१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
दीपक शर्मा सल्यान
२o८१ बैशाख १७ सोमबार o९:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बजेट अभावमा सल्यानका दुई विद्यालयमा मगर भाषा कक्षा बन्द 

Read Time : < 1 मिनेट
दीपक शर्मा सल्यान
नयाँ पत्रिका सल्यान
२o८१ बैशाख १७ सोमबार o९:३१:oo

मातृभाषा संरक्षण गर्न भन्दै सल्यानका दुई विद्यालयमा सञ्चालन भएको मगर भाषा कक्षा बन्द भएको छ । छत्रेश्वरी गाउँपालिका र कालिमाटी गाउँपालिकाका दुई विद्यालयमा सञ्चालित मगर भाषा कक्षा बजेट अभाव भएको भन्दै बन्द भएका हुन् । 

विद्यालयलाई भाषा कक्षा सञ्चालन गर्न स्थानीय तहले बजेट नदिएको र स्थानीय पाठ्यक्रममा समेत मगर भाषा नसमेटिएका कारण समस्या भएको विद्यालयको भनाइ छ । विद्यालयहरूले बजेट अभावका कारण शिक्षक राख्न सकेका छैनन् ।

छत्रेश्वरी गाउँपालिका– ५ स्थित पृथ्वी आधारभूत विद्यालय र कालिमाटी गाउँपालिका– ५ दम्दवालीको जनता माविमा ०६७ देखि मगर भाषा कक्षा सञ्चालन गरिएको थियो ।

जनता माविले एकदेखि कक्षा पाँचसम्मका बालबालिकालाई मगरधुत १२ र पृथ्वी आधारभूत विद्यालयले एकदेखि तीन कक्षासम्म खाम भाषा पढाउँदै आएका थिए । मगर भाषा कक्षा बन्द भएपछि बालबालिका प्रभावित भएका छन् । तत्कालीन जिल्ला विकास समितिले आदिवासी जनजाति कार्यक्रमअन्तर्गत वार्षिक ४० देखि ५० हजारसम्म अनुदान दिएपछि एक शिक्षक भर्ना गरेर कक्षा सञ्चालन गरिएको थियो ।

तर, स्थानीय तहको पुनर्संरचनालगत्तै बजेट आउन छाडेपछि कक्षा रोकिएको जनता मावि दम्दवालीका शिक्षक सुरेशकुमार गाहा मगरले बताए । मगर भाषालाई पालिकाले सञ्चालन गरेको स्थानीय पाठ्यक्रममा पनि नसमेटेको उनको भनाइ छ । मगरका अनुसार एकदेखि ५ सम्मका सयभन्दा बढी बालबालिकाले मातृभाषाअन्तर्गत मगर भाषा पढ्दै आएका थिए ।

कालिमाटी गाउँपालिका– ५ दम्दवालीमा एक सय ७५ घरपरिवारमध्ये ८५ घर मगर छन् । ‘लोप हुँदै गएको मगर भाषा संरक्षणका लागि अगाडि बढेका थियौँ, तर सम्बन्धित निकायका साथै स्थानीयबाट सहयोग जुट्न नसकेपछि निरन्तरता दिन सकेनौँ,’ उनले भने । छत्रेश्वरी गाउँपालिका– ५ का अध्यक्ष फौदबहादुर बस्नेतले स्थानीय पाठ्यक्रम लागू गरे पनि मगर भाषाका लागि बजेट छुट्याउन नसकिएको बताए । 

ad
ad