मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
हेटौँडास्थित मतदानस्थलको मंगलबार निरीक्षण गर्दै बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे । तस्बिर : सुदीप सिवाकोटी/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १२ बुधबार ०६:११:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय सभाका  १९ सदस्यका लागि आज निर्वाचन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १२ बुधबार ०६:११:००

१९ सिटका लागि हुने निर्वाचनमा नौ दलका ४३ उम्मेदवार मैदानमा

राष्ट्रिय सभा सदस्य १९ पदका लागि बुधबार निर्वाचन हुँदै छ । निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । शान्ति–सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए । 

विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदान सकिएलगत्तै मतगणना गर्ने आयोगको तयारी छ । प्रवक्ता पौडेलले बुधबार नै मतपरिणाम आउने अपेक्षा गरिएको बताए । कोरोना संक्रमणलाई ख्याल गरेर आयोगले स्वास्थ्य सुरक्षाका मापदण्डसहित मतदानको व्यवस्था मिलाएको छ । 

निर्वाचनको मौनअवधि सुरु भइसकेकाले प्रचारप्रसार रोकिएको छ भने निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचन कर्मचारी र स्वास्थ्यकर्मीसहितको टोलीको व्यवस्थापन भइसकेको छ ।

निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता छन् । निर्वाचनमा स्थानीय तहका एक हजार चार सय ९३ र प्रदेश सभाका पाँच सय ३२ मतदाता रहनेछन् । प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

सबै प्रदेशमा गठबन्धन अगाडि
राष्ट्रिय सभा सदस्य निर्वाचनमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् । तर, सात सय ५३ वटै स्थानीय तह र सातै प्रदेश सभा सचिवालयबाट प्राप्त तथ्यांकअनुसार राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धन सबै प्रदेशमा अगाडि छ । प्रदेश १ मा भने गठबन्धन र एमालेको मतभार थोरै मात्रै फरक छ । 

पाँचदलीय सत्तागठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । यसबाहेक राष्ट्रिय सभा निर्वाचनमा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पनि छन् । मधेस प्रदेशमा एमाले र लोसपाबीच तालमेल भएको छ । 

सत्तागठबन्धनमा रहेका दलहरूले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने आठ सिटमा भागबन्डा गरेका छन् । आगामी २० फागुनमा एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुँदै छ । 

रिक्त १९ सिटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त भएको त्यो सिटमा सोही पार्टीलाई उम्मेदवारी दिने गठबन्धनबीच सहमतिअनुसार उम्मेदवारी परेको छ । एमालेसँग भएका आठ सिटमा भने कांग्रेसलाई तीन, जनता समाजवादी पार्टी नेपाललाई दुई तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई एक–एक सिट बाँडेर उम्मेदवारी दिएका छन् । गठबन्धनले एमालेलाई आफ्ना आठ सिट जोगाउन कठिन बनाइदिएको छ । 

सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार निर्वाचन हुन लागेको हो । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् । १९ सिटका लागि हुने निर्वाचनमा नौ दलका ४३ उम्मेदवार मैदानमा छन् ।