१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ जेठ १३ शुक्रबार ०७:४३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै कैलालीका नागरिक आन्दोलित

Read Time : > 1 मिनेट
२०७९ जेठ १३ शुक्रबार ०७:४३:००

गेटामा मेडिकल कलेज सञ्चालनको माग गर्दै कैलालीमा आन्दोलन चर्किएको छ । मेडिकल कलेज सञ्चालनका लागि सरकारलाई दबाब दिन धनगढीमा नागरिक दबाब समूहले सर्वसाधारणको हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

धनगढी र अत्तरियाका स्थानीयले चरणबद्ध दबाबमूलक आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । धनगढीमा सडकमा नागरिकको हस्ताक्षर संकलन गरिएको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले गेटा मेडिकल कलेज सञ्चालनको विषयलाई सम्बोधन नगरेपछि विभिन्न पेसागत संघसंगठन तथा राजनीतिक दलका नेता कार्यकर्ताको अगुवाइमा दबाबमूलक आन्दोलन थालिएको हो ।

धनगढी र अत्तरियामा गठन भएका छुट्टाछुट्टै दबाब समूहले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । आगामी आर्थिक वर्षको बजेटमा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्न र संसद्को चालू अधिवेशनबाटै नीति निर्माण गर्न ज्ञापनपत्रमा माग गरिएको छ । धनगढीमा नागरिक आन्दोलनमा संलग्न ओम विष्टले मेडिकल कलेज सञ्चालमा सरकारले उपेक्षा गरेपछि नागरिक आन्दोलनमा उत्रिनुपरेको बताए । नीति तथा कार्यक्रममा नसमेटिनुले मेडिकल कलेज सञ्चालनमा ढिलाइ हुने शंका बढाएको उनले बताए ।

‘अहिलेका प्रधानमन्त्री यही क्षेत्रको भएकाले पनि नीति तथा कार्यक्रमले मेडिकल कलेजबारे सम्बोधन गर्ला भन्ने आशा थियो, तर समेटिएन,’ विष्टले भने, ‘यसले मेडिकल कलेज सञ्चालनमा ढिलो हुने शंका बढाएको छ ।’ अत्तरियामा गठन भएको दबाब समूहले मेडिकल कलेज सञ्चालनको पहल गर्न मुख्यन्त्री त्रिलोचन भट्टलाई पनि ज्ञापनपत्र बुझाएको छ ।

धनगढीको नागरिक दबाब समूहले सडकमै पत्रकार सम्मेलन गरेर विरोध जनाएका छन् । धनगढीको मुख्य बजारस्थित एलएनचोकमा गरिएको पत्रकार सम्मेलनमा स्थानीयले आगामी बजेटमा मेडिकल कलेज सञ्चालनका लागि पर्याप्त बजेट विनियोजन गर्न र ऐन बनाउन माग गरेका छन् । 

आन्दोलनको अगुवाइ गरिरहेकामध्ये एक कांग्रेस कैलालीका सचिव नृप सुनारले सरकारले मेडिकल कलेज सञ्चालनलाई तत्काल अघि नबढाएसम्म दबाबमूलक आन्दोलनका कार्यक्रम जारी रहने बताए । दबाब समूहले आन्दोलनका कार्यक्रमअन्तर्गत मेडिकल कलेजका लागि बनेका भवनबाट बिहीबार सांकेतिक स्वास्थ्य परीक्षण गरेको जनाएको छ । यसअघि अत्तरियामा प्रदर्शन र चक्काजाम गरिएको थियो ।

गेटा मेडिकल कलेजका भौतिक संरचना तयार 
गेटा मेडिकल कलेज संघर्ष समिति अत्तरियाका संयोजक लोकराज पाण्डेयले भौतिक संरचना तयार भइसकेको गेटामा सरकारले मेडिकल कलेज सञ्चालन गर्ने निर्णय तत्काल गर्नुपर्ने माग गरे । ‘डडेल्धुरामा मेडिकल कलेज बनाउनु राम्रो कुरा हो, तर संरचना बनेका ठाउँलाई सञ्चालनमा प्राथमिकता दिनुपर्‍यो,’ उनले भने, ‘गेटामा तत्काल अस्पताल र पढाइ सुरु गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’ सरकारले नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजको विषय सम्बोधन नगरेपछि यहाँका नागरिकमा आक्रोश बढेको छ । भौतिक संरचना निर्माण भइसकेको अवस्थामा मेडिकल कलेज सञ्चालनको घोषणा नहुनु विडम्बना भएको उनीहरूको भनाइ छ ।  

गेटामा अस्पताल र कलेज सञ्चालनका लागि भवन, छात्रावास, चिकित्सकका निजी आवासलगायत भौतिक संरचना तयार भइसकेका छन् । झन्डै साढे चार अर्बको लागतमा संरचना तयार भए पनि मेडिकल कलेज सञ्चालनबारे अन्योल छ । 

गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिले सञ्चालनको मोडालिटी (प्रारूप) टुंग्याउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । समितिका कार्यवाहक अध्यक्षसमेत रहेका धनगढीका मेयर गोपाल हमालको अध्यक्षतामा बिहीबार बसेको बैठकले सञ्चालनको प्रारूप टुंग्याउन सरकारलाई लिखित आग्रह गर्ने निर्णय गरेको हो । ‘अहिले संसद् पनि चलेको छ । प्रारूप टुंग्याएर यही अधिवेशनबाट नीति बनाउन छिटो सञ्चालन गर्न सकिने भएकाले सरकारलाई आग्रह गर्ने निर्णय भयो,’ समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले भने ।