१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

बिजुलीमाया वनः श्रेष्ठ पुरस्कार वरिष्ठ संगीतकार जंगमलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:३४:oo

यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जंगमलाई प्रदान गरिएको छ। भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले यस वर्षको पुरस्कार जंगमलाई प्रदान गरेको हो।

भीम विरागको १०औँ स्मृति दिवसको अवसरमा शनिबार हेटौँडामा प्रतिष्ठानले एक सांगीतिक समारोहबीच एक लाख नगदसहितको पुरस्कार जंमगलाई प्रदान गरेको हो। ०१० सालमा भक्तपुरमा जन्मिएका संगीतकार जंगमले हालसम्म चार हजारभन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सयभन्दा बढी गीतमा स्वर दिएका छन्।

हेटौँडा व्यवसायी–समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले ०६४ सालमा आफ्नी आमाको नाममा बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका थिए । प्रतिष्ठानले पुरस्कार स्थापनादेखि नै व्यवस्थापन र स्रष्टा छनोट गर्दै आएको छ। जंगमसँगै भीम विराग युवा संगीत पुरस्कार ०७८ बाट लोकप्रिय गायक शिव परियारलाई नगद २५ हजारसहित पुरस्कृत गरिएको छ।

शिक्षाप्रेमी निरा गोर्खालीले उक्त पुरस्कार सौजन्य गरेकी हुन् । कार्यक्रममा विभिन्न कला, साहित्य, संगीतक्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। प्रतिष्ठानका अध्यक्ष ह्यग्रिव आचार्यको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एल.बी. क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो।

यसअघि अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, न्हुच्छेबहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दाबा ग्याल्मोलाई पुरस्कार प्रदान गरिएको थियो।

ad
ad