१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रासस बागलुङ
२०८० माघ २८ आइतबार १४:५२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेट अभावले निसीमा खानेपानी आयोजना सुरु हुन सकेन

Read Time : > 1 मिनेट
रासस, बागलुङ
२०८० माघ २८ आइतबार १४:५२:००

बागलुङको निसीखोला गाउँपालिका– ५ निसीमा बस्ती विस्तार हुँदै गएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँमा जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ। 

निसीमा घरघरमा धारा बने पनि करिब १५ घरपरिवारले एउटै धाराबाट पानी उपभोग गर्नुपर्ने अवस्था छ। संघीय सरकारले निसीमा एक घर एक धारा निर्माण गर्ने योजना लिए पनि बजेट अभावमा काम हुन सकेको छैन। खानेपानी आयोजना निर्माण सम्पन्नका लागि रु. १२ करोड ९८ लाख लागत लाग्ने भए पनि दुई वर्षमा जम्मा रु. २३ लाख मात्रै बजेट विनियोजन भएको छ।

गत वर्षदेखि सुरु भएको आयोजना यस वर्ष सकिनुपर्ने हो। तर, बजेट अभावका कारण सर्वेक्षणबाहेक अन्य काम हुन सकेको छैन। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीबाट सञ्चालित आयोजनाका लागि संघीय सरकारले आर्थिक वर्ष ०७९/८० मा रु. २० लाख र चालू आवमा रु. तीन लाख ८५ हजार मात्रै बजेट विनियोजन गरेको छ। करोडौँका आयोजनामा रु. २३ लाख ८५ हजार मात्रै विनियोजन हुँदा काम अन्योलमा छ। 

लामो समयदेखि खानेपानी समस्यामा गुज्रिएका निसीवासी एक घर एक धाराका लागि सर्वेक्षण हुँदा हर्षित भएका थिए। अहिले पनि उनीहरू छिट्टै घर–घरमा धारा बन्नेमा आशावादी छन्। तर, योजना के हुने हो भन्ने टुंगाे छैन।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका इन्जिनियर नवीन सुवेदी दुई वर्षमा सकिनुपर्ने आयोजना बजेट अभावका कारण काम हुन नसकेको बताउँछन्। बस्तीभन्दा धेरै टाढा रहेको नौबहिनी मुहानबाट निसीगाउँमा सात सय ४६ वटा धारा बनाउन सर्वेक्षण गरे पनि अरू काम गर्न नसकेको उनको भनाइ छ। यो आयोजना समयमै सकिए यहाँका पाँच हजार पाँच सय ८१ नागरिक लाभान्वित हुने इन्जिनियर सुवेदीले बताए। अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता नगरेसम्म यो काम गर्न नसकिने भन्दै स्थानीय र सांसदले भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

‘यति ठूलो आयोजना छ, तर बजेट निकै कम परेको छ, बजेट व्यवस्थापन भएर आएन भने धेरै वर्ष लाग्ने देखिन्छ, दुई वर्षमा आयोजना सक्नुपर्ने लक्ष्य थियो, तर बजेटको यो आकार हेर्दा दशौँ वर्षसम्म पनि यो आयोजना सकिँदैन, अहिले सर्वेक्षणको काममात्रै भएको छ,’ इन्जिनियर सुवेदीले भने, ‘यति बजेटले केही हुँदैन, थप बजेटका लागि पहल गरिरहेका छौँ, अहिले निसीमा भएको पानी व्यवस्थित छैन, एक घर एक धारा नभएको अवस्था छ, गत वर्षदेखि सुरु भएको आयोजना यस वर्ष सकिनुपर्थ्यो, तर काम सुरुसमेत गर्न गाह्रो छ।’

स्थानीयवासीसमेत रहेका निसीखोला– ६ का वडासदस्य भरत सुनारले ०७४ मा बनेका धाराबाट अहिले पनि स्थानीयले पानी भर्ने गरेको बताए। पछिल्लो समय निसीमा बाहिरबाट आएर पनि मानिस बसोवास गर्न थालेपछि उपभोक्ता बढेको जनाउँदै एउटा धाराबाट १५–१६ घरधुरीले पानी उपभोग गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

स्थानीय भुलबहादुर विकले तीन दशकअघि निर्माण भएका धारा व्यवस्थित नभएको बताए। अव्यवस्थित धाराबाटै स्थानीयले पानी प्रयोग गर्न बाध्य भएको जनाउँदै सरकारले एक घर एक धारा बनाउने भने पनि अहिलेसम्म बन्न नसकेको गुनासो पोखे। पुरानो धाराबाट शुद्ध र स्वच्छ पानीसमेत स्थानीयले पिउन नपाएको उनले बताए।