१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ चैत ८ मंगलबार १९:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

असहयोग र असहिष्णुताले संघीयता असफल हुन सक्छ : मन्त्री यादव

Read Time : < 1 मिनेट
२०७८ चैत ८ मंगलबार १९:१९:००

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले असहयोग र असहिष्णुताको कारणले संघीयता असफल हुन सक्ने बताएका छन् । विश्व पानी दिवसको अवसरमा मंगलबार सिराहाको लहानमा आयोजित कार्यक्रममा यादवले नेपालको सन्दर्भमा नयाँ अभ्यासको रूपमा रहेको संघीयतामा तीन तहको सरकारकै बीचमा समन्वय र सहयोग नभइरहेको बताए । 

समाजका प्रायः हरेक व्यक्तिको दलीय आबद्धताले समाज पनि असहिष्णु बन्दै गएकाले संघीयता असफल हुन सक्ने उनले बताए । ‘संविधानमा तीन तहको सरकारका एकल र संयुक्त अधिकारका सूचीहरू छन्,’ उनले भने, ‘तर त्यही अधिकार पनि उपभोग गर्न पाइरहेका छैनौँ, अनि कसरी संस्थागत हुन सक्छ संघीयता ?’

प्रदेशको आफ्नै प्रहरी नहुनु दुर्भाग्य 
संविधानले दिएको अधिकारअन्तर्गत मधेस सरकारले प्रदेश प्रहरी ऐन बनाएको भए पनि प्रदेश सरकारको आफ्नै प्रहरी नहुनु दुर्भाग्य रहेको उनको भनाइ थियो । बढ्दो पर्यावरणीय विनाशले निम्त्याएको पानीको संकट, अतिवृष्टि, बाढी पहिरो, डुबानको समस्या समाधानका लागि तीन तहकै सरकारबीच समन्वयको खाँचो रहेको उनको भनाइ थियो । 

‘नदीजन्य पदार्थको उत्खनन्, बिक्रीवितरण, त्यसको राजस्व बाँडफाँटमा मात्र तीन तहको सरकारको झगडा भइरहेको छ,’ उनले भने, ‘नदीजन्य पदार्थका उत्खननकाे कारणले पानीको सतह घट्दै गएको, चुरेको काखमा रहेको मधेस मरुभूमिकरण हुने जोखिमबाट जोगिन हातेमालो र सहकार्यको विकल्प छैन ।’

लहान नगरपालिका, नेपाल खानेपानी संस्थान, वाटर एड र दलित जनकल्याण युवा क्लबको आयोजनामा भएको कार्यक्रममा चुरे क्षेत्रको संरक्षणमा काम गरिरहेका नागदेव यादव, लहानस्थित भूमिगत जलस्राेत तथा सिँचाइ विकास डिभिजनका सुदर्शन अधिकारीले चुरे क्षेत्रको संरक्षणका लागि गरिनुपर्ने काम, भूमिगत जलस्राेत उत्खनन्, व्यवस्थापन, प्रादेशिक संरचना, नीति तर्जुमालगायतका विषय समावेश गरिएको छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।