१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २२ शनिबार १०:१४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

च्यासल र पुलिसको खेल फेरि सर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २२ शनिबार १०:१४:००

सहिद स्मारक ‘ए’ डिभिजन लिगको नवौँ चरणमा कोरोना संक्रमणका कारण स्थगित भएको नेपाल पुलिस र च्यासल युवा क्लबबीच शनिबार हुने भनिएको खेल पुनः स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोनाका कारण स्थगित भएको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार हुने जानकारी गराएको थियो । तर, मैदानको अवस्था देखाउँदै एन्फाले यो खेल अब २६ माघको बुधबारलाई सारेको छ ।

यसअघि दुवै टोलीले २ माघमा प्रतिस्पर्धा गर्नुपर्ने थियो । तर, च्यासलका १९ जना खेलाडीमा एकैपटक कोरोना संक्रमण पुष्टि भएपछि अन्तिम समयमा एन्फाले खेल स्थगित गर्ने निर्णय गरेको थियो । पुलिस र च्यासल दुवै टोलीले लिगमा गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । पुलिस आठ खेलबाट सात अंक जोडेर ११औँ स्थानमा रहेको छ । पुलिसले एक खेलमा जित हात निकाल्दा चार बराबरी र ३ हारको नतिजा निकालेको छ ।

लिगको सुरुवातमा खेलाडी अनुबन्धमा निकै आक्रामक देखिएको च्यासलले लगातार खराब प्रदर्शन गरिरहेको छ । च्यासलले आठ खेलबाट पाँच अंक जोडेर रेलिगेसन क्षेत्रमा आफूलाई सीमित बनाएको छ । च्यासल लिगको १३औँ स्थानमा रहेको छ । च्यासलले एक जित, दुई बराबरी र पाँच हारको सामना गरेको छ ।

साबिक विजेता मच्छिन्द्र अपराजित रहँदै नौ खेलबाट सर्वाधिक २३ अंक जोडेर शीर्षस्थानमा बलियो बनाएको छ । सर्वाधिक विजेता मनाङ मर्स्याङ्दी १९ अंकका साथ दोस्रो स्थानमा छ । लिगको उपविजेता त्रिभुवन आर्मी १७ अंकसहित तेस्रो स्थानमा छ । पछिल्लो चार खेलमा उत्कृष्ट प्रदर्शन गरेको थ्री स्टार १६ अंकका साथ शीर्ष चारमा रहेको छ । संकटा पाँचौँ, एनआरटी छैटौँ, सातदोबाटो सातौँ, हिमालयन शेर्पा आठौँ, एपिएफ नवौँ र जावलाखेल दशाैँ स्थानमा छन् ।