मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ १७ सोमबार
  • Wednesday, 02 September, 2026
२o७८ माघ १७ सोमबार १o:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङ प्रवेश गर्न एन्टिजेन परीक्षण अनिवार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १७ सोमबार १o:१३:oo

हिमाली जिल्ला मनाङ प्रवेश गर्नेले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । जिल्ला कोभिड– १९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपत् व्यवस्थापन समिति साथै स्थानीय तहका अध्यक्ष एवं कार्यालय प्रमुखको आइतबार बसेको भर्चुअल बैठकले सम्बन्धित स्थानीय तहमार्फत मनाङ प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो ।

मनाङमा कोभिडको संक्रमण बढ्न नदिनका लागि मनाङ प्रवेश गर्ने नासोँ गाउँपालिका– १ स्थित तालडाँडामा  एन्टिजेन परीक्षण गर्ने र नासोँ गाउँपालिकाले नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । 

मनाङ प्रवेश गर्ने नासोँ गाउँपालिका– १ तालडाँडामा हेल्थ डेस्क राखेर अनुगमन गर्ने, मास्क नलगाउनेलाई लगाउन लगाउने र मास्कहरू वितरण गर्ने, सार्वजनिक यातायातमा अनुगमन गरेर अनिवार्य रूपमा मास्क लगाउनलाई अभिप्रेरित गर्ने निर्णय पनि बैठकले गरेको प्रजिअ आचार्यले बताए । यस्तै, मनाङमा खोप कार्डविना यात्रुलाई प्रवेश निषेध गरिएको छ । मनाङमा बाह्य जिल्लाबाट संक्रमित आउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको प्रजिअ आचार्यको भनाइ छ ।

शनिबारसम्म शून्य संक्रमित रहेको मनाङमा आइतबार मनाङ ङिस्याङ गाउँपालिकाका २४ वर्षको पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले बताए । उनका अनुसार खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई मनाङ प्रवेश गर्न दिइनेछैन । मनाङका कर्मचारी र स्थानीयलाई सम्बन्धित स्थानीय तहले खोपको व्यवस्था गर्नेछ । मनाङमा कोरोनाको दोस्रो लहर सुरु भएयता दुई सय २३ जना कोरोना संक्रमित भएका छन् । यीमध्ये चारजनाको मृत्यु भएको थियो ।