१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १८ बुधबार १२:४१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्मचारीको तलब वृद्धि न्यायोचित भएन : पूर्वअर्थमन्त्री पाण्डे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ १८ बुधबार १२:४१:००

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले कर्मचारीको तलब १५ प्रतिशतका दरले समान रूपमा बढ्नु न्यायोचित नभएको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पाण्डेले महँगीको हिसाबमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने ठीकै भए पनि सबै वर्गका कर्मचारीको समान रूपमा तलब वृद्धि हुनु न्यायोचित नभएको बताएका हुन् । 

उनले भने, ‘तलब बढायौँ १५ प्रतिशत । ठीकै होला, कर्मचारीको महँगीको हिसाबले । तर, विगतमा भन्दा हामीले के कुरा ख्याल गरेनौँ भने फ्ल्याट रेटमा १५ प्रतिशत बढाउँदा तल्लो वर्गका कर्मचारीहरू र माथिल्लोले एउटै दरमा प्राप्त गर्दा यो न्यायोचित भयो त ? यो समाजवादउन्मुख भयो ? विगतमा यस ढंगले हामीले गर्ने गर्दथ्यौँ ? कहीँ पनि म त्यो देख्दिनँ । यो न्यायोचित वितरण त भएन होला । बजेटका उद्देश्यमाथि नै यत्रो धेरै व्याख्या गर्दाखेरि यो चिजप्रति कतै पनि मेरो त्यहाँ सहमति हुन सकेन ।’ सांसद पाण्डेले वृद्धभत्ता ६८ वर्षमै दिए पनि एमालेले स्याबासी पाउने बताए । उनले वृद्धभत्ता एमालेको ब्रान्ड भएकाले जसले जति वर्षमा झारेर दिए पनि केही फरक नपर्ने बताए ।  

सांसद पाण्डेले ६० लाख परिवारलाई इन्डक्सन चुलाेकाे विषयमा अनुचित लाभ लिने स्वार्थ लुकेको बताए । उनले चुनवी फन्ड उठाउनका लागि इन्डक्सन चुलाे वितरणको खेलोमेलो गरिएको हो कि भन्ने आशंका व्यक्त गरे । ‘मैले इन्टरनेटमा गएर हेर्दा ३४ सयदेखि १२ हजारको इन्डक्सन चुलाेको दाम हेर्दाखेरि न्यूनतम बेसमा राखेर पाँच हजारमा किन्नुभयो भने पनि ३० अर्ब रुपैयाँ पर्ने रहेछ । यो कतै चुनावमा फन्ड उठाउने खेलोमेलो त होइन ? तपाईंसँग पूर्वाधार छैन, अनि इन्डक्सन चुलाे बाँड्ने कुरा गर्नुहुन्छ । पहिला एकचोटि यो सिएफएल बल्बको पनि यस्तै चर्चा भएको थियो पछि रोकियो,’ उनले भने, ‘यसैमा खरिद गर्ने र अनुचित लाभ लिने खालको कतै कुरा त होइन ?’ उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बजेट कटौती भएकोप्रति असन्तुष्टि पनि व्यक्त गरे ।