१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ बैशाख २४ शनिबार ०६:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माधव नेपालको गृहजिल्ला रौतहट पुगेर ओलीले भने- एमाले होइन, माधव नेपाल कुहिएको फर्सी हुन्

Read Time : < 1 मिनेट
२०७९ बैशाख २४ शनिबार ०६:०३:००

एमाले अध्यक्ष केपी ओलीले ५० वर्षअघि आफूले माधव नेपाललाई राजनीतिमा ल्याएको दाबी गरेका छन् । रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पटक–पटक लाभ लिएर माधवले अन्तिममा धोका दिएको बताए । 

‘५० वर्षअघि विराटनगरको महेन्द्र–मोरङ कलेजमा पढ्दै गर्दा मैले माधव नेपाललाई भेटेको थिएँ । उनलाई सम्झाएर, बुझाएर राजनीतिमा पूर्णकालीन कार्यकर्ता बनाएर पार्टीको प्रमुख जिम्मेवारीमा राखेँ,’ नेता नेपालको गृहजिल्लामा ओलीले भने, ‘उनलाई तीन–तीनपटक पार्टीको प्रमुख बनाइयो, सांसद, प्रधानमन्त्री बनाइयो । तर, एउटा कुलंगार जन्मिएको रहेछ ।’

एमाले विभाजन गरी एकीकृत समाजवादी बनाएका नेपालमाथि ओली पटक–पटक खनिए । बिहीबार चितवनमा सत्तागठबन्धनको सभामा नेपालले एमालेलाई कुहिएको फर्सी भएको आरोप लगाएकोमा ओली निकै आक्रोशित देखिए । उनले भने, ‘एमाले होइन, माधव नेपाल कुहिएको फर्सी हुन् ।’ आफ्नै पार्टीविरुद्ध षड्यन्त्र गरेको थाहा पाएपछि नेपाललाई एमालेबाट हटाउनुपरेको उनको दाबी थियो । उनले भने, ‘मैले सर्पको बच्चालाई दूध खुवाएको रहेछु ।’ 

शुक्रबार नै नेपालको गृहनगर गौरमा आयोजित अर्को सभामा ओलीले कुपात्र भनेर चिनेपछि आफूले माधव नेपाललाई पार्टीबाट हटाउनुपरेको जिकिर गरे । माधव नेपाल विकासको सोच र कुनै योग्यता नभएको मान्छे भएको भन्दै उनले रौतहटको विकास नहुनुको मुख्य दोषी नेपालनै भएको आरोप लगाए । ओलीले वर्तमान गठबन्धन सरकारले देश र जनताको हित गर्न नसक्ने बताए । गठबन्धनका उम्मेदवारहरूलाई हराउँदै एमालेले स्थानीय निर्वाचनमा आफ्नो जनमत प्रमाणित गर्ने उनले दाबी गरे ।