१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

दमौली अस्पतालमा जनशक्ति अभाव : भिडियो एक्स–रे मेसिन नचल्दा सर्वसाधारण निजीमा जान बाध्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:४३:oo

दमौली अस्पतालमा विशेषज्ञसहितको चिकित्सक नहुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालमा जनशक्ति नहुँदा भिडियो एक्स–रे मेसिन थन्किएको छ । एक्स–रे मेसिन सञ्चालन गर्न रेडियोलोजिस्टको आवश्यकता पर्छ । तर, अस्पतालमा रेडियोलोजिस्ट नै नभएपछि एक्स–रे मेसिन सञ्चालनमा समस्या भएको हो । 

मेसिन नभएपछि गर्भवती महिलाहरू प्रभावित बनेका छन् । दैनिक २० देखि २५ जना गर्भवती महिला परीक्षण गराउन अस्पतालमा आउने गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट दिवस ढकालले बताए । ‘दिनहुँ गर्भवती महिलाहरू चेकजाँच गराउन आउँछन् । हामीले चेकजाँच गर्छौं । कतिपयको भिडियो एक्स–रे गराउनुपर्ने हुन्छ । तर, अस्पतालमा एक्स–रे गराउनका लागि रेडियोलोजिस्ट छैनन् । त्यसकारण निजी क्लिनिकमा पठाउन हामी बाध्य छौँ,’ उनले भने । 

निजीमा जाँदा एकातिर उनीहरूलाई सास्ती हुन्छ भने अर्कोतिर चर्को शुल्क तिर्न बाध्य हुन्छन् । सरकारी अस्पतालमा भिडियो एक्स–रेसमेत सञ्चालन नहुँदा समस्या भएको स्थानीय टोममाया थापाले बताइन् । ‘बुहारीलाई स्वास्थ्य परीक्षण गराउन ल्याएको थिएँ । डाक्टरले पनि हेर्नुभयो । हेरेपछि एक्स–रे गराउन बाहिर जा भन्नुभयो । त्यसपछि बाहिर निजी क्लिनिकमा गएर एक्स–रे गराएँ,’ उनले भनिन् । सरकारीमा एक्स–रे गराउँदा पाँच सय रुपैयाँमा हुन्थ्यो भने निजीमा आठ सयदेखि एक हजार रुपैयाँसम्म लाग्ने गर्छ ।

१४ चैतमा डाक्टर सुनील पौडेल सरुवा भएर अन्यत्र गएपछि एक्स–रे मेसिन थन्किएको हो । दिनहुँ दुई सयदेखि दुई सय ५० जना बिरामी अस्पतालमा आउने गरेका छन् । तीमध्ये २०–२५ जना गर्भवती महिला आउने गरेको अस्पतालले जनाएको छ । 

मुख्यमन्त्री कार्यालयमा पटक–पटक दमौली अस्पतालमा देखा परेको समस्याको बारेमा जानकारी गराइएको भए पनि कुनै सुनुवाइ नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले बताए । ‘सबैभन्दा बढी समस्या गर्भवती महिलालाई हुने गरेको छ । उनीहरू चेकजाँच गर्छन् । त्यसपछि डाक्टरले एक्स–रे गराउन अन्यत्र पठाउँछन् । कोही–कोही महिला एक्लै आएका हुन्छन्, उनीहरू निजीमा एक्स–रे गर्न जाँदा समस्या हुन्छ, तर हामी टुलुटुलु हेर्नबाहेक केही पनि गर्न सक्तैनौँ,’ उनले भने ।

दमौली अस्पताल, प्रदेश सरकार र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच शल्यचिकित्सासहितको सेवा सञ्चालन गर्न ०७८ फागुनमा सम्झौता भएको थियो । तर, अहिलेसम्म पनि चिकित्सक आएका छैनन् । त्यतिखेर सर्जन, गाइनोलोजिस्ट र एनेस्थेसिया पठाउने सम्झौता भए तापनि प्रदेश सरकारले अहिलेसम्म पठाएको छैन । दमौली अस्पताल १५ शय्याको अस्पताल भए पनि अहिले ४७ बेड सञ्चालनमा रहेको छ । अस्पतालमा तनहुँसहित लमजुङ, कास्की र गोरखाबाट समेत उपचारका लागि बिरामी आउने गर्छन् ।

ad
ad