मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ फाल्गुण २७ शुक्रबार १४:५५:००
Read Time : > 2 मिनेट
ब्लग डिजिटल संस्करण

कोरियाको राष्ट्रपतिमा युनको उदय र डेमोक्रेटिक पार्टीको सम्भावित जोखिम 

Read Time : > 2 मिनेट
२०७८ फाल्गुण २७ शुक्रबार १४:५५:००

दक्षिण कोरियाको २०औँ राष्ट्रपतिमा रुढिवादी (पिपुल पावर) पार्टीका उम्मेदवार युन सक यल विजयी भएका छन्। राजनीतिमा कुनै अनुभव नभएका ६१ वर्षीय पूर्वप्रमुख प्रोसेक्युटर युनको विजयले धेरै सन्देश दिएको छ। 

उनले ‘आकस्मिक’ जित निकालेपछि धेरैले गैर-राजनीतिक व्यक्ति पनि कोरियाको राष्ट्रपतिको पदमा पुग्न सक्ने पाठ एकातिर पढाएको छ भने दुई पार्टीहरू सतारुढ दल डेमोक्रेटिक पार्टी र कन्जरभेटिभ पार्टीबीचको घाँटी-घाँटी प्रतिस्पर्धाले कोरियाको सामाजिक एकताको आवश्यकता गरेको छ। 

यो निर्वाचनमा चार दलले भाग लिएको भए पनि मुख्य प्रतिस्पर्धा यिनै दुई दल  ठूला दलबीच रहेको थियो। हुन त अन्तिम समयमा आएर झन्डै १० प्रतिशत समर्थन रहेको पिपुल्स पार्टीका उम्मेदवार आना छल सुले युनलाई समर्थन गरेका थिए। युनको कठिन चुनावी यात्रालाई सहज बनाएको मतपरिणामले प्रमाणित गरेको छ। 

उनीहरूबीच पार्टी एकीकरण गर्नेसम्मको सम्झौता भएको दाबी गरिएको छ। आफ्नो पार्टीका दुईजना पूर्व राष्ट्रपतिहरूले भ्रष्टाचारको आरोपमा जेलजीवन भोगेपछि उक्त पार्टी कमजोर बनेको थियो। युनको आगमन सँगै रुढीवादी पार्टीको पनि सत्ता राजनीतिमा पुन: उदय भएको छ। 

कोरोनाबाट थिलो-थिलो भएको अर्थतन्त्र, अमेरिका, जापान, चीन र उत्तर कोरियासँगको  कूटनीतिक सम्बन्ध मात्र नभएर अमेरिका र चीनबीच  बढ्दो तनावमा उनको नेतृत्वले खेल्ने भूमिकाले कोरियाको अगाडिका दिन र बाटोहरू हेर्न सकिनेछ। उत्तर कोरियासँग तुलनात्मक रूपमा कठोर र अमेरिकासँग नरम उनी र उनको पार्टीले भूराजनीतिक संवेदनशीलतालाई ‘डिल’ गर्न ठूलो चुनौतीको सामना गर्नुपर्नेछ। 

ई जे-म्युङको पराजयपछिको जोखिम र उनको राजनीतिक भविष्य
कोरियाको डेमोक्रेटिक पार्टीले आफ्नो उम्मेदवार ई जे-म्युङको पराजयपछि जोखिमपूर्ण बाटोको सामना गरिरहेको छ। उनीमाथि हुन सक्ने सम्भावित अनुसन्धान र राजनीतिक कार्यहरूले दक्षिण कोरियाली राजनीतिमा यसको प्रभुत्वलाई कमजोर पार्न सक्छ। 

ईका समर्थकहरूले कोभिड- १९ महामारीलाई जित्न बलियो नेतृत्व र आर्थिक सबलीकरणमा जोड दिएका थिए, तर धेरै संख्यामा मतदाताहरूले न्याय र निष्पक्षतालाई जोड दिने उम्मेदवारलाई फेरि समर्थन गर्दै युनलाई समर्थन गर्ने निर्णय गरे। 

राष्ट्रपति मुन जे-इन आफ्ना पूर्ववर्तीहरूको तुलनामा तुलनात्मक रूपमा लोकप्रिय छन्, तर मतदाताहरू उनको प्रशासनको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् भनेर निर्वाचन परिणामले देखाएको। अकासिएको  घरजग्गाको मूल्य, खस्किएको अर्थतन्त्र  र भ्रष्टाचारका आरोपहरू सत्तारुढ दल र मुनले खेपिरहेका थिए। 

दक्षिण कोरियालीहरूले नीतिगत असफलताबाट निराश महसुस गरेको देखिन्छ। मुनले गलत कार्यहरू रोक्छु भनेर गरेको  प्रतिबद्धता पूरा नगरेको  र विभिन्न काण्डहरूमा मुछिएका व्यक्तिहरूलाई नियुक्त गरेपछि मतदाताहरू चिढिएको विश्लेषण गरिएको छ। 

निर्वाचनमा पराजयपछि ईका लागि केही महिना कठिन हुनेछ किनकि चुनावको दौडमा उनीविरुद्ध लगाइएका धेरै आरोपको छानबिन हुने लगभग निश्चितजस्तै देखिन्छ। आगामी दिनमा ईले डेजोङ दोङ रियल इस्टेट ‘घोटाला’मा मुछिएको विषयले अझ महत्व पाउनेछ। उनीमाथि २०१५  मा ख्यगी प्रान्तअन्तर्गत सेओङ्ग्नामको ट मेयर हुँदा गैरकानुनी रूपमा एक सम्पत्ति व्यवस्थापन फर्मलाई परियोजनामा सामेल हुन मद्दत गरेको आरोप लगाइएको छ।

तर, उनले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् र धेरै अवसरमा यी आरोपहरू गलत र नियोजित भएको बताउने गरेका थिए। ई र उनकी श्रीमती किम हे-क्युङ पनि शक्ति दुरुपयोगको आरोपको सामना गरिरहेका छन्। 

ईले राष्ट्रपतिको दौडमा प्रवेश गर्नुभन्दा पहिले  ख्यगी प्रान्तको गभर्नरको रूपमा सेवा गरेका थिए। आरोपमा ई र उनकी श्रीमतीले राष्ट्रपतिको चुनावी अभियानलाई समर्थन गर्न प्रान्तीय सरकारको बजेटको दुरुपयोग गरेको र उनीहरूका निजी मामिलामा सहयोग गर्ने कर्मचारीहरू समावेश गरेकोलगायत छन्। यी आरोपहरूमा अनुसन्धान पहिले नै देखि नै चलिरहेको छ। 

युनको विजयले ई र उनका सहयोगीहरूका लागि समस्या निम्त्याउन सक्नेछ। अर्को चिन्ताजनक कुरा त दक्षिण कोरियाली राजनीतिमा बलियो उपस्थिति रहेको डेमोक्र्याटिक पार्टीको भूमिका जोखिममा  पर्नेछ। किनकि ईलाई उम्मेदवारको रूपमा अगाडि बढाउन को-को जिम्मेवार रहे भन्ने कुरामा एक आपसमा दोषारोपणको खेल सुरु हुनेछ। 

पार्टीभित्रका यस्ता समस्याहरूले जुनमा हुने स्थानीय चुनावमा उक्त पार्टीको जितको सम्भावनालाई गम्भीर रूपमा कमजोर पार्न सक्नेछ। राष्ट्रपतिमा जितेको पार्टिले नै स्थानीय चुनावमा प्रभाव जमाउने उदाहरण  यसअघि धेरैपटक देखिएको थियो। 

केही विज्ञहरूले यसअघि नै डेमोक्रेटिक पार्टीले हारेको खण्डमा ईप्रतिको आफ्नो निष्ठा त्याग्न सक्छन् भनेका थिए। पार्टीले समस्याग्रस्त इतिहास र आपराधिक पृष्ठभूमि भएका उम्मेदवारलाई समर्थन गर्ने आफ्नो बोझहरूबाट मुक्त हुन सक्छ।
(मैनाली पत्रकार महासंघ कोरियाका पूर्वअध्यक्ष हुन्।)