिकट नेविसंघमा आबद्ध तथा अन्य विद्यार्थी सहभागी थिए । तस्बिर : संजित परियार/नयाँ पत्रिका
भवानीश्वर गौतम काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o५:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘यो कुरा सरकारले कहिले हो सुन्ने ! हाम्रो कलेज त्रिचन्द्र कहिले हो बन्ने ?’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o५:५o:oo

संघीयता कार्यान्वयनमा आइसकेपछि स्थानीय तहमा अग्ला डाँडामा समेत करोडौँ खर्चिएर भ्युटावर निर्माण भएका छन् । तर, नेपालको उच्च शिक्षाको ‘टावर’ मानिएको त्रिचन्द्र कलेज र सँगै रहेको घन्टाघर भने ढल्न लागेका छन् । ऐतिहासिक कलेज ढल्न लाग्दा कलेजका विद्यार्थीको मन जिम्मेवार निकायप्रति कुँडिन लागेको छ । 

०७२ को भूकम्पमा क्षति पुगेका उच्च शिक्षाको आधार, ज्ञान निर्माण र विस्तारको केन्द्र त्रिचन्द्र कलेज र घन्टाघर पुनर्निर्माणमा ढिलाइ भइरहेको छ । भूकम्पको सात वर्षसम्म पनि पुनर्निर्माण नहुँदा ऐतिहासिक कलेज भग्नावशेष बन्दै छ । त्यसैले त्रिचन्द्रमा अध्ययनरत विद्यार्थीको प्रश्न छ– भ्युटावर बन्ने त्रिचन्द्र कलेज नबन्ने ? 

ऐतिहासिक भवन ढल्न लागेको मात्र होइन, विद्यार्थीले बस्ने कक्षाकोठा नपाएर पढाइसमेत गुमाइरहेका छन् । पठनपाठनमा समेत असहज अवस्था आएपछि मंगलबार घन्टाघरअगाडि विद्यार्थीले सरकारलाई खबरदारी गर्दै प्रदर्शन नै गरेका छन् । प्रदर्शनमा सरकारको नेतृत्व गरेको कांग्रेसनिकट नेविसंघमा आबद्ध तथा अन्य विद्यार्थी सहभागी थिए ।

विद्यार्थी नेता मनोज पुरीले दैनिक तीनदेखि चार हजार विद्यार्थी आवतजावत गर्ने र पढ्ने घन्टाघरतर्फको भवन जीर्ण भएर यस वर्षदेखि पठनपाठन पूर्ण रूपमा बन्द भएको बताए । यसअघि जोखिम मोलेरै केही कार्यक्रम अध्ययन हुने गरेको थियो । 

घन्टाघरतर्फको भवनमा पानी चुहिने र पर्खाल भत्कन लागेपछि यस वर्षदेखि पूर्ण रूपमा बन्द गरेको उनले बताए । कक्षाकोठाको व्यवस्थापन गर्न नसक्दा केही विषयमा १५ दिन ‘प्राक्टिकल’लगायतका कक्षासमेत बन्द भएको विद्यार्थी पुरीले बताए । 

विद्यार्थीले अघिल्लो वर्ष त्रिचन्द्र बचाउ अभियान सञ्चालन नै गरेका थिए । क्याम्पस प्रशासन तथा विद्यार्थी नेताले तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पदाधिकारीलाई भेटेर आफ्ना मागसमेत राखेका थिए । तर, प्राधिकरण पदाधिकारीले दिएको आश्वासन पूरा भएन । पुनर्निर्माणको आश्वासन पूरा नभएपछि विद्यार्थी फेरि आन्दोलनमा उत्रेका हुन् । 

‘वर्ष दिन बित्यो, सरकार फेरियो, तर त्रिचन्द्र फेरिएन,’ विद्यार्थी पुरीले भने, ‘अहिले कक्षाकोठामा बसेर पढ्न सक्ने अवस्था नभएकाले सांकेतिक रूपमा सडकमै बसेर पढेर प्रदर्शन गरियो ।’ सडकमा बसेर विद्यार्थीले ‘प्रधानमन्त्रीज्यू तपाईं पढेको कलेज कहिले बन्ने ?’ भन्दै प्रदर्शन गरे । शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ शिक्षा प्रमुख रामशरण सापकोटाले त्रिचन्द्र कलेज पुनर्निर्माणका लागि डिपिआर बनाउन कन्सल्ट्यान्ट नियुक्त भएको बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको स्थलगत अध्ययनअनुसार त्रिविको केन्द्रीय कार्यालयसहित आंगिक क्याम्पसको पुनर्निर्माणमा करिब १४ अर्ब खर्च हुने अनुमान छ । सरकारले भारतको ऋण सहयोगमा शैक्षिक संस्था पुनर्निर्माणका लागि सन् २०१६ मै सम्झौता गरेको थियो । सरकारले सम्झौता गरी एक वर्षअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)लाई निर्माणको जिम्मा दिएको थियो । अहिले यो कार्यालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको छ । ऋण अनुदानमा पुनर्निर्माणको प्रक्रिया निकै झन्झटिलो छ । 

१०४ वर्षको इतिहास बोकेको त्रिचन्द्र कलेजलगायत केही शैक्षिक संस्थाको अवस्था दयनीय छ । त्रिचन्द्र कलेजको घन्टाघरतर्फको भवन वि.सं. १९७५ मै बनेको थियो । त्यतिवेला १४ महिनामा बनेको भवन भूकम्पले क्षति पुर्‍याएको सात वर्ष बित्दा पनि पुनर्निर्माण हुन सकेको छैन । भारतको ऋण सहयोगमा बनाउने सम्झौता भए पनि निर्माण प्रक्रिया सुरु भएको छैन । भूकम्पले चर्किएका भवनमा बर्खाको पानी छिर्दा झन् गलेका छन् । 

ad
ad