मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख ३१ शनिबार ०५:५९:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

६७ ठाउँमा गोली चल्यो,  एकको मृत्यु, ठाउँठाउँमा झडप

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख ३१ शनिबार ०५:५९:००

उपत्यकामा शान्तिपूर्ण मतदान

काभ्रेको पाँचखाल नगरपालिका– १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा तोडफोड भएको छ । मतदान अधिकृतले एकैजनालाई १० मतपत्र दिएको भन्दै गठबन्धनका नेता–कार्यकर्ताले विरोध गरेका थिए । विवाद बढ्दै गएपछि आक्रोशित भिड तोडफोडमा उत्रिएको थियो । तस्बिर सौजन्य : मधुसुधन पाठक

मतदानका क्रममा भएका विवाद र झडपपछि मतदानस्थलको सुरक्षाका लागि ६७ ठाउँमा प्रहरीले गोली चलाएको छ । गोलीबाट एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका– १० स्थित कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको छ । प्रवीण भनिने १८ वर्षीय वीरबहादुर कटुवालको ज्यान गएको स्थानीय दुर्गाबहादुर विष्टले बताए । मतदान सकिएपछि मतपेटिका सिलबन्दी गर्ने विषयमा विवाद भएर उम्मेदवारका प्रतिनिधिहरूबीच झडप हुन थालेपछि गोली चलाएको डिएसपी सन्तोष आचार्यले बताए । अर्का १५ वर्षीय मोहन श्रेष्ठ गोली लागेर घाइते भएका छन् । ‘गोली लागेर एकको मृत्यु र एक घाइते भएको खबर आएको छ । तर, गोली प्रहरीले चलायो कि अरूले भन्ने अनुसन्धान हुँदै छ,’ डिएसपी आचार्यले भने । त्यस्तै, गोरखामा प्रहरीको गोलीले एकजना घाइते भएका छन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार धनुषा, दोलखा, काभ्रे, बारा, रौतहट, पर्सा, रामेछाप, नुवाकोट, बर्दिया, हुम्ला, दैलेख, कालीकोट, डोल्पा, अछाम, दार्चुला, बाजुरा, बझाङका मतदानस्थलमा गोली चलेको हो । 

केही मतदानस्थलमा उच्छृंखल गतिविधिबाहेक समग्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । ‘रौतहट, उदयपुर, धनुषा, बाजुरालगायत जिल्लामा योजनाबद्ध रूपमा उच्छृंखल गतिविधि भए,’ उनले भने, ‘त्यसबाहेक समग्रमा निर्वाचन सुरक्षाको दृष्टिकोणले शान्तिपूर्ण भएको छ ।’ ३४ मतदानस्थलमा विवादपछि मतदान स्थगित हुन पुगेको थियो । ‘साढे १० हजार मतदानस्थलमध्ये ५० भन्दा कममा स्थगित हुनु भनेको आमरूपमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको मान्नुपर्छ,’ एसएसपी केसीले भने । 

कतिपय स्थानमा भने प्रहरीको समेत लापरबाही देखिएको छ । रौतहटमा मतपेटिका लिएर स्थानीयले लगेको घटनामा प्रहरीको चरम लापरबाही देखिएको छ । मतदानस्थलभित्र सर्वसाधारण प्रवेश गर्दा प्रहरीले रोक्ने प्रयास त गरेन नै त्यसबारे प्रहरीको माथिल्लो निकायलाई समेत जानकारी दिइएन । ‘पछि फेसबुकमा फोटो देखेपछि सोध्दा मात्र हो भन्ने आयो,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘प्रहरी बल प्रयोग गर्नुपर्ने अवस्थामा हात बाँधेर बसेको देखियो ।’

यो घटनाका कारण रौतहटका प्रहरी प्रमुख एसपी विनोद घिमिरेलाई कारबाही गर्ने तयारी भइरहेको स्रोत बताउँछ । घटनास्थलमा जिल्ला सदरमुकामबाट १२ मिनेटको दूरीमा पुग्न सकिने भए पनि त्यस्तो ठाउँमा सहजै मतपेटिका कब्जा गर्नुले प्रहरीमाथि प्रश्न उठेको हो । 

एकै चरणमा निर्वाचन हुँदा सुरक्षाकर्मीको जनशक्ति नपुग भएको र त्यसको कारण पनि यसपटक कतिपय स्थानमा सुरक्षा कमजोरी देखिएको प्रहरी अधिकारीहरू नै बताउँछन् । यसअघिका निर्वाचनमा अति संवेदनशीलमा पाँच, संवेदनशीलमा चार र सामान्य मतदानस्थलमा तीन सुरक्षाकर्मी खटाउने गरिएको थियो । यसपटक सबै मतदानस्थलमा तीन सुरक्षाकर्मी र जोखिमका आधारमा म्यादी खटाइएको थियो । 

उपत्यकामा शान्तिपूर्ण रूपमा सम्पन्न 
काठमाडौं उपत्यकामा भने शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको प्रहरीले जनाएको छ । उपत्यकाका मतदानस्थलमा भने सामान्य झडप पनि भएनन् । सुरक्षा निकाय दिनरात खटेर शान्तिपूर्वक तीन जिल्लाका २१ स्थानीय तहमा निर्वाचन सम्पन्न गरिएको उपत्यकाका प्रहरी कार्यालयका निमित्त प्रमुख डिआइजी उत्तमराज सुवेदीले बताए । काठमाडौं– १५ स्थित भुङखेलचौरमा एक व्यक्तिले मतपत्र च्यातेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । 

गोरखाको ताराखसे मतदान केन्द्रमा प्रहरीले गोली चलाउँदा एक कर्मचारी घाइते
गोरखाको भीमसेन थापा गाउँपालिका– २ स्थित ताराखसे (सिद्धकाली मावि) मतदान केन्द्र प्रहरीको गोली लागेर निर्वाचनमा खटिएकी कर्मचारी २२ वर्षीया मनीषा थापा घाइते भएकी छिन् । घुँडामुनि गोली लागेकी उनलाई काठमाडौं ल्याइएको छ । कांग्रेस, माओवादी र एमाले कार्यकर्ताबीच विवाद भइरहेका वेला ४ः३० बजे एक्कासि गोली चलेको हो । भिड नियन्त्रणका लागि हवाई फायर गर्न लाग्दा मिसफायर भएको एसपी केदार खनालले बताए । ‘भिड नियन्त्रण गर्न एसएलआर बन्दुकमा गोली लोड गरेर उठाउँदै गर्दा बन्दुक छिटो पड्कियो,’ उनले भने ।

तनहुँको व्यासमा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण, टाउको फुट्यो
तनहुँको व्यास नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएको छ । कांग्रेस पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपकराजमाथि कांग्रेसकै अर्को समूहले व्यास– ८ रिस्तीस्थित मतदानस्थलमा आक्रमण गरेको हो । यो कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँ हो । जोशीले मतदानस्थलमै मतपत्र च्यातेपछि दुई समूहबीच झडप भएको थियो । तर, उनले भने एजेन्ट खोज्ने क्रममा आफूमाथि आक्रमण भएको बताएका छन् । 

काभ्रेको चौँरीदेउरालीमा मतपेटिका तोडफोड 
काभ्रेको कात्तिके चौँरीदेउराली गाउँपालिका– ६ स्थित मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप हुँदा मतपेटिका नै फुटेको छ । दुई समूहबीच विवादपछि खाली मतपेटिका तानातान भएको र फुटाएको निर्वाचन अधिकृत शम्भुकुमार बस्नेतले बताए । त्यस्तै, तेमाल गाउँपालिका– ७ को भूमेश्वर मावि मतदान केन्द्मा पनि विवाद भएपछि प्रहरीले हवाई फायर गरेको थियो । 

रौतहटको यमुनामाईमा मतपेटिका नै लुटियो
रौतहटको यमुनामाई गाउँपालिका– १ र २ को मतदानस्थलबाट मतपेटिका नै लुटिएको छ । जसपा, कांग्रेस र एमाले कार्यकर्ताबीच दिनभर पटक–पटक झडप भएको मतदानस्थलमा अपराह्न मतदान भएका र नभएका मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरेका थिए । उनीहरूले केही पटपेटिका बोकेर भागेका हुन् । पानी हालेको अवस्थामा मतपेटिका बरामद भएको प्रहरीले जनाएको छ । दुवै स्थानको मतदान रद्द भएको छ । 

रौतहटकै बौधीमाईमा मतपेटिकामा आगजनी
रौतहटको बौधीमाई नगरपालिका– २ इनरवा टोलमा तीन मतपेटिकामा आगजनी भएको छ । जसपा र एमाले कार्यकर्ताबीच झडप हुँदा मतपेटिकामा आगजनी भएको हो । 

संखुवासभाको चैनपुरस्थित मतदान केन्द्रनजिकै विस्फोट
संखुवासभाको चैनपुर नगरपालिका– ४ स्थित बालज्योति आधारभूत विद्यालयनजिक विस्फोट भएको छ । मतदानस्थलबाट २० मिटर दूरीमा रहेको बाँसको झ्याङमा विस्फोट भएको हो । मतदान सकिएपछि विस्फोट भएको जिल्लाका प्रहरी प्रवक्ता एसपी नवीनराज राईले बताए । 

दार्चुलाको ग्वानीमा झडप नियन्त्रण गर्दा प्रहरीले गर्‍यो पाँच राउन्ड हवाई फायर 
दार्चुलाको शैल्यशिखर नगरपालिका– ६ स्थित पशुपति भवन मावि मतदानस्थलमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ । मटपेटिका र कर्मचारी सुरक्षित रहेको प्रहरीले जनाएको छ । 

बाजुराका चार मतदान केन्द्रमा खुकुरी हानाहान, दुई नगरपालिकामा कर्फ्यु
बाजुराको बुढीगंगा नगरपालिकाका तीन र बुढीनन्दा नगरपालिकाको एक मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो । बुढीगंगा ५, ९ र १० नम्बर वडाका मतदान केन्द्र तथा बुढीनन्दा– ९ अगाउपानीमा रहेको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा झडप भएपछि हवाई फायर भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । परिस्थिति अशान्त बनेपछि दुवै नगरपालिकामा स्थानीय प्रशासनले राति ८ बजेदेखि लागू हुनेगरी शनिबार बिहान ७ बजेसम्मका लागि कफ्र्यु जारी गरेको छ । बुढीनन्दाको ७, ८, ९, ११० नम्बर वडा तथा बुढीगंगाको २, ३, ४, ५ र ९ वडामा कफ्र्यु आदेश गरिउको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए । 

सप्तरीमा मतदानस्थल तोडफोड, आक्रमणबाट मतदान अधिकृत घाइते
सप्तरीको डाक्नेश्वर नगरपालिका– २ हरिरबा जनता मावि मतदानस्थलमा तोडफोड भएको छ । मतदान अधिकृत विपिन यादवमाथि आक्रमणसमेत भएको छ । एक वृद्धा मतदाताले भनेको चिह्नमा भोट नखसालेर अर्कैमा हालिदिएको भन्दै एक समूहले तोडफोड र कुटपिट गरेको हो । मतपेटिका तोडफोड गर्दा केही मतपत्र छरपस्ट भएका थिए । 

बझाङमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, 
प्रहरीले गर्‍यो हवाई फायर बझाङको जयपृथ्वी नगरपालिका– ७ को मतदानस्थल सुनिपिपल चौर माविमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको छ । मतपेटिका नै फुटेको छ । तनाव नियन्त्रणका लागि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ ।