१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

छैटौँपटक म्याद थपिँदा पनि सम्पन्न भएन बागमती पुल

पाँच वर्षमा सम्पन्न गर्ने योजनाले दश वर्ष नाघिसक्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:५८:oo

मकवानपुरको बागमती गाउँपालिका– ४ का गजेन्द्रबहादुर राईले पक्की पुलबाट बागमती नदी वारपार गर्ने रहर साँचेको वर्षौँ भयो । उनको रहर अझै पूरा भएको छैन । किनभने निर्माण सुरु भएको दश वर्ष बितिसक्दा पनि मकवानपुरको बागमती गाउँपालिका– ४ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– ३ जोड्ने बागमती पुल निर्माण सम्पन्न भएको छैन ।

पुलको निर्माण कार्य अन्तिम चरणमा छ । त्यसैले अब चाँडै रहर पूरा होला कि भन्ने आशा भने जागेको छ । ‘नदीमा पक्की पुल नबन्दा पाँच सय रुपैयाँसम्म तिरेर खोला वारपार गर्नुपर्ने बाध्य छ,’ अघिल्लो बर्खाका आफ्ना भोगाइ सम्झिँदै राईले भने, ‘ट्युबबाट मोटरसाइकल खोला पार गर्दा हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था थियो । यो वर्षको बर्खामा त्यस्तो अवस्था नहोस् भन्ने लागेको छ, हेरौँ के हुन्छ ।’ हिउँदको समयमा खोलाबाट ठूला यातायात सञ्चालन भए पनि साना सवारी चलाउन कठिन हुने गरेको उनले गुनासो सुनाए ।

मदन भण्डारी (धरान–चतरा–हेटौँडा) राजमार्गअन्तर्गत मकवानपुर–सिन्धुली जोड्ने बागमती पुल साढे दश वर्ष बित्दा पनि सञ्चालनमा आएको छैन । पाँच वर्षमा निर्माण सक्ने गरी ०६८ असारमा ठेक्का लगाइएको पुलको ९० प्रतिशत काम सकिए पनि अझै १० प्रतिशत कामका लागि ठेकेदार कम्पनी स्वच्छन्द भैरव निर्माण सेवा प्रालिले वैशाख मसान्तसम्म समय लिएको छ । यो पुल सबैभन्दा ठूलो, लामो र बढी लागतको बलियो संरचना हो । तर, गत बर्खामा सिन्धुलीको कमला खोलामा बनाउँदै गरिएको पुल बगेको खबर सुनेका राई र उनीजस्ता थुप्रै स्थानीय पुल पूर्ण रूपमा सञ्चालनमा नआएसम्म ढुक्क हुन सकिरहेका छैनन् । 

१८ करोड ५१ लाख रुपैयाँको लागतमा पाँच वर्षभित्र निर्माण सक्ने गरी २९ असार ०६८ मा ठेक्का सम्झौता भएको थियो । राष्ट्रिय गौरवको आयोजनामा समेटिएको पुल निर्माणपछि मकवानपुर–सिन्धुली सीधा जोडिनेछ । छैटौँपटकको म्याद ३० चैत ०७८ मा अर्थात् दुई दिनपछि सकिँदै छ । सरकारले पटक–पटक समयसीमाभित्र काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता र कार्ययोजनासहित निर्माण कम्पनीले आयोजना कार्यालयमा लिखित प्रतिबद्धता गरेको थियो । पछिल्लोपटक ०७८ असारसम्म म्याद थपिएको थियो । कोरोना महामारीका कारण समयमै काम हुन नसकेको भन्दै निर्माण कम्पनीले ०७८ चैतसम्म समय मागेको थियो, तर निर्माण सकिएको छैन । निर्माण कम्पनीका सञ्चालक जयराम लामिछानेले ०७९ वैशाख मसान्तभित्र पुल हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए । पुलमा कालोपत्रे, रङरोगन र केही प्राविधिक काम बाँकी रहेको उनको भनाइ छ ।

 ४३ प्रतिशत कम मूल्यमा ठेक्का सम्झौता
स्वच्छन्द भैरव निर्माण सेवा प्रालिले पुल निर्माणका लागि १० वर्षअघि सरकारले लागत अनुमान गरेको मूल्यभन्दा ४३ प्रतिशत कम मूल्यांकनमा ठेक्का सम्झौता गरेको थियो । सरकारले ४२ करोड आठ लाख मूल्यांकन गरे पनि निर्माण कम्पनीले त्यसवेला ४३ प्रतिशत कम मूल्यांकन अर्थात् २३ करोड ३७ लाखमा ठेक्का सम्झौता गरेको हो । अहिलेसम्म साढे १८ करोडभन्दा बढी खर्चिएको आयोजनाका इन्जिनियर नीराजन थापाले बताए । उनका अनुसार कामको तीव्रता र प्रगति कमजोर भएपछि आयोजनाले निर्माण कम्पनीसँग अग्रिम पेस्कीबापतको एक वर्षअघि दुई करोड ६१ लाख रुपैयाँ फिर्ता लिएको थियो ।

 पुल नबन्दा भर्‍याङको भर
पुल समयमै निर्माण नहुँदा पुलमा भर्‍याङको सहायता लिनुपर्ने समस्या थियो । पक्की पुल पूर्ण रूपमा निर्माण सम्पन्न नहुँदा बागमती नदी पार गर्न वर्षायाममा स्थानीयले पुलमा भर्‍याङ लगाउनुपर्ने बाध्यता थियो । पुल वारपार गर्न भ¥याङको सहारा लिनुपर्ने बाध्यतासमेत भोग्नुपरेको स्थानीयको गुनासो छ । पुलको दुवैतर्फको काम सम्पन्न नहुँदा स्थानीयले वारपार गर्न भर्‍याङको सहारा लिने गरेका थिए । तर, अब केही दिनपछि पुल हस्तान्तरण हुने र सहज रूपमा बागमती नदी वारपार गर्न सकिने आशामा स्थानीय खुसी देखिन्छन् । 

ad
ad