१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

महिलाविरुद्ध दुर्व्यवहार भएको निहुँमा झडप, मध्यपुरथिमिका कल्याण साहुको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:o९:oo

महिलाविरुद्ध दुर्व्यवहार गरेको विषय झडपमा बदलिँदा भक्तपुरस्थित मध्यपुरथिमिमा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा मध्यपुर थिमी–८ का ५१ वर्षीय कल्याण साहु छन् । 

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा एक महिलासहित चारजनालाई पक्राउ गरेको छ । तर, उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेका चारैजनालाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।

अनुसन्धानकै प्रक्रियामा रहेकाले उनीहरूको नामावली सर्वजनिक नगरिएको प्रहरीको भनाइ छ । महिलाविरुद्ध  दुर्व्यवहार गरेको विषय बढ्दै जाँदा झडप भएको र सोही झडप साहुको मृत्युको कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी राजु पाण्डेले बताए ।

‘महिलाविरुद्ध भएको  दुर्व्यवहारलाई लिएर दुई पक्षबीच विवाद भएको जस्तो देखिन्छ । विवाद बढ्दै जाँदा झडप हुन पुग्यो । यही क्रममा साहुको मृत्यु भएको देखिन्छ । घटनाको अनुसन्धान हुँदै छ । भोलिसम्ममा तथ्य बाहिर आउला,’ उनले भने ।

महिलाविरुद्ध भएको दुर्व्यवहारलाई लिएर दुई पक्षबीच विवाद भए जस्तो देखिन्छ । विवाद बढ्दै जाँदा झडप हुन पुग्यो । यही क्रममा साहुको मृत्यु भएको देखिन्छ ।
  डिएसपी राजु पाण्डे, प्रवक्ता, महानगरीय प्रहरी परिसर भक्तपुर 

 खाजा खाने वेला विवाद र झडप
प्रहरीका अनुसार शनिबार साँझ बोडेस्थित स्थानीय एक होटेलमा साहु प्रवेश गरेका थिए । होटेलभित्र एक महिलासहित केही मजदुर खाजा खाँदै थिए । मदिराको नशा चढ्दै गएपछि साहु होहल्लामा उत्रिए । मजदुरहरू पनि नशामा थिए । साहुको होहल्लालाई उनीहरूले महिलामाथिको दुव्र्यवहार ठाने । साहुलाई होहल्ला रोक्न मजदुरले भने । स्थानीय साहु अझ जंगिन पुगे । यहीक्रममा दुई पक्षबीच हात हालाहाल भयो । नशाकै सुरमा मजदुरहरूले साहुको टाउकोमा प्रहार गरे । उनी त्यहीँ ढले । मजदुरहरू उठेर डेरातर्फ लागे । 

‘शनिबार साँझ खाजा खानेक्रममा झडप भएको जस्तो देखिन्छ । दुवै पक्षले मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । झडपमा संलग्न मजदुर घटनास्थलआसपास नै रहेर काम गर्ने गरेको देखिन्छ । अनुसन्धान हुँदै छ । केही दिनभित्रै तथ्य सार्वजनिक होला,’ भक्तपुर परिसरका प्रवक्ता डिएसपी पाण्डेले भने । साहुको मृत शरीर मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित लर्ड बुद्ध स्कुलअगाडि निर्माणाधीन टहरामा फेला परेको थियो । प्रहरीका अनुसार मृतकको टाउको र शरीरमा गम्भीर चोट देखिन्थ्यो भने शरीर रगतमा डुबेको थियो । घटनास्थलको मुचुल्कापछि साहुको शवलाई पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ । 

ad
ad