मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवराज मैनाली काठमाडाैं
२०७९ जेठ ३१ मंगलबार ०६:०१:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० करोडको सेतो हेरोइन  बरामद, तीन अफ्रिकी पक्राउ 

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७९ जेठ ३१ मंगलबार ०६:०१:००

लागुऔषधसम्बन्धी अनुसन्धानमा नेपाल प्रहरीले अहिलेसम्मकै ठूलो सफलता पाएको छ । प्रहरीले २४ किलोग्राम सेतो हेरोइनसहित तीन दक्षिण अफ्रिकी नागरिकलाई पक्राउ गरेको छ । 

लागुऔषध नियन्त्रण ब्युरोले आइतबार र सोमबार गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २४ केजी सेतो हेरोइन बरामद गरेको हो । आइतबार १६ केजी तथा सोमबार आठ केजी हेरोइन बरामद भएको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ पर्ने तीनैजना दक्षिण अफ्रिकाका नागरिक हुन् । आइतबार मुरिल नसाम्बा र थान डेकिले सिबिसीलाई १६ केजी हेरोइनसहित एनसिबीको टोलीले पक्राउ गरेको हो । उनीहरू दुवैजना दुबई विमानस्थल हुँदै नेपाल आएका थिए । 

त्यस्तै, सोमबार दिउँसो दक्षिण अफ्रिकी नागरिक खानिसिली थभोनी थाबालालालाई आठ केजी हेरोइनसहित पक्राउ गरेको छ । भन्सार जाँचबाट बाहिरिसकेपछि शंका लागेर थप चेक गर्दा उनले बोकेको ह्यान्डब्यागमा कालो र्‍यापिङ गरेको प्लास्टिकभित्र हेरोइन बरामद भएको विमानस्थलका एक प्रहरी अधिकारीले बताए । दुई दिनमा बरामद हेरोइनको मूल्य करिब ५० करोड रहेका लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी बताउँछन् । सेतो हेरोइन प्रतिकलो करिब दुई करोडमा कारोबार हुने गरेको छ । 

नेपाल प्रहरीले अहिलेसम्म एकैपटक यति धेरै हेरोइन बरामद गरेको थिएन । यसअघि गत वैशाखको पहिलो साता सात केजी हेरोइनसहित ब्युरोले जाम्बियन र भारतीयलाई पक्राउ गरेको थियो । उनीहरूबाट सात केजी हेरोइन बरामद भएको थियो । यसअघि सबैभन्दा धेरै बरामद हेरोइन त्यही थियो । 

अहिले बरामद लागुऔषध दक्षिण अफ्रिकाबाट आएको र यसको गिरोहका नाइके एकै व्यक्ति भएको आशंका गरिएको छ । लागुऔषधका अन्तर्राष्ट्रिय कारोबारीले दशकौँदेखि नेपाललाई तस्करीको ट्रान्जिट बनाउँदै आएका छन् । नेपालमा पक्राउ परे पनि कम सजाय हुने र विमानस्थलको सुरक्षा जाँच अन्य देशमा भन्दा फितलो हुने आकलनमा नेपाललाई ट्रान्जिट बनाउने गरिएको छ । नेपालमा लागुऔषधसम्बन्धी मुद्दामा अधिकतम १५ वर्ष कैद सजाय हुन्छ । कतिपय देशमा मृत्युदण्डसम्मको सजाय छ । 

नेपालमा हेरोइन सेवन गर्ने लागुऔषध दुर्व्यसनी थोरै भएकाले बरामद लागुऔषध भारत तस्करी गर्न लागिएको हुन सक्ने प्रहरी आशंका छ । विस्तृत अनुसन्धान भइरहेकाले तीन अफ्रिकी नागरिक पक्राउसम्बन्धी विवरणलाई प्रहरीले गोप्य राखेको छ ।