१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

संघीय संसद्को वर्षे अधिवेशन मंगलबारदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:४८:oo

संघीय संसद्को दुवै सदनको अधिवेशन मंगलबारदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत २५ वैशाखमा अधिवेशन आह्वान् गरेकी थिइन् । मन्त्रिपरिषद्ले सोही दिन नै सिफारिस गरेको थियो ।

बैठक मंगलबार दिनको ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बोलाइएको छ । प्रतिनिधिसभाको बैठकको तयारीका बारेमा सोमबार सभामुख अग्निप्रसाद सापकोटाले जानकारी लिएका थिए । बानेश्वरस्थित संघीय संसद् भवन रहेको सम्मेलन केन्द्रमा पुगेर उनले बैठकको तयारीका बारेमा जानकारी लिएको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

सभामुख सापकोटाले मंगलबार दिउँसो २ः३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । अघिल्लो बैठक प्रमुख प्रतिपक्षी एमालेको लगातारको अवरोधका कारण नियमित रूपमा सञ्चालन हुन सकेको थिएन । कार्यव्यवस्था परामर्श समितिको बैठकले नै कार्यसूचीलगायतका विषयमा निर्णय गर्नेछ । एमालेले बैठक सञ्चालन गर्न दिन्छ कि दिँदैन भन्ने कुनै निर्णय लिएको छैन । 

संघीय संसद् सचिवालयका तर्फबाट केही सम्भावित कार्यसूची सार्वजनिक भएको छ । वर्षे अधिवेशन पनि भएकाले सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत यसै अधिवेशनमा प्रस्तुत हुनेछ । सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान्सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र वाचन गर्ने सम्भावित कार्यसूची छ । 

सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्नेछन् । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र ‘यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ पेस गर्नेछन् । अर्थमन्त्री जनार्दन शर्माले ‘आव ०७९÷८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

ad
ad