१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
इन्द्रबहादुर थापा नयाँ पत्रिका
२०७९ जेठ १० मंगलबार ०७:२८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

काभ्रेमा गठबन्धन र एमालेको छुट्टाछुट्टै शपथ

Read Time : < 1 मिनेट
इन्द्रबहादुर थापा, नयाँ पत्रिका
२०७९ जेठ १० मंगलबार ०७:२८:००

काभ्रेको बनेपा र पनौती नगरपालिकामा गठबन्धन र एमालेबाट निर्वाचित जनप्रतिनिधिले छुट्टाछुट्टै शपथ लिएका छन् । बनेपा नगरपालिका प्रमुखमा कांग्रेसबाट शान्तिरत्न शाक्य र उपप्रमुखमा एमालेकी विमला सापकोटा दाहाल निर्वाचित भएका छन् । 

आइतबार उपप्रमुखसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिले शपथग्रहण कार्यक्रम बहिष्कार गरेका थिए । बनेपा नगरको पहिलो चरणको शपथमा गठबन्धनबाट निर्वाचितले मात्र शपथ लिएका थिए । दोस्रो चरणको शपथ कार्यक्रममा उपप्रमुख सापकोटालगायत एमालेबाट निर्वाचित जनप्रतिनिधिले मात्र लिएका थिए । नगर प्रमुख शाक्यले मुख्य निर्वाचन अधिकृतसँग शपथ लिएपछि उपप्रमुख, वडाध्यक्ष र वडासदस्यलाई शपथग्रहण गराउने कार्यक्रम थियो ।

तर, एमालेबाट निर्वाचित उपप्रमुख सापकोटासहित अन्यले केही समयको अन्तरालमा शपथ लिए । नगरपालिकामा अफूहरूको बहुमत भएकाले छलफलविना कार्यक्रम तय गरेको भन्दै एमाले जनप्रतिनिधिले बहिष्कार गरेका थिए ।

बनेपा नगरपालिकाको १४ वटा वडामा एमालेले उपप्रमुखसहित सात वडाध्यक्ष र ३० वडासदस्य जितेको छ । नगरमा ७२ जना जनप्रतिनिधिमा एमालेबाट ३८ जना निर्वाचित भएका छन् । प्रमुखसहित गठबन्धनबाट ३४ जनप्रतिनिधि निर्वाचित भएका छन् । 

पनौती नगरपालिकाको शपथ कार्यक्रम दुई चरणमा
पनौती नगरपालिकामा पनि शपथग्रहण कार्यक्रम दुई चरणमा भएको छ । सोमबार दिउँसो ३ बजे भएको पहिलो चरणको शपथ कार्यक्रममा गठबन्धनबाट निर्वाचित जनप्रतिनिधि मात्र उपस्थिति थिए । पनौती नगरपालिका प्रमुखमा रामशरण भण्डारी कांग्रेसबाट निर्वाचित हुन् । उपप्रमुख गीता बन्जारा एमालेबाट निर्वाचित भएकी हुन् । नगरमा ६२ सदस्यीय नगरसभामा एमालेबाट उपप्रमुख, सात वडाध्यक्षसहित ३९ जनप्रतिनिधि निर्वाचित छन् ।

पहिलो चरणको शपथ कार्यक्रम बहिष्कार गरेका एमाले जनप्रतिनिधिले साँझ ५ बजे शपथ लिएका छन् । निर्वाचित वडाध्यक्षलगायत सदस्यहरूलाई औपचारिक आमन्त्रण नभएकाले शपथग्रहणमा सहभागी नभएको एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाईंले बताए ।