१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
सीमा खान
२o८१ बैशाख २३ आइतबार o७:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

मुस्लिम महिलालाई हेर्ने इस्लामद्वेषी दृष्टि

मुस्लिम महिलाको घुम्टो धार्मिक छनोट हो, दबाब होइन । यसलाई रुढिवादी भन्नु धर्म एवं संस्कारको अनादर हो ।

Read Time : > 2 मिनेट
सीमा खान
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:o४:oo

राष्ट्रिय मानव अधिकार आयोगको हालैको एक कार्यक्रममा एक उच्चपदस्थ व्यक्तित्वलाई प्रमुख अतिथिका रूपमा निम्त्याइएको थियो । उनले सीमान्तकृत महिलाको सवालमा बोल्दै गर्दा मुस्लिम महिलाका विषयमा आफ्ना धारणा व्यक्त गरेकी थिइन् । उनको अभिव्यक्तिप्रति मेरा असहमति छन् र यो लेखमा ती असहमतिका कारण खुलाउन चाहन्छु । 

मुस्लिम बालिकाका शिक्षाको सन्दर्भमा मदरसाको शैक्षिक स्तर उकास्न सरकारको ध्यानाकर्षण गराउने प्रयासलाई उनले धार्मिक विभेद, रुढिवादी परम्परा करार गरेकी थिइन् । सो कार्यक्रममा उनले मदरसालाई शिक्षाबाट हटाइनुपर्छ र समाजलाई सचेत एवं जागरुक बनाउनुपर्छ भन्ने सुझाब दिएकी थिइन् । त्यसबाहेक मुस्लिम समाजमा घुम्टो प्रथाले पनि गहिरो गरी जरो गाडेको भन्दै उनले ‘चिन्ता’ व्यक्त गरेकी थिइन् । मुस्लिम समुदायका महिलाको उत्थानका लागि उनको चासोलाई सम्मान गर्छु । तर, विश्वको दोस्रो र नेपालको तेस्रो ठूलो धार्मिक समुदायप्रतिको धारणा र सो समुदायको तथाकथित समस्या समाधानका लागि उनले सुझाएको उपायमा पूर्वाग्रह भने देखिन्छ ।  

संविधानतः नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । संविधानले सबैलाई धार्मिक स्वतन्त्रताको अधिकार दिएको छ । कुनै समुदायलाई संविधानले दिएको धार्मिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न दयाको पात्र बन्नुपर्ने हो भने अवस्था अत्यन्त दुःखद हो । सीमान्तकृत समुदायले लोकतन्त्रमा पनि स्वतन्त्रताको अनुभूति गर्न नपाउनु दुर्भाग्य होइन भने के हो ? 

मुस्लिम समाजमा जनचेतनाको अभावका कारण मात्रै यो समुदाय पछाडि परेको भन्ने सामान्य बुझाइ वक्तामा रहेको देखियो । तर, हाल आधारभूत तहपछिको शिक्षाका लागि चेतनाभन्दा पनि आर्थिक विपन्नता बाधक रहेको छ । विपन्न वर्गमा पनि अहिले चेतना आइसकेको छ । मदरसामा बालिकाको प्रवेशमा वृद्धि भइरहेको छ, तर शैक्षिक स्तर भने अत्यन्त कमजोर छ र यसलाई उकास्न आवश्यक छ । यस सम्बन्धमा वक्ताले मदरसालाई रुढिवादी करार गर्दै मदरसाकै विकल्प प्रस्तुत गर्नु उचित होइन ।  

आफ्नो धर्म एवं संस्कार हरेक व्यक्ति र समुदायको मौलिक हक हो र धार्मिक शिक्षा मुस्लिम समुदायका लागि अनिवार्य छ । वास्तवमा निजी तथा सरकारी विद्यालयमा शिक्षा प्राप्त गर्नेका लागि पनि घरमा धार्मिक शिक्षाको वातावरण हुन्छ । जतिसुकै उच्च पदमा पुगे पनि कुनै न कुनै रूपमा मानिस धर्मसँग जोडिएकै हुन्छन् । धार्मिक ग्रन्थबाट निःसृत शिक्षा मुस्लिमका लागि मार्गदर्शक एवं जीवन पद्धति हो । यसैकारण सम्पन्नहरूले पनि मदरसाको शैक्षिक स्तर एवं शिक्षण शैलीका आधारमा मदरसा शिक्षालाई प्राथमिकता दिने गर्छन् । अर्थात् विपन्न वर्गले मात्रै मदरसामा शिक्षा हासिल गर्छन् भन्ने धारणा गलत हो । मदरसाको विकल्प सरकारी विद्यालय कदापि होइन । भारतको दिल्लीस्थित जामिया विश्वविद्यालय मदरसाकै संरचनामा स्थापित भएको हो । त्यहाँ मुस्लिम मात्र नभई सबै धर्मावलम्बीले शिक्षा प्राप्त गर्छन् र यसको कारण विश्वविद्यालयको शैक्षिक स्तर हो ।

विश्वका धेरैजसो मुलुकमा धार्मिक अल्पसंख्यकका शैक्षिक स्थलका लागि नीतिगत प्रावधान हुन्छन् । नेपालमा पनि सरकारकै पहलमा गुरुकुल, गुम्बा तथा मदरसामा धार्मिक एवं मूलप्रवाहको पाठ्यक्रमको व्यवस्था गरिँदै छ । मदरसा रुढिवादी हुने हो भने धार्मिक शिक्षा प्रदान गर्ने गुरुकुल, गुम्बालगायत पनि रुढिवादी हुन् । 

हाम्रो धर्म निरपेक्ष संविधानअनुसार धर्मको प्रश्नमा राष्ट्र तटस्थ रहने र कुनै एक धर्मको मात्र हुनेछैन । संविधानले धर्मलाई पलायन हुन दिँदैन । देशमा हरेक समुदायलाई कानुनजत्तिकै धार्मिक स्थल तथा धार्मिक शिक्षाको आवश्यकता छ । धर्म नै संस्कारको मूल जरो हो । विविध धर्मका विविध संस्कार छन् । यिनै विविधताले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा चिनिएको छ । 

प्रायः महिलाका हक–अधिकार हनन, हिंसा तथा सामाजमा पछाडि पर्नुका मूल कारणमा धर्म पनि आउने गर्छ । एकातिर धर्मलाई अन्तरात्मादेखि मानिन्छ भने लैंगिकताको सवालमा आलोचना पनि गरिन्छ । तर, धर्मले कसैको अधिकार कुण्ठित गर्छ भन्नेमा मेरो असहमति छ । वास्तवमा धर्म आफैँमा मौलिक हक हो । मुस्लिम महिलाका हकका विषयमा म आफ्नो धारणा दोहो¥याउन चाहन्छु । जुन धर्मले छोराछोरीलाई शिक्षामा समानता, पालनपोषणमा ग्राह्यता र बाबु तथा दाजुभाइको सम्पत्तिमा हकको सुनिश्चितता ग्रन्थमै तोकिदिएको छ, त्यसैलाई महिलामाथिका सम्पूर्ण विभेदको कारक भन्नु कहाँसम्म न्यायोचित होला ?

घुम्टो पनि धर्मसँग जोडिएको विषय हो । मुस्लिम तथा मधेसी हिन्दू महिलाको घुम्टो पनि संविधान लेखन प्रक्रियादेखि नै बहसमा आएको विषय हो । घुम्टोलाई पितृसत्ता तथा महिलाको विकासमा बाधक भन्ने गरिन्छ । वास्तवमा घुम्टो धार्मिक छनोट हो, न कि दबाब । घुम्टोलाई धर्मअनुसार मूल्यांकन गरिन्छ । घुम्टो इन्दिरा गान्धीले पनि राख्ने गर्थिन् र त्यही घुम्टो बेनजिर भुट्टोले पनि राख्थिन् । अर्थात् अक्सफोर्ड विश्वविद्यालयमा पढेकी इन्दिरा गान्धी वा बेनजिर भुट्टोलाई घुम्टो राख्ने के बाध्यता थियो ? कुनै बाध्यता थिएन । तर, त्यही घुम्टो भुट्टोले राख्दा मुस्लिमको ट्याग लगाउनु कति जायज हो ? यस अर्थमा घुम्टोलाई रुढिवादी प्रथा भन्नु, हेय दृष्टिले हेर्नु, धर्म एवं संस्कारको अनादर हो । 

बुर्का र घुम्टो महिलाको विकासमा बाधक भए धेरैजसो मुस्लिमबहुल देशका महिला कसरी सफल हुँदा हुन् ? युएईद्वारा अन्तरिक्षमा हालै पठाइएको रकेट मार्समिसनकी टिम लिडर सारा अमिरी बुर्कामै देखिन्छिन् । त्यहाँ महिलाको शैक्षिक दर ९५ प्रतिशत रहेको छ । बुर्का र घुम्टो लगाएर विश्व कीर्तिमान हासिल गरेकी महिला नगण्य छन् । नेपालमा समानुपातिक समावेशी सिद्धान्त इमानदारीसाथ व्यवहारमा ल्याए सीमान्तकृत महिलाको पहुँचमा कमी हुनेछैन । (खान नेपाल मुिस्लम महिला कल्याण समाजकी अध्यक्ष हुन्)
 

ad
ad