१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

किसानलाई मल पाउनै मुस्किल, कृषि उत्पादन कम हुन थाल्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:४९:oo

चितवनको भरतपुर–१३ का किसानहरूलाई सहज रूपमा रासायनिक मल वितरण गर्ने उद्देश्यले गत वर्ष पाखुरीचोक कृषि सहकारी संस्था स्थापना गरियो । तर, महानगरले दर्ता गरेको दुई वर्ष पूरा नभएसम्म मल वितरणका लागि सिफारिस दिन नमिल्ने बताएपछि छिमेकी सहकारीको नामबाट मल ल्याएर वितरण गरिएको छ ।

साढे तीन सय सेयर सदस्य रहेको सहकारीले विभिन्न चरण गरेर चारपटक मात्र मल वितरण गरेको सहकारीका अध्यक्ष प्रकाशचन्द्र न्यौपानेले बताए । नागरिकता हेरेर सहकारीमा सेयर सदस्यलाई १० केजीसम्म मल वितरण गरिएको छ । भरतपुर महानगरपालिका–६ स्थित सर्वोदय बहुउद्देश्यीय सहकारीका व्यवस्थापक राजु पौडेलले एक महिनादेखि सहकारीमा मल नआएको बताउँछन् । उनले भने, ‘हामीले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा माग्ने हो, तर उनीहरू नै आफ्नो गोदाममा मल नभएको भन्दै दिँदैनन् । तर, एक महिनादेखि युरिया, डिएपी, पोटास कुनै पनि मल पाएको छैन ।’   

रौतहटबाट ०४६ सालमा भरतपुर–६, पारसनगरमा आएका जीवशलाल राहुतले २० बिघा जमिन भाडामा लिई वार्षिक ८० हजार तिरेर खेती गर्दै आएका छन् । उनको परिवारमा रहेका २३ जनाकै मुख्य आम्दानीको स्रोत खेतीपाती हो । अहिले उनको बारीमा कलेरा, बोर्डी, फर्सी, घिरौँला, लौका, बन्दा, टमाटर छ । खेतीलाई डिएपी हाल्ने वेला भएको छ, तर उनले मल पाएका छैनन् । ‘यो सिजनलाई ३० बोरा मल आवश्यक हो, तर पाइनँ,’ उनले दुखेसो गर्दै भने । ‘कुखुराको सुली र गोबर मल अली बढी हालेको छु, तर रासायनिक मल नहाल्दा राम्रो उत्पादन हुँदैन,’ उनले भने, ‘रासायनिक मलको अभावमा कुल उत्पादनमा २५ देखि ३० प्रतिशत उत्पादन कम हुने गरेको छ ।’ मल नपाउनु त समस्या भयो नै, तर नागरिकता र लालपुर्जाको फोटोकपी अनिवार्य गरिएका कारण पीडित भएको उनी बताउँछन् । ‘सहकारीले जमिनको लालपुर्जा माग्छ । मलकै लागि भाडामा लिएको जमिनको जग्गाधनीसँग लाजपुर्जाको फोटोकपी माग्नुपर्ने हुन्छ । कोही विदेश हुनुहुन्छ, कोही कहाँ हुनुहुन्छ, कसैको लालपुर्जा बैंकमा छ, हामीले कसरी फोटोकपी ल्याउने होला,’ उनी भन्छन्, ‘काम गरेर खाने मान्छे हामी लपनछपन जानिन्न, बरु केही महँगो भए पनि मल पाए किन्न हुन्थ्यो ।’

 पूर्वी चितवनका व्यवसायी तरकारी खेती गर्ने किसान पुरन महत्तोले पनि बारीमा लगाएको तरकारी भन्टा, फर्सी र काउलीमा यसपटक आवश्यक मल हाल्न पाएनन् । भाडामा लिएको दुई बिघा जमिनमा उनी तकारी हटाएर अब मकै र धान लगाउने तयारीमा छन् । तर, मल नपाउने निश्चित नहुँदा काम गर्ने जाँगर नआएको बताउँछन् ।  धान, गहुँ, राज्मा र तोरीलगायतका खेतीका लागि प्रख्यात चितवनमा उचित समयमा किसानले मल पाउन नसक्दा उत्पादनमा ह्रास आउने गएको छ । पैसा तिर्दा पनि मल नपाउँदा किसान आक्रोशित छन् । 

ad
ad