१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
टेकराज थामी काठमाडौं
२o८१ बैशाख १९ बुधबार o८:o९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नक्कली पिसिआर रिपोर्ट बनाउन चिकित्सक नै संलग्न 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:o९:oo

रिपोर्ट नेगेटिभ आएपछि १० हजारमा बिक्री, नागरिक कम्युनिटी टिचिङ हस्पिटल र कान्तिपुर अस्पताल सिल

विदेश जाने नेपालीको नक्कली पिसिआर (पोलिमेरस चेन रियाक्सन) प्रतिवेदन चिकित्सककै योजनाअनुसार बनाइएको खुलेको छ । नक्कली पिसिआर प्रतिवेदन बनाउने दुई अस्पतालमा प्रहरीले छापा मारेपछि यो तथ्य खुलेको हो । 

एसएसपी वसन्त कुँवर प्रमुख, अपराध अनुसन्धान महाशाखा

हामीले दुवै अस्पतालबाट नक्कली पिसिआर प्रतिवेदन बरामद गर्‍यौँ । दुवैमा चिकित्सकको हस्ताक्षर छ । अनुसन्धानपछि प्रतिवेदनमा हस्ताक्षर गर्ने चिकित्सक नै अस्पतालका सञ्चालक रहेको खुलेको छ । उनीहरू फरार छन् । दुवैलाई कानुनी कारबाही हुन्छ ।

अपराध अनुसन्धान महाशाखाले मंगलबार भक्तपुर मध्यपुर ठिमीस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल र तीनकुनेस्थित कान्तिपुर अस्पतालमा छापा मारेको थियो । प्रहरीले नागरिक अस्पतालबाट आठ र कान्तिपुर अस्पतालबाट १७ थान नक्कली पिसिआर बरामद गरेको थियो । प्रहरीका अनुसार नागरिकबाट बरामद पिसिआर प्रतिवेदनमा डा.भावेश मिश्रको हस्ताक्षर छ । कान्तिपुरबाट बरामद प्रतिवेदनमा भने डा. निर्मल गिरीको हस्ताक्षर छ । डा. मिश्र नागरिक र डा. गिरी कान्तिपुर अस्पतालका सञ्चालक हुन् । हाल दुवै फरार छन् । 
महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले दुवै अस्पतालका चिकित्सकलाई कानुनी कारबाही हुने बताए । ‘हामीले दुवै अस्पतालबाट नक्कली पिसिआर प्रतिवेदन बरामद गर्‍यौँ । दुवैमा चिकित्सकको हस्ताक्षर छ । अनुसन्धानपछि प्रतिवेदनमा हस्ताक्षर गर्ने चिकित्सक नै अस्पतालका सञ्चालक रहेको खुलेको छ । उनीहरू फरार छन् । दुवैलाई कानुनी कारबाही हुन्छ,’ उनले भने ।

प्रहरीका अनुसार दुवै अस्पतालले विदेश जाने नेपालीलाई कोभिड–१९ को नक्कली नेगेटिभ प्रतिवेदन बनाएर दिँदै आएका थिए । यसका लागि प्रतिप्रतिवेदन १० हजार रुपैयाँ शुल्क असुल्थे । ल्याबका लागि आवश्यक स्वाब अस्पताल आफैँले उपलब्ध गराउँथ्यो । जसका लागि उनीहरूले कर्मचारी नै नियुक्त गरेका थिए । योजनाअनुसार नियुक्त कर्मचारीले स्वाब उपलब्ध गराउँथे । रीतपूर्वक ल्याबमा परीक्षण हुन्थ्यो । नेगेटिभ प्रतिवेदन आएपछि शुल्क असुलेर सेवाग्राहीलाई दिइन्थ्यो । 

‘यिनीहरूले स्वाब दिन मान्छे नै नियुक्त गरेका रहेछन् । त्यसैबाट स्वाब लिने रहेछन् । रिपोर्ट नेगेटिभ आएपछि १० हजार रुपैयाँ असुलेर ग्राहकलाई दिने रहेछन् । हामीले स्वाब दिने व्यक्तिलाई समेत पक्राउ गरेका छौँ,’ एसएसपी कुँवरले भने ।

प्रहरीले घटनास्थलबाट धनुषा विदेह नपा–४ का २५ वर्षीय रोशनकुमार छिट्टान, धनुषा छिरेश्वर नपा–१ का २५ वर्षीय नागेन्द्र यादव, काभ्रे तेमाल–५ का २९ वर्षीय माधव मैनाली र सर्लाही बलरा नपा–७ का प्रशन्नकुमार झालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये रोशनकुमार नागरिक अस्पतालका कर्मचारी हुन् । उनले ग्राहक खोज्ने र नक्कली पिसिआर प्रतिवेदन उपलब्ध गराउँदै आएका थिए । प्रहरीले उनीसँग आठ थान नेगेटिभ लेखिएको नक्कली पिसिआर बरामद गरेको थियो । प्रहरीले उनलाई एयरपोर्टबाट पक्राउ गरेको थियो । प्रशन्नकुमार भने सोही अस्पतालका ल्याब म्यानेजर हुन् । 

नगेन्द्रकुमार भने कान्तिपुर अस्पतालका कर्मचारी हुन् । उनको पनि काम ग्राहक खोज्ने हो । र, नेगेटिभ लेखिएको नक्कली पिसिआर प्रतिवेदन ग्राहकलाई दिने हो । यही क्रममा उनको साथबाट १७ थान नेगेटिभ लेखिएको नक्कली पिसिआर प्रतिवेदन फेला परेको छ । प्रहरीले उनलाई तीनकुनेबाट पक्राउ गरेको थियो । पक्राउ परेका माधव भने सोही अस्पतालस्थित ल्याबका कर्मचारी हुन् । प्रहरीका अनुसार उनीहरूले रिपोर्टमा लेखिएको सिटिभ्याल्युसमेत चलाखीपूर्वक मिलाउने गर्थे । जसलाई ‘क्युआर कोड’ गरी सजिलै हेर्न सकिन्थ्यो । 

‘नक्कली स्वाबका आधारमा विदेश जानेहरूको पिसिआर रिपोर्ट बनाउने चारजना पक्राउ परेका छन् । चारैजना सम्बन्धित अस्पतालका कर्मचारी हुन् । उनीहरूले सिटिभ्याल्युसमेत तलमाथि गरिदिन्थे । रिपोर्ट ‘क्युआर कोड’मा समेत हेर्न सकिन्थ्यो । घटनामा चिकित्सक पनि संलग्न रहेको खुलेको छ । उनीहरूविरुद्धको खोजी कार्य जारी छ,’ महाशाखाका प्रवक्ता एसएपी कृष्ण कोइरालाले भने । स्वाब बरामदपछि प्रहरीले दुवै अस्पतालका ल्याब सिल गरेको छ । सिल गरिएका ल्याबबाट प्रहरीले नक्कली पिसिआर प्रतिवेदन बनाउने कम्प्युटर, रजिस्ट्रर, ल्याबका उपकरणलगायत सामग्री बरामद गरेको छ । 

ad
ad