१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
एजेन्सी लन्डन
२०७८ फाल्गुण १४ शनिबार १०:३८:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युक्रेनमाथि रसियाको आक्रमणपछि खेलकुदमा असर : च्याम्पियन्स लिगको फाइनल पेरिसमा हुने

Read Time : > 3 मिनेट
एजेन्सी लन्डन
२०७८ फाल्गुण १४ शनिबार १०:३८:००

युरोपेली फुटबलको सर्वाेच्च निकायको शुक्रबार बसेको आपत्कालीन बैठकले च्याम्पियन्स लिगको फाइनल रसियाबाट फ्रान्सको पेरिसमा गर्ने निर्णय गरेको छ

यस सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल फ्रान्सको पेरिसमा हुने भएको छ । युरोपेली फुटबलको सर्वाेच्च निकाय (युइएफए)को शुक्रबार बसेको आपत्कालीन बैठकले च्याम्पियन्स लिगको फाइनल रसियाबाट फ्रान्सको पेरिसमा सारिएको जनाएको छ । रूसले युक्रेनमा आक्रमण गरेपछि युइएफएको बैठकले रसियाको सेन्ट पिटर्सवर्गबाट पेरिसमा च्याम्पियन्स लिगको फाइनल हुने घोषणा गरेको हो । पूर्वी युरोपमा राजनीतिक तनावले महाद्वीपको परिचालक निकायबाट निर्णायक कार्य गर्न बाध्य पारेको जनाइएको छ ।

युइएफएको यस निर्णयसँगै फ्रान्सले २००६ पछि च्याम्पियन्स लिगको फाइनलको आयोजना गर्नेछ । त्यतिवेला बार्सिलोनाले आर्सनललाई २–१ ले पराजित गर्दै च्याम्पियन बनेको थियो । फाइनल खेल अब स्टाडे डे फ्रान्स रंगशालामा हुनेछ । सन् २०२० को फाइनल खेल पनि सारिएको थियो । कोरोना भाइरसका कारण टर्कीबाट लिस्बोनमा फाइनल खेल आयोजना भएको थियो । 

खेलाडी सुरक्षित राख्न मैदान परिवर्तन
अध्यक्ष एलेक्सान्डर सेफरिनको अध्यक्षमा बसेको बैठकले रसियामा च्याम्पियन्स लिग फाइनल खेलाउन जोखिम हुने निष्कर्ष निकालेको छ । यसै कारण रसियालाई च्याम्पियन्स लिगको फाइनल खेलाउने अनुमति दिन नसक्ने जनाएको छ । च्याम्पियन्स लिगको फाइनल २८ मेमा हुने तालिका थियो । फाइनल पुग्ने टोलीले पेरिसमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

युइएफएको कार्यकारी समितिले युरोपका सुरक्षा अवस्था गम्भीर रहेकाले आपत्कालीन बैठकको आयोजना गरेको उल्लेख गरेको छ । युइएफएले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै फाइनल खेल सेन्ट पिटर्सवर्गबाट पेरिसमा सारिएको उल्लेख गरेको छ । ‘हामीले खेलाडी तथा समर्थकलाई सुरक्षित राख्न नै रसियाबाट फ्रान्समा प्रतियोगिताको फाइनल खेल सारेका हौँ,’ युइएफएले जनाएको छ, ‘पछिल्लो समय युरोपको शान्ति सुरक्षा कमजोर बनिरहेको छ ।’ 

युइएएफद्वारा धन्यवाद
पेरिसमा च्याम्पियन्स लिगको फाइनल हुने भएपछि युइएफएले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई धन्यवाद दिएको छ । गम्भीर अवस्थामा शान्ति सुरक्षाको प्रत्याभूति दिँदै च्याम्पियन्स लिगको फाइनल खेलाउने अनुमति फ्रान्सले दिएको युइएफएको भनाइ छ । ‘हामी राष्ट्रपति इमानुएललाई धन्यवाद दिन्छौँ, व्यक्तिगत समर्थन र युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित खेल फ्रान्समा अतुलनीय संकटको समयमा सार्नको लागि प्रतिबद्धताको लागि धन्यवाद व्यक्त गर्न चाहन्छ,’ युइएफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फ्रान्सेली सरकारको साथमा युइएफएले डरलाग्दो मानवीय पीडा, विनाश र विस्थापनको सामना गर्ने युक्रेनमा फुटबल खेलाडीहरू र उनीहरूको परिवारको उद्धारको प्रावधान सुनिश्चित गर्न गरिने प्रयासलाई पूर्ण रूपमा समर्थन गर्नेछ ।’ यसैबीच युइएफएको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने रसियन, युक्रेनी क्लब र राष्ट्रिय टोलीलाई अर्काे सूचना जारी नभएसम्म घरेलु खेल तटस्थ मैदानमा खेल्नुपर्ने जनाएको छ । 

तटस्थ भूमिमा खेल्नुपर्ने
रसियन र युक्रेनबीचको युद्धको असर खेलकुदमा परेको छ । रसियन र युक्रेनका फुटबल क्लबहरूले अब घरेलु प्रतियोगिता अन्य देशमा गएर खेल्नुपर्ने अवस्था आएको छ । युइएफएको बैठकले यी दुवै मुलुकका फुटबल क्लबलाई तटस्थ भूमिमा प्रतिस्पर्धा गर्न भनिएको छ । अहिले फुटबल सिजन सकिने लागेको अवस्था छ । युरोप लिगमा जर्मन क्लबले अन्तिम १६ को प्रतिस्पर्धा रसियामा गर्नुपर्ने हुन्छ । युइएफएको निर्णयपछि जर्मन क्लब लेइजिपले अन्य युरोपियन देशमा गर्ने सम्भावना छ । 

यता रसियन फुटबल युनियनले युइएफएको कुनै पनि निर्णय नमान्ने स्पष्ट पारेको छ । यही मार्चमा सन् २०२२ को कतार विश्वकपअन्तर्गत पुरुषतर्फको प्ले अफ खेल रसिया र युक्रेनमा हुने तय भइसकेको छ । अहिले विश्वकपको प्ले अफ खेल कुन देशमा गर्ने भन्ने निर्णय भइसकेको छैन । २४ मार्चमा छनोट खेलमा रसियाले पोल्यान्डविरुद्ध खेल्नेछ । यसैगरी युक्रेनले स्कटल्यान्डको सामना गर्नेछ । 

प्रायोजकसँग नाता तोडिँदै
च्याम्पियन्स लिग र युइएफएसँग रसियाको गाज्पोन कम्पनीबीच लामो समयदेखि सहकार्य चलिआइरहेको छ । रसियाबाट च्याम्पियन्स लिगको फाइनल खेल पेरिसमा सार्ने निर्णपछि यो सहकार्य तोडिने सम्भावना बढेको छ । युइएफएसको प्रमुख प्रायोजकका रूपमा गाज्पोन हो । यसले वार्षिक ३० मिलियन पाउन्ड सहयोग गर्दै आइरहेको छ । सन् २०१२ देखि युइएफएले गाज्पोनबाट सो रकम प्रायोजकका रूपमा पाउँदै आएको हो । यति मात्र गाज्पोन जर्मनको साल्के क्लबको समेत मुख्य प्रायोजक हो । साल्के पनि स्पोट्स कम्पनीसँग दीर्घकालीन सम्झौता नगर्ने जनाएको छ । युइएफएको कार्यसमितिका पूर्वसदस्य एलेक्स फिल्पिसले वर्तमान समयमा फिफाले पनि ध्यान दिनुपर्ने बताएका छन् । ‘खेलक्षेत्रबाट प्रायोजक टाढिँदा यसको असर निकै पर्छ,’ एलेक्सले भने, ‘रसियन फुटबल विकासमा यो कम्पनीले धेरै सहयोग गरेको छ, यद्यपि च्याम्पियन्स लिगको एक प्रमुख प्रायोजक रहेको रसियन कम्पनी बाहिरिनु दुखद हुन सक्छ ।’ 

निर्णयको आलोचना
फाइनलको सबै तयारी गरेको सेन्ट पिटरवर्गले युइएफएको निर्णयप्रति विरोध जनाएको छ । ‘हामीले च्याम्पियन्स लिगको फाइनल खेलाउन सबै तयारी गरिरहेका छौँ, राजनीति र असुरक्षाका कारण देखाउँदै फाइनल सारिनु गलत हो,’ रसियन स्पोर्टिङ क्लबले भनेको छ । यसैगरी रसियन फुटबल युनियनका अध्यक्ष एलेसान्दर डयुकोभले युइएएफएले रसियालाई समर्थन नगरेको आरोप लगाएका छन् ।

‘यो निर्णय हामीलाई मान्य छैन, खेलको समर्थन गर्नुपर्ने थियो, तर युइएफएले राजनीतिक कारण देखाउँदै च्याम्पियन्स लिगको फाइनल सार्ने निर्णय गरेको छ,’ युनियनका अध्यक्ष डयुकोभले भने, ‘युनियनले सधैँ खेलकुदलाई नै पहिलो प्राथमिकतामा राख्दै आइरहेको छ, देशमा जस्तो अवस्था आए पनि खेलकुद रोकिएको छैन ।’ उनले रसियन फुटबल युनियनमा कहिले पनि राजनीति हाबी नभएको दाबी गरेका छन् । 

‘यति विश्वास छ, यो सबै निर्णय राजनीति कारण भएको हो, युनियनको विधानमा राजनीति गर्नेलाई कुनै स्थान छैन,’ उनले भने । यसैगरी प्रवक्ता ड्रिमिट्री पेस्कोभले युइएफएको निर्णयबाट लज्जित भएको जनाएका छन् । रसियाको सेन्टपिटरवर्ग रंगशालामा दर्शक तथा खेलाडीलाई सुरक्षा प्रदान गर्दै च्याम्पियन्स लिग खेलाउन सक्ने दाबी ड्रिमिटीले गरेका छन् । ‘यस किसिमको अपरिपक्व निर्णयले फुटबललाई नै लज्जित बनाएको छ, सेन्ट पिटरवर्गमा फुटबल उत्सवका रूपमा लिने गरिन्छ, यहाँ जस्तो संस्कार कहीँ पनि छैन,’ पेस्कोभले भने ।

यसैगरी बेलायतका संस्कृति सचिव नादिने डोरिसले युइएफएको निर्णय स्वागत गरेका छन् । ‘अवस्थाअनुसारको निर्णयलाई स्वागत गर्नुपर्छ,’ उनले भने, ‘रसियालाई अमानवीय कार्य गर्न छुट छैन ।’ म्यानचेस्टर युनाइेटडका अन्तरिम म्यानेजर राल्फ रान्गिकले सही निर्णय भएको जनाए ।