१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
पाकिस्तान एजेन्सी
२०७८ फाल्गुण १८ बुधबार १२:४९:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

इमरान खान सरकारको विरोधमा पिपिपीको विरोध मार्च

Read Time : > 1 मिनेट
पाकिस्तान एजेन्सी
२०७८ फाल्गुण १८ बुधबार १२:४९:००

पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) का कार्यकर्ता र समर्थकहरूले प्रधानमन्त्री इमरान खान सरकारको विरोधमा कराँचीबाट इस्लामाबादतर्फ लामो मार्च सुरु गरेका छन्। सरकारले देशको विश्वास गुमाएको आरोप लगाउँदै उनीहरूले पहिला दश दिनको मार्च सुरु गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

पिपिपी अध्यक्ष बिलावल भुट्टो–जर्दारीको नेतृत्वमा मार्च सुरु भएको छ। पिपिपीले वर्तमान सरकार कमजोर भएको र जनतामाथि अन्याय थोपरेको आरोप लगाउँदै सत्तारुढ तेहरिक–ए–इन्साफ (पिटिआई) सरकार तथा नीतिको विरोधमा उत्रिन सबैलाई आह्वान गरेको पाकिस्तानको पत्रिका डनले समाचार छापेको छ।

पिपिपीले इमरान खान सरकारलाई हटाउन सबै विपक्षी दलहरूको राष्ट्रव्यापी एकताबद्ध आन्दोलनको आह्वान पनि गरेको छ। अध्यक्ष बिलावलले मार्चपासका क्रममा ३८ बुँदे माग अघि सारेका छन्। प्रदर्शनमा महिला र बालबालिकाहरू पनि सहभागी छन्। बिलावलले सरकारविरुद्ध ‘अन्तिम धक्का’का लागि आह्वान गरेको डन पत्रिकाले उल्लेख गरेको छ। 

बिलावलले भनेका छन्, ‘यो इमरान खान शासनको अन्त्यको सुरुवात हो। यो आँधी आगामी दिनको सुरुवात मात्रै हो। अब दश दिनसम्म देशभरिका जनताले उनलाई सन्देश पठाएर सरकारको काउन्ट डाउन थाल्नेछन्।’ वर्तमान सरकारले जनतामाझ विभाजन, ध्रुवीकरण गर्न खोजेको र आपराधिक मानसिकताबाट सत्ता सञ्चालन गरिरहेको पनि बिलावलले आरोप लगाएका छन्। 

पाकिस्तानमा मिडिया कानुनमा गरिएको संशोधनको पनि बिलावलले विरोध गरेका छन्। ‘इमरान खान सरकार एक ‘फासिस्ट शासन हो। जसले मिडिया र अभिव्यक्ति स्वतन्त्रताको घाँटी थिच्नुअघि देशको राजनीतिक विवेकलाई घाँटी थिच्ने प्रयास गरेको छ,’ बिलावलले भनेका छन्, ‘अयोग्य शासनले हामीलाई दास बनाउन खोजेको छ र यो शासन विगतका फासिस्ट शासनहरूजस्तै पराजित हुनेछ र यो शासनलाई इतिहासको डस्टबिनमा पठाइनेछ।’ 

पाकिस्तानका विपक्षीहरू सरकारविरुद्ध एकजुट हुन थालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। पिपिपी र पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) ले पनि इस्लामाबादमा अलग–अलग लामो मार्चको घोषणा गरेका छन्। फेब्रुअरी २७ मा सुरु भएको मार्च २३ मा टुंगिनेछ। विपक्षी दलहरूले मार्च पहिलो साताभित्र संसदमा इमरान खानको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन्।