मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
किरण दहाल काठमाडौं
२०७९ जेठ १२ बिहीबार ०७:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संगठनात्मक कमजोरी र आन्तरिक विवादले मधेसमा धक्का लागेको माओवादीको निष्कर्ष 

स्थानीय निर्वाचन समीक्षा

Read Time : > 1 मिनेट
किरण दहाल, काठमाडौं
२०७९ जेठ १२ बिहीबार ०७:३३:००

संगठनात्मक कमजोरी र आन्तरिक अन्तद्र्वन्द्वका कारण मधेस प्रदेशमा विगतमा भन्दा खराब प्रदर्शन भएको माओवादीले निष्कर्ष निकालेको छ । बुधबार बसेको माओवादीको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले समग्रमा ०७४ को तुलनामा राम्रो नतिजा ल्याए पनि मधेसमा भने पार्टीलाई क्षति भएको ठहर गरेको हो । 

विगतको तुलनामा मधेसमा माओवादीले १२ सिट गुमाएको छ । ०७४ मा २१ पालिका प्रमुख जितेको माओवादीले हालैको स्थानीय निर्वाचनमा नौ सिट मात्र जितेको छ । बैठकमा प्रचण्डले संगठनात्मक कमजोरी र आन्तरिक अन्तर्द्वन्द्वले मधेसमा कमजोर नतिजा व्यहोर्नुपरेको बताएका थिए । 

मधेस प्रदेशमा माओवादीका नेताहरू मातृका यादव, गिरिराजमणि पोखरेल र गशेण साहबीच मनमुटाव छ । नेताहरूबीचको लडाइँको असर स्थानीय तह निर्वाचनमा देखा परेको प्रचण्डको विश्लेषण छ । ‘मधेसमा ठीकै छ भनेर धेरै ध्यान दिइएन । तर, स्थानीय निर्वाचनमा त्यहाँ हामी निकै कमजोर देखियौँ । आन्तरिक द्वन्द्वले पनि हामीलाई कमजोर बनाएको देखियो । संगठनात्मक सुदृढीकरणमा जोड दिनुपर्ने देखियो,’ बैठकमा प्रचण्डले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यसबारे हामी समीक्षा गर्छौँ र थप योजना बनाएर अगाडि बढ्छौँ ।’

अहिलेसम्मको परिणामअनुसार माओवादीले हालसम्म मधेस प्रदेशमा खडक नगरपालिका, मिर्चैया नगरपालिका, सबैला नगरपालिका, बलरा नगरपालिका, रामनगर गाउँपालिका, बागमती नगरपालिका, हरिवन नगरपालिका, दुर्गा–भगवती गाउँपालिका, जितपुर–सिमरा उपमहानगरपालिकामा प्रमुख जितेको छ । नतिजाप्रति पार्टी अध्यक्ष प्रचण्ड सन्तुष्ट छैनन् । बैठकमा देशैभर एक सय ५० सिट जित्ने आकलन गरिए पनि त्यसअनुसार निर्वाचन परिणाम नआएको प्रचण्डको भनाइ थियो । पुरानालाई दोहोर्‍याउन खोज्दा धेरै ठाउँमा हार भएको पनि प्रचण्डले सुनाएका थिए । 

माओवादी हालसम्म प्रमुखमा एक सय २१ ठाउँमा विजयी भएको छ । अपेक्षाकृत जित हासिल गर्न नसके पनि ‘माओवादी सकियो’ भन्नेका लागि निर्वाचनले जवाफ दिएको प्रचण्डको भनाइ थियो । ‘एकथरीले माओवादी सकियो भन्थे । त्यस अर्थमा अहिले आएको सिट नराम्रो भन्न मिल्दैन । सकारात्मक नै छ, तर समग्रमा सिट कम आएकै हो,’ प्रचण्डले बैठकमा भनेका थिए । 

बैठकमा प्रचण्डले पार्टीलाई नयाँ ढंगले लैजानुपर्नेमा जोड दिएका थिए । त्यसका लागि पदाधिकारी र पूर्वस्थायी समिति सदस्यहरूको बैठक नियमित बस्नुपर्ने प्रचण्डको प्रस्ताव छ । आगामी प्रदेश र संघीय चुनावका लागि अहिलेदेखि नै खटिनुपर्नेमा प्रचण्डको जोड थियो । प्रचण्डले एमालेलाई संकेत गर्दै विरोधीहरूले चुनावमा राम्रो नतिजा निकाल्न नसकेको बताएका थिए । आगामी २० जेठमा बस्ने केन्द्रीय कमिटी बैठकमा निर्वाचनको विषयमा थप छलफल हुने पूर्वस्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए । उनले भने, ‘भर्चुअल माध्यमबाट केन्द्रीय कमिटी बैठक बस्दै छ । त्यहाँ पनि चुनावी छलफल हुन्छ ।’ १५ असारमा पुनः केन्द्रीय कमिटी राख्ने माओवादी तयारी छ । १५ असारमा सबै क्षेत्रको निर्वाचन परिणामबारे गम्भीर छलफल हुने उनले बताए । 

निर्वाचित प्रतिनिधिलाई प्रशिक्षण
माओवादीले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । जनप्रतिनिधिलाई प्रशिक्षण दिन पाँचसदस्यीय कमिटीसमेत गठन गरेको छ । कमिटीमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, उर्मिला अर्याल र प्रकाश विकल छन् ।