१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
संकटा क्लबविरुद्ध एनआरटीका खेलाडी हेडिङ गर्ने प्रयासमा । 
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ६ शुक्रबार ०७:५७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एपिएफसँग सर्वाधिक विजेता मनाङ स्तब्ध 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ६ शुक्रबार ०७:५७:००

लिगको ११औँ चरणमा मनाङ मस्र्याङ्दीमाथि ३–१ को जित निकाल्ने क्रममा एपिएफका आशिष लामा, मणिकुमार लामा र नवीन लामाले समान एक–एक गोल गरे

सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक विजेता मनाङ मर्स्याङ्दी क्लबले तेस्रो अप्रत्यासित नतिजा बेहोरेको छ । लिगअन्तर्गत बिहीबार ११औँ चरणमा मनाङ विभागीय टोली एपिएफसँग ३–१ ले स्तब्ध भयो । यसअघि मनाङ लिगमा मच्छिन्द्र फुटबल तथा नवप्रवेशी क्लब सातदोबाटोसँग पराजित भएको थियो । मच्छिन्द्र र सातदोबाटोसँग पराजित हुँदा मनाङको उपाधि जित्ने आशा कमजोर बनेको थियो । लिगको ११औँ चरणमा मच्छिन्द्रले सातदोबाटोलाई १–० ले हराउँदै उपाधि रक्षा गरिसकेको छ । 

दरशथ रंगशालामा एपिएफलाई सानदार जित दिलाउने क्रममा आशिष लामा, मणिकुमार लामा र कप्तान नवीन लामाले समान एक–एक गोल गरेका थिए । मनाङका कप्तान अन्जन विष्टले अग्रता गोल गरेका हुन् । जितसँगै एपिएफ रेलिगेसन जोनबाट बचेको छ । एपिएफले ११ खेलबाट १४ अंक जोडेको छ । एपिएफ आठौँ स्थानमा उक्लिएको छ । लिगमा तेस्रो हार सामना गरेको मनाङ ११ खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा यथावत् रहेको छ । 

खेलको ३७औँ मिनेटमा कप्तान अन्जनले मनाङलाई १–० को अग्रता दिलाएका थिए । विशाल सुनारले फालेको लामो बललाई अन्जनले नियन्त्रणमा लिँदै एपिएफका गोलरक्षकविरुद्ध वान भर्सेस वानको अवस्थामा अग्रता गोल गर्न सफल भए । उत्कृष्ट सुरुवात गरेको मनाङले अन्तिमसम्म निरन्तरता राख्न सकेन । कुमार थापाको प्रशिक्षणमा रहेको एपिएफले खेलमा निकै सुधार गर्दै नतिजासमेत उल्ट्याउन सफल भयो । मनाङले आफ्नो अग्रता धेरैबेर टिकाउन सकेन । खेलको ४०औँ मिनेटमा आशिषले एपिएफलाई १–१ को बराबरीमा ल्याए । 

एपिएफले खेल सकिन नौ मिनेटको अन्तरमा दुई गोल गर्दै मनाङमाथि सानदार जित निकाल्यो । खेलको ८१औँ मिनेटमा विस्थापन्न खेलाडी  मणिकुमार लामाले २–१ को अग्रता गोल गरे । ८६औँ मिनेटमा कप्तान नवीनले गोल गर्दै एपिएफलाई ३–१ को जित पक्का गराए । 

एनआरटी पाँचौँ स्थानमा उक्लियो
न्युरोड टिम (एनआरटी) लिगको पाँचौँ स्थानमा उक्लेको छ । एनआरटीले बिहीबार संकटा क्लबलाई १–० ले हराउँदै पाँचौँ स्थान रक्षा गरेको हो । एनआरटीको जितमा स्टेफन समिर विनोङले पहिलो हाफमा एक मात्र निर्णायक गोल गरेका थिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा २८औँ मिनेटमा सरोज तामाङको लामो पासलाई नियन्त्रणमा लिदै समिरले एनआरटीलाई १–० को अग्रता दिलाएका हुन् । खेलमा थप गोल नहुँदा उनकै गोल निर्णायक बन्यो । 

एनआरटीको लिगमा यो चौथो जित हो । एनआरटीले ४ जित, ५ बराबरी र २ हारको नतिजा निकालेको छ । संकटाको यो दोस्रो हार हो । यसअघि संकटाले थ्री स्टारसँग १–० को हार बेहोेरेको थियो । संकटाले ११ खेलमा ३ जित ६ बराबरी र दुई हारको नतिजा निकालेको छ । एनआरटीले संकटा र सातदोबाटोलाई पछि पारेको हो ।