मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ३ शनिबार १५:२३:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

निगमले वैशाख ९ देखि साउदी अरेबियाको रियाद उडान गर्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ३ शनिबार १५:२३:००

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही वैशाख ९ गते (२२ अप्रिल २०२२)देखि साउदी अरेबियाको रियादमा सीधा उडान भर्ने भएको छ। वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।

“वैशाख ९ गतेदेखि निगमले रियाद गन्तव्यमा उडान सेवा सञ्चालन गर्दै छ। यो निगमका लागि निकै गौरवको विषय हो। लामो प्रयासपछि निगमले साउदी अरेबियाका विभिन्न गन्तव्यमा पनि उडान अनुमति पाएको छ। सुरुमा रियाद र क्रमशः अन्य गन्तव्यमा पनि उडान विस्तार गर्ने योजना छ ,” कार्यकारी अध्यक्ष अधिकारीले भने।

निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो। रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरिटी अफ सिभिल एभिएसन्सले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो। निगमले पहिलो चरणमा वैशाख ९ गतेदेखि काठमाडौं–रियाद–काठमाडौं सातामा दुई उडान गर्नेछ। सातामा तीन दिन उडान गर्ने योजना रहे पनि हाललाई सातामा दुई र छिट्टै सातामा नियमित तीन उडान गरिने छ। उक्त क्षेत्रको उडान अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्षसहितका कर्मचारीहरू गत फागुन तेस्रो साता साउदी अरेबिया पुगेर उडान अनुमतिको प्रक्रिया थालनी गरेका थिए।

एकतर्फी भाडा ३७ हजार
काठमाडौं–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर ३७ हजार रुपैयाँ कायम गरिएको जनाइएको छ। निगमका प्रवक्ता अर्चना खड्काले हाललाई एकतर्फी भाडादर कायम गरिएको बताइन्। निगमले साउदी अरेबिया उडानका लागि वाइडबडी र न्यारोबडी दुवै जहाजले उडान गर्ने गरी ‘स्लट’ पाएको छ। उद्घाटन उडान वाइडबडीबाट गरिने र पछि नियमित उडान पनि वाइडबडी जहाजमार्फत हुने उनले जानकारी दिए। “हामीले वाइडबडी जहाजबाटै उडानका लागि मागेका हाैँ। अहिलेलाई न्यारोबडीबाटै उडान हुन्छ। पछि पुनः वाइडबडी जहाजबाटै नियमित उडान गर्छौं”,उनले भने।

यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडादर, यात्रुलाई सुविधा ‘इनफ्लाइट’ खाना तथा रियादबाट फर्कंदा यात्रुले ४० केजी लगेज सुविधा पाउनेछन्। काठमाडौं–रियाद एकतर्फी उडान अवधि ६ घण्टा १५ मिनेट र रियाद–काठमाडौं उडान अवधि चार घन्टा ५० मिनेटको हुने निगमले जनाएको छ।

नेपाली कामदारको बाहुल्य रहेको मुलुक साउदी अरबको उडानले निगमलाई आर्थिक रुपमा लाभ हुन सक्ने अनुमान गरिएको छ। विभिन्न पेसा–व्यवसायमा पनि साउदीका विभिन्न गन्तव्यमा नेपाली छन् । अन्य मुलुकबाट ट्रान्जिट भएर आउन पनि यात्रुलाई सहज हुने भएकाले यो गन्तव्य उपयोगी हुने विश्वास गरिएको छ।

आठ देशका १० गन्तव्यमा उडान विस्तार
नेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ। निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो। निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्लालालम्पुर, हङकङ, बैङ्कक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

यसअघि साउदीमा हिमालय एयरलाइन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ। साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो। तर, जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन। निगम लामो समयको प्रयासपछि रियादमा उडान भर्न सफल भएको र यो  अवसर पाउँदा निगम निकै गौरवान्वित भएको जनाइएको छ। देशको शान र पहिचान जोडिएको निगमको अन्तर्राष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढीभन्दा बढी विदेशी पर्यटक  भित्र्याउन राष्ट्रिय ध्वजावाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ।

कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढीकरण र बजार विस्तारमा निगम व्यवस्थापन अहोरात्र लागिपरेको बताए। व्यवस्थापनको मिहिनेत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउन निगम अग्रसर रहेको उनको भनाइ छ। अन्य काममा पनि निगमभित्रका कर्मचारीहरुको सहयोग र तालुकदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा केही नतिजामुखी काम भएको पनि अध्यक्ष अधिकारीको जिकिर छ। रासस