१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
खाँदबारी नगरपालिकाको ११ नम्बर वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गोरेटो बाटोमा ढुंगा सोलिङ गरिँदै । तस्बिर : नयाँ पत्रिका
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख १७ सोमबार o८:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

खाँदबारीमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:४१:oo

संखुवासभाको सदरमुकामसमेत रहेको खाँदबारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । कार्यक्रमअन्तर्गत गाउँ–गाउँमा ग्रामीण सडक निर्माण, गोरेटो बाटोमा ढुंगा सोलिङ गर्ने र नाली कटाउनेलगायतका काम भइरहेका छन् । 

नागरिकलाई आवतजावतमा समस्या देखिएका ठाउँमा बाटोको चौडाइ फराकिलो बनाउने र खाल्डाखुल्डी पुर्नेलगायतका काम पनि भइरहेको खाँदबारी नगरपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम शाखा प्रमुख डम्बरु निरौलाले बताए । उनले नगरभित्रका ११ वटै वडामा कार्यक्रम लागू भइरहेको जानकारी दिए । 

यो कार्यक्रमका लागि खाँदबारी नगरपालिकाले नगरका सबै ११ वडामा ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसअतिरिक्त ११ नम्बर वडाले १८ लाख रुपैयाँ बजेट छुट्याएको छ । सो रकम गोरेटो बाटो सडक विस्तारमा खर्च भइरहेको छ । अन्य वडाले पनि थप एकदेखि दुई लाख रुपैयाँ विनियोजन गरेका छन् । ११ नम्बरका वडाध्यक्ष नगेन्द्रकुमार गुरुङले प्रधानमन्त्री रोजगार कार्यक्रमले वडामा राम्रो काम गरेकाले वडाको झन्डै आधा बजेट सोही कार्यक्रमका लागि विनियोजन गरिएको बताए । उनले अन्य योजनासरह नै यो कार्यक्रम पनि लागू भइरहेको तथा गाउँ–गाउँको पैदल हिँड्ने सडकमा ढुंगा सोलिङ गरिएको बताए । 

वडा कार्यालय आफैँले ढुंगा खरिद गरेर सडकमा ढुवानीको साधनले पुर्‍याइदिने गरेको छ । मजदुरहरू दैनिक रूपमा ढुंगा सोलिङ गर्ने, नाली कटाउने र बाटो फराकिलो बनाउने काम गरिरहेका छन् । सानो बाटो हुँदा हिँडडुल गर्न नै समस्या हुने गरेकोमा अहिले सहज भएको स्थानीय बताउँछन् । नगरभित्र सबैभन्दा राम्रो काम ११ नम्बर वडामा भएको नगरपालिकाको भनाइ छ । ११ नम्बर वडाका अधिकांश ग्रामीण पैदल हिँड्ने गोरेटो बाटोमा ढुंगा छापिएको कार्यक्रम शाखा प्रमुख निरौलाको भनाइ छ । नगरभित्र बेरोजगारीको संख्या बढ्दो रहेकाले यो कार्यक्रममार्फत राहत पुग्ने खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडा बताउँछन् ।

विश्व बैंकको अनुदान सहयोगमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरुवात भएको हो । सोही कार्यक्रमअन्तर्गत खाँदबारी नगरपालिकामा ५५ लाख ७७ हजार रुपैयाँ बजेट प्राप्त भएको छ । सोही बजेटबाट वडाको सिफारिसका आधारमा योजना पारित हुने गर्दछ । खाँदबारी नगरपालिकाभित्र दुई सय २२ जना पुरुष र दुई सय एकजना महिला गरी कुल चार सय २३ जनाले एक सय दिन रोजगारी पाउनेछन् । उनीहरूले प्रतिदिन ५७७ रुपैयाँमा एक प्रतिशत सामाजिक सुरक्षा करकट्टी गरी तलब पाउँछन् । उनीहरूको पारिश्रमिकबराबरको रकम भुक्तानी बैँकमार्फत गर्ने गरिन्छ ।

मजदुरका लागि जुत्ता, पन्जा, ज्याकेट, हेल्मेट र औजार उपकरणहरू खाँदबारी नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागिता जनाउन प्रत्येक वडाले तयार गरेको आर्थिक अवस्था कमजोर, विपन्नलगायत विभिन्न सूचकांकहरूका आधारमा मजदुरहरू सूचीकृत गर्ने गरिन्छ । लाभग्राहीले आ–आफ्नो वडाभित्र रहेका सडक, कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, पूर्वाधारलगायतको कार्यमा समावेश भएर काम गरिरहेका छन् । खाँदबारीबाहेक जिल्लाका १० वटै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काम भइरहेको छ ।

ad
ad