१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मरवान बिसारा
Invalid date format o७:३o:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

युक्रेन मामिला : युद्धभन्दा कूटनीति फलदायी 

Read Time : > 2 मिनेट
मरवान बिसारा
नयाँ पत्रिका
Invalid date format o७:३o:oo

अहिलेको अवस्थामा युक्रेनी समस्या समाधानका लागि कूटनीति मात्र एक सहज र अचुक औषधि हो


युक्रेनमा युद्ध सुरु नभए पनि युद्धका लगभग सबै उद्देश्य पूरा भइसकेका छन् । युद्धका प्रमुख पात्र रुस र अमेरिका पुरानै शीतयुद्धका सूत्रहरू प्रयोग गरेर युक्रेनी, युरोपेली र अन्तर्राष्ट्रिय सुरक्षाको मूल्यमा आफ्नो राष्ट्रिय स्वार्थपूर्ति चाहन्छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सीमामा केही लाख सेना तैनाथ गरेर युक्रेन र उसका पश्चिमा साझेदारलाई अप्ठ्यारो स्थितिमा धकेलिदिएका छन् । पुटिनको कदमले राष्ट्रपति जो बाइडेनमा रुसले तत्कालै युक्रेनमा कब्जा जमाउन खोजेको आशंका उब्जाइदिएको छ । उता बेलायतले युक्रेनमा रुसको कठपुतली सरकार बन्ने भन्ने आकलनले अहिले विकास भइरहेको संकटमा नाटकीय आयाम थपिदिएको छ ।      

युक्रेनलाई लिएर विकसित भइरहेको तनाव एवं युद्धको झ्याली पिटाइले मस्को र वासिंगटनले युरोपमा वर्षौंदेखिको सन्देह र अस्तव्यस्ततापछि आफ्नो प्रभुत्व पुनर्बहाली गर्न सफल भएका छन् । पूर्व–सोभियत संघका युक्रेन र जर्जियामा नेटोको उपस्थितिको विरोधका सन्दर्भमा पुटिनलाई अन्ततः पश्चिमले गम्भीरतापूर्वक लिन थालेको छ । खतरनाक सैन्य तयारीका सन्दर्भमा रुसले युक्रेनबाट नेटोलाई हटाउन हरसम्भव प्रयास गर्नेछन् वा पूर्व–सोभियत संघका क्षेत्रमा शक्ति प्रदर्शन गर्नेछन् भन्नेमा द्विविधा रहेन । काजखस्तानमा हालै भएको अशान्तिका सन्दर्भमा रुसले त्यहाँको सरकारका पक्षमा गरेको हस्तक्षेपलाई उदाहरणका रूपमा लिन सकिन्छ ।     

त्यसैगरी शीतयुद्धताकाका उदारवादी बाइडेनलाई पनि अन्ततः युरोप र रुसमा गम्भीरतासाथ लिइँदै छ किनभने उनी पुटिनको डर देखाएर विमुख युरोपेलीलाई अमेरिकातर्फ आकर्षित गर्न सफल भएका छन् । यहाँसम्म कि फ्रान्स र जर्मनीजस्ता युरोपेली शक्ति, जो अमेरिकी सुरक्षा मामिला र चासोबाट स्वायत्त हुन चाहन्थे, उनीहरू पनि नचाहँदा–नचाहँदै वासिंगटनकै पदचाप पछ्याउन बाध्य भएका छन् । शीतयुद्धको अन्त्यपछि र अफगानिस्तानमा लज्जास्पद हार व्यहोरेपछि अस्तित्वको संकट व्यहोरिरहेको नेटोलाई पुनर्जागृत गरेर नेटोको नेतृत्व अमेरिकाले गर्न पाउनु बाइडेनका लागि थप उत्साहको विषय हो ।  

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय दृढता कायम गर्न सफल भएको अवस्था र व्यावहारिक रूपमा युरोपेली सुरक्षा आफ्नो नियन्त्रणमा पार्दा पनि पुटिन र बाइडेन युद्धका लागि किन उद्यत् छन् त ? यी सफलतालाई विनाशकारी युद्ध निम्त्याएर किन जोखिममा पार्नु, जबकि असहमतिहरू कूटनीतिक ढंगबाटै हल गर्न सकिन्छ । कूटनीतिको विकल्प रोज्ने हो भने त्यो उपाय युक्रेनका लागि प्रलयकारी साबित हुनेछ । अमेरिकाले युक्रेन नेटोको सदस्य नभएका कारण युक्रेनमा हुने सम्भावित हमलाको रक्षा नगर्ने जनाइसकेको छ । युद्ध सुरु हुनेबित्तिकै नियन्त्रणबाहिर जाने भएकाले अमेरिका र रुसका लागि यो युद्ध फलदायी हुनेछैन ।           

करिब एक लाख सेनाको तैनाथी मात्रले पुटिन युक्रेनमा कब्जा वा अतिक्रमण गर्न चाहन्छन् भन्ने देखिँदैन । यद्यपि, पूर्वी युक्रेनमा सानो हस्तक्षेपले पनि ठूलो परिणाम निम्त्याउन सक्नेछ, जहाँ रुसले आफ्नो अर्थतन्त्र नै कमजोर पार्ने गरी अमेरिकाको नाकाबन्दी व्यहोर्नुपर्नेछ । यसैकारण पुटिन चिनियाँ बाहुबली सी जिनपिङको समर्थन खोजिरहेका छन् । चीनलाई आफ्ना पक्षमा पार्न सके रुस अमेरिकी नाकाबन्दी र पश्चिमा दबाब झेल्न सक्षम हुनेछ । तर, यी उपायबाट हुने रुसी विजयले रुसलाई कमजोर बनाउनेछ र चीनका अगाडि रुस एक कनिष्ठ साझेदार बन्नेछ ।

बेलायतले दोस्रो विश्वयुद्ध जिते पनि आफ्नो साम्राज्य गुमाएको र अमेरिकाको कनिष्ठ साझेदारमा सीमित बन्न पुगेको धेरै भएको छैन ।  चीनले स्पष्ट रूपमा रुसी सीमामा नेटो फैलावटको विरोध गरेको छ । बेइजिङ युक्रेन मामिलामा मस्कोको सफलता चाहन्छ, किनभने यो सफलता ताइवान र एसियाका अन्य क्षेत्रमा अमेरिकाविरुद्ध सफल हुन चीनलाई सहयोगी हुनेछ । अर्थात् बाइडेनले युक्रेन युद्धलाई नटाल्ने हो भने रुसलाई हौसला मिल्नेछ र चीन बलियो हुने निश्चितप्रायः छ, अर्थात् बेइजिङ र मस्कोलाई आफ्नो वैश्विक शत्रु अमेरिकाका अगाडि एकताबद्ध हुन सघाउनेछ । यस अवस्थामा कूटनीति मात्र एक सहज र अचुक औषधी बन्नेछ । यसमा युरोपेली मुलुकहरूले अमेरिका र रुसका भिन्नताको मध्यस्थता गर्न सक्नुपर्छ । यो सम्भावित युद्धले युरोपलाई सबैभन्दा बढी असर पार्ने सन्दर्भमा युरोपेली शक्तिहरू निष्क्रिय रहनु बडा उदेकलाग्दो देखिन्छ ।

दुई दशकअघि जर्मनी र फ्रान्सले सन् २००३ को इराक अतिक्रमणको विरोध गर्ने साहस गरेका थिए । स्मरण रहोस् इराक कब्जा इराक र मध्य–पूर्व क्षेत्र मात्रै नभई अमेरिका र युरोपका लागि पनि घातक साबित भएको थियो । अहिले युरोपबाट यस्तै साहसको अपेक्षा गरिएको छ, जहाँ आसन्न संकटलाई कूटनीतिक ढंगबाट समाधान गर्न सकियोस् । यसबाहेक युरोपेली शक्तिहरूले पूर्वी युरोपमा नेटोको फैलावटमाथि भिटो पनि लगाउन सक्छन् । पुटिनले पूर्वी युरोपमा नेटोको सैन्य उपस्थिति वा महादेशमा मध्यम दूरीका क्षेप्यास्त्र स्थापित गर्नेलगायत विषयमा अमेरिकासँग ठूला माग गरिरहेका हुन सक्छन्, तर रुससम्बन्धी अग्रणी विशेषज्ञ दिमित्री त्रेनिन फरेन अफेयर्समा ‘मस्कोको माग एक दाबी भए पनि कुनै किसिमको बाध्यकारी भने होइन’ भन्छन् । 

बाइडेन प्रशासनले रुसको मूल मागलाई सहजै समाधान गर्न सक्छ, किनभने युक्रेन नेटोको सदस्य पनि होइन । यसको बदलामा रुसले युक्रेनको स्वतन्त्रताको प्रतिबद्धता जाहेर गर्न सक्छ । राष्ट्रपति पुटिन र बाइडेनले हालसम्म देखाएको विवेकपूर्ण व्यवहारलाई वैयक्तिक एवं राष्ट्रिय गौरवका नाममा बिथोल्नु हुँदैन । अहिले युद्धलाई अस्वीकार गरेर रणनीतिक तुष्टीकरणलाई अँगाल्ने समय हो, किनभने यसले अर्को विनाशकारी युरोपेली युद्ध र डरलाग्दो विश्व संकटलाई रोक्नेछ । अलजजिराबाट