मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २७ मंगलबार ०७:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सामुद्रिक आँधी : जलवाष्पयुक्त हावा नेपाल प्रवेश, यस्तो छ आगामी तीन दिनको मौसम 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २७ मंगलबार ०७:३७:००

तीन दिनअघि दक्षिणी बंगालको खाडीमा विकसित भएको ‘असानी’ नामक सामुद्रिक आँधीको असर मंगलबार बिहानबाट नेपालमा पनि देखा परेको छ । असानीसँगै स्थानीय र पश्चिमी वायुको पनि प्रभाव पर्दा बिहानैदेखि मधेस प्रदेश र काठमाडौंसहित अन्य पहाडी भूभागमा बदली भएको छ ।

‘जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको छ, सामुद्रिक आँधीको आंशिक प्रभाव पनि हो,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु वासीले नयाँ पत्रिकासँग भनिन्, ‘पहाडी क्षेत्रमा वर्षा हुने र तराईमा हावाहुरी चल्ने सम्भावना रहन्छ ।’

आगामी तीन दिनको मौसमी आकलन

महाशाखाले आगामी तीन दिनको मौसम आकलन गरेको छ । जसअनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशका केही स्थान  र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

दिउँसोभन्दा राति मौसम अझ प्रतिकूल हुने देखिन्छ । राति प्रदेश १, मधेस, बागमती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बुधबार  पनि वर्षा पूर्वी र मध्य नेपालकेन्द्रित हुने देखिएको छ । प्रदेश १, बागमती र लुम्बिनीमा मध्यम वर्षाको आकलन महाशाखाले गरेको छ । बिहीबार प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान मध्यमसम्मको वर्षा हुने र  कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा हुने ठानिएको छ । भारतको मौसम विज्ञान विभागको पछिल्लो बुलेटिनअनुसार यो आँधी उत्तरपश्चिम भएर अगाडि बढिरहेको छ, आज उडिसा र आन्ध्रप्रदेशमा भारी वर्षा हुनेछ ।

मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्न निर्देशन
निर्वाचन आयोगले हरेक मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्न निर्देशन दिइसकेको छ । जल तथा मौसम विज्ञान विभागले आइतबार चुनावी मौसम प्रक्षेपण गरेको थियो । जसअनुसार असर ३० वैशाख अर्थात् स्थानीय तह मतदानको दिन काठमाडौंसहित बागमती, गण्डकी र प्रदेश १ मा सामान्यदेखि मध्यम वर्षा हुने आकलन गरिएको छ । साथै मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदानको दिन बिहान  ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान हुने सबै मतदान केन्द्रमा पाल, त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्न भनिएको छ ।

आयोगले समन्वय गरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको हो । समन्वय एवं सहजीकरणका लागि गृह मन्त्रालयमार्फत सबै प्रमुख जिल्ला अधिकारीलाई पनि निर्देशन दिइएको उनले बताए।