१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:४६:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

पोखरा र चितवनमा एकसाथ विद्युत् वितरण प्रणाली भूमिगत सुदृढीकरण गरिँदै, दुई अर्बभन्दा बढी लागत 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:४६:oo

पोखरा र भरतपुरमा विद्युत् वितरण प्रणाली भूमिगत गराउने प्रक्रिया अगाडि बढेको छ । नेपाल सरकार, विद्युत् प्राधिकरण र एसियाली विकास बैंक (एडिबी)बीच सम्झौता भएर प्रक्रिया अगाडि बढेको पोखरा–भरतपुर विद्युत् वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख वीरेन्द्रकुमार झाले जानकारी दिए । उनका अनुसार सहरी विद्युत् वितरण प्रणाली सुदृढीकरण र सहरी सौन्दर्यकरण कार्यक्रमका लागि एडिबीसँग सम्झौता भएर प्रक्रिया अगाडि बढेको हो ।

सम्झौताअनुरूप पोखरा र भरतपुर महानगरका लागि एडिबीबाट झन्डै दुई अर्बभन्दा बढी रकम (एक करोड ६७ लाख २० हजार ८००.६२ युएस डलर र ४९ करोड ६८ लाख ३१ हजार ८९९.८० रुपैयाँ) सफ्ट लोनको रूपमा प्राप्त हुने उनले बताए । आयोजनाअन्तर्गत विद्युत् प्रणाली सुदृढीकरण र सहरी सौन्दर्यकरणको कामसँगै हुनेछ । 

प्रमुख झाका अनुसार खासगरी यसमा तीनवटा काम हुनेछन् । पहिलो, मुख्य चोकहरूमा विद्युत् अन्डरग्राउड हुनेछ । दोस्रो, ट्रान्सफर्मरको क्षमता विकास (अपग्रेडिङ) गरेर वितरण प्रणाली सुदृढ गर्ने र तेस्रो, खुला तारलाई इन्सुलेटेड गर्ने हुनेछ । यो आयोजनाका लागि भारतको टाटा प्रोजेक्टले ठेक्का लिएको प्रमुख झाले जानकारी दिए । अहिले सम्झौतापश्चात् हुने डिटेल डिजाइन इन्जिनियरिङको काम भइरहेको उनले बताए । साथै आयोजनाका लागि प्रयोग हुने सामानको समेत आयात प्रक्रिया अगाडि बढाएको उनले बताए ।

अबको तीन महिनामा सबै प्रक्रिया सकेर विद्युत् भूमिगत गर्ने कार्यको सुरुवात भइसक्ने उनले दाबी गरेका छन् । ‘पोखरा र भरतपुरका लागि निर्माण सम्झौता भएर त्यसपश्चातको काम डिटेल डिजाइन इन्जिनियरिङको काम भइरहेको छ । आवश्यक इक्युपमेन्टहरू पनि आयात गर्ने प्रक्रिया सुरु भइसकेको छ । यो सबै काम सकेर अब फिल्डमा तीन महिनाभित्र काम सुरु गर्छौँ,’ उनले भने । निर्माण आयोजनाले चार महिनाअगाडि नै पोखरामा कार्यालय खोलेर तयारीलाई अगाडि बढाएको प्रमुख झाले जानकारी दिए । उनका अनुसार आयोजनाको काम ५ माघ ०८० (१९ जनवरी, २०२४) मा सम्पन्न हुनेछ । 

पोखरामा २५ र भरतपुरमा १५ किलोमिटरमा अन्डरग्राउन्ड र स्तरोन्नति 
विद्युत् प्राधिकरण प्रदेशिक कार्यालय गण्डकीका प्रमुख केदारराज सिग्देलका अनुसार पोखराको २५ किलोमिटर दूरीमा दुईतर्फी अन्डरग्राउन्ड र स्तरोन्नतिको काम हुनेछ । कुँडहर सबस्टेसनदेखि पृथ्वी राजमार्ग हुँदै पृथ्वीचोक, एयरपोर्ट हुँदै बिरौटासम्म र पृथ्वीचोक, सिर्जनाचोक र जिरोकिलोमिटर हुँदै हल्लनचोकसम्म विद्युत् प्रणाली सुदृढीकरण र सौन्दर्यकरण गर्न लागिएको उनले जानकारी दिए ।

विद्युत् वितरण प्रणालीलाई दिगो, भरपर्दो र स्वचालित बनाउन वितरण लाइन भूमिगत गर्न लागिएको उनले जानकारी दिए । यससँगै आयोजनाले पोखराको सहरी सौन्दर्यकरणलाई पनि महत्व दिइएको छ । अहिले नांगो तार र पोलले भद्दा देखिएको सहर भूमिगत वितरण प्रणालीमा जाँदा स्वभाविक रूपमा सौन्दर्यकरण बढ्ने उनले बताए । यसका साथै उक्त क्षेत्रमा टेलिफोनलगायत अन्य तारहरूलाई समेत भूमिगत बनाउने योजना छ ।

पोखरा महानगरपालिका र विद्युत् प्राधिकरणबीच समन्वय गरेर नै यो कार्य सम्पन्न गरिने उनले जानकारी दिए । ‘सहरी सौन्दर्यकरण र विद्युत् वितरण प्रणाली, ढल व्यवस्थापन र तारहरूको व्यवस्थापनका कुरा जोडिएका हुन्छन् । यस्ता कुरामा महानगरको समन्वय अनिवार्य छ,’ उनले भने । नेपाल प्राधिकरणको सुरुमा ठूला सहरका मुख्य सडकको वितरण लाइनलाई भूमिगत गर्ने तथा भित्री सडकका ओभरहेड लाइनलाई स्तरोन्नति गरेर सञ्चालन गर्ने योजना छ । यसैअनुरूप पोखरा र भरतपुरमा यो आयोजना एकसाथ सञ्चालन गरिएको हो । 

यो आयोजनाअन्तर्गत भरतपुरमा समेत पोखराकै हाराहारीमा काम हुने पोखरा–भरतपुर विद्युत् वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख झाले जानकारी दिएका छन् । झाका अनुसार भरतपुरमा १५ किलोमिटर क्षेत्रमा भूमिगत र स्तरोन्नति गरिने भए पनि त्यहाँ र पोखराको लागत एउटै पर्नेछ ।

पोखराको मुख्य सडक र चोकमा विद्युत् अन्डरग्राउन्डका लागि छलफल
पोखराको मुख्य सडक र चोकहरूमा विद्युत् अन्डरग्राउन्ड गर्न र व्यवस्थित गर्न पोखरा महानगर र नेपाल विद्युत् प्राधिकरणबीच छलफल अगाडि बढेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग पोखराका मुख्य सहरी क्षेत्रमा विद्युत् अण्डरग्राउन्ड गर्ने र सडकबत्ती व्यवस्थित गर्ने विषयमा कुराकानी भइरहेको मेयर धनराज आचार्यले जानकारी दिए । पोखराको जिरो किलोमिटर देखि फेदीसम्म सडक बत्ती जडान गर्न पोखराको मुख्य सडक र सहरी क्षेत्रमा विद्युत् अन्डरग्राउन्ड गरेर सहरी सान्दर्यकरणको छलफल भएको हो । यसलाई आगामी दिनमा छिट्टै बसेर एउटा निचोडमा पुगिने उनले बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले महानगरमा सौर्यबत्तीले नसमेटेका र सम्पूर्ण सहरी सडकहरमा सडकबत्ती जडान गरी पोखरा महानगरलाई उज्यालो बनाउने योजना रहेको बताए । उनले पोखरा महानगरपालिका र प्राधिकरणबीचको लागत साझेदारीमा योजना अगाडि बढ्ने बताए । सडकबत्ती जडानका लागि पोखरा महानगर र नेपाल विद्युत् प्राधिकरणबीच यसअघि नै सम्झौता भएर पोखरा महानगरकोे तर्फबाट पाँच करोड रुपैयाँ भुक्तानीसमेत गइसकेको उनले जानकारी दिए । उनले सडकबत्ती जडानका लागि सडक सूची तयार भएको प्राथमिकताका आधारमा शीघ्र जडानको काम अगाडि बढ्ने बताए । 

ad
ad