१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नवराज मैनाली काठमाडौं
२०७९ जेठ २४ मंगलबार ०६:१७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपाल प्रहरी र सशस्त्रमा एआइजी बढुवा, गुप्तचरमा उपेक्षा

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७९ जेठ २४ मंगलबार ०६:१७:००

सरकारले नेपाल प्रहरीमा पाँच र सशस्त्र प्रहरीमा एक डिआइजीको एआइजीमा बढुवा गरी पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका उत्तमराज सुवेदी, अरुण बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआइजीमा बढुवा गरेको हो । उनीहरूको पदस्थापनसमेत भएको छ । 

सुवेदीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पदस्थापन गरिएको छ । त्यस्तै, उपत्यका प्रहरी कार्यालयको प्रमुखमा रवीन्द्र धानुकको सरुवा भएको छ । उनी यसअघि प्रशासन विभागमा कार्यरत थिए । बढुवा भएका मुकुन्द आचार्यको प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन भएको छ । उनी त्यहीँ निमित्तको रूपमा कार्यरत थिए । त्यस्तै, पूजा सिंहको मानव स्रोत विकास विभाग, दिवेश लोहनीको अपराध अनुसन्धान विभाग र अरुण बिसीको प्रशासन विभागमा पदस्थापन भएको छ । आइजिपी नियुक्तिमा असन्तुष्टि जनाई लामो बिदामा रहेका एआइजी विश्वराज पोखरेल प्रदेश समन्वय विभागमा सरुवा हुँदा सहकुल थापालाई भने कार्य विभागमै यथावत् राखिएको छ । 

त्यस्तै, सशस्त्रमा चन्द्रप्रकाश गौतमलाई एआइजीमा बढुवा गरी पदस्थापन गरिएको छ । उनलाई कार्य तथा सीमा सुरक्षा विभाग तथा नारायणदत्त पौडेललाई मानव स्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ । पौडेलको तीन साताअघि नै बढुवा भए पनि पदस्थापन भएको थिएन । 

गुप्तचरमा उपेक्षा 
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा एआइजीको बढुवा र पदस्थापन हुँदा प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा रहेको राष्ट्रिय अनुसन्धान विभाग (राअवि)मा भने अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआइजी)को पद रिक्त छ । गत ९ वैशाखमै राअविमा एआइजीको पद रिक्त भए पनि अझसम्म बढुवाको निर्णय हुन सकेको छैन । बढुवा भएको अस्वस्थ प्रतिस्पर्धाका कारण सरकारले बढुवा गर्न नसकेको स्रोत बताउँछ । जसले विभागको तल्लो तहसम्मको बढुवा प्रभावित बनेको छ । 

राअविमा एआइजीको एक मात्र पद रिक्त छ । एआइजी यादव रेग्मीले ९ वैशाखमा नै अवकाश पाएका थिए । रिक्त पदमा अनुसन्धान निर्देशकहरू हुतराज थापा, ओम जोशी, टेकेन्द्र कार्की, हरिहर शर्मा पौडेल, सुनील ढकाल, कुलदेव थापा र सुमन वैद्यबीच प्रतिस्पर्धा छ । जुनियर डिआइजीहरूको दबाबले बढुवा अनिश्चित बनेको स्रोतको दाबी छ । यसले समग्र विभागमै दर्जनौँ अधिकृतको करिअरमा असर परेको र समयमा वृत्तिविकास नहुँदा गुप्तचरी संयन्त्रमा ठूलो असर पर्ने विभागका अधिकारीहरू बताउँछन् ।

पदस्थापन कहाँ ? 

  •  रवीन्द्रबहादुर धानुक : उपत्यका प्रहरी कार्यालय 
  •  उत्तमराज सुवेदी :  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)
  •  अरुणकुमार बिसी : प्रशासन विभाग 
  •  मुकुन्द आचार्य : प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान 
  •  पूजा सिंह : मानव स्रोत विकास विभाग 
  •  विश्वराज पोखरेल : प्रदेश समन्वय विभाग 
  •  सहकुल थापा : कार्य विभाग 
  •  दिवेश लोहनी : अपराध अनुसन्धान विभाग