१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७८ माघ ११ मंगलबार ०६:२०:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वर्षको अन्तिमतिर कोभिड महामारी सकिने विश्वास

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ माघ ११ मंगलबार ०६:२०:००

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपमा कोरोना महामारी अन्त्यतिरउन्मुख भएको विश्वास गर्न सकिने देखिएको बताएको छ । युरोपमा एकैपटक फैलिएको संक्रमण छोटो समयमै ओरालो लागेको र डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन कम घातक पाइएकाले महामारी नै अन्तिमतिर पुगेको विश्वास गरिएको छ ।

डब्लुएचओका युरोप निर्देशक ह्यान्स क्लगले खोपको उच्चतम प्रयोग र प्रतिरोधी क्षमताको विकासका कारण यो वर्षको अन्तिमसम्म कोभिड महामारी अन्त्यतिर जान सक्ने विश्वास व्यक्त गरेका छन् । भाइरसले रुप बदल्न सक्ने भएकाले सर्तक हुनुपर्ने उनको भनाई छ । 

‘हामी आशा गर्छौं कि कोभिड–१९ वर्षको अन्त्यमा फिर्ता आउनु अघि शान्त अवधि हुनेछ, तर महामारी फिर्ता आउन आवश्यक छैन’, निर्देशक ह्यान्स क्लगले भनेका छन्, ‘भाइरसले (हामीलाई) एक पटक भन्दा बढी छक्क पारेको छ त्यसैले हामी धेरै होसियार हुनुपर्दछ ।’ ओमिक्रोन यति व्यापक रूपमा फैलिएपछि, अन्य भेरियन्टहरू अझै पनि देखा पर्न सक्ने उनको भनाई छ । युरोपमा मार्चको अन्तिमसम्म कुल जनसंख्याको करिब ६० प्रतिशतमा संक्रमण भइसक्ने डब्लुएचओको आकलन छ ।

वरिष्ठ अमेरिकी वैज्ञानिक एन्थोनी फौसीले अमेरिकामा पनि संक्रमणदर बिस्तारै घट्दै गएको र केही समयको अन्तरालमै सामान्य अवस्थामा आउने आशा व्यक्त गरेका छन् । ओमिक्रोनको पहिले भेटिएको दक्षिण अफ्रिकामा समेत संक्रमण घट्दै गएको छ । 

ओमिक्रोनको प्रभुत्व बढ्दै गएका स्थानमा पहिलोपटक मृत्युदर घट्दै गइरहेको भन्दै विज्ञहरूले महामारी अन्यतिर पुगेको आशा गर्न सकिने बताएका हुन् । अमेरिकी वैज्ञानिक एन्थोनी फौसीले भनेका छन्, ‘अमेरिका र युरोपका केही देशमा संक्रमण घट्दै जाने हो भने केही समयमै अन्य देशमा पनि अवश्य परिवर्तन देखिनेछ ।’

फ्रान्समा यो साताको दैनिक औसत संक्रमणदर साढे तीन लाखभन्दा बढी छ । जोन हप्किन्स विश्वविद्यालयको विवरणअनुसार आइतबार फ्रान्समा तीन लाख एक हजार ६ सय १४ जनामा संक्रमण देखिएको थियो । अक्टोबर दोस्रो सातायता संक्रमण निरन्तर बढ्दै गइरहेको छ । 

नियमित उतारचढाव आइरहेको रुसमा पनि दुई सातादेखि संक्रमणदर पुनः उकालो लागेको छ । जनवरीको पहिलो साता दैनिक १६ हजारमा झरेको संक्रमण हाल दैनिक ६२ हजार नाघेको छ । 

इटालीमा संक्रमणदर नियमित बढिरहेको छ । वल्र्डोमिटरअनुसार आइतबार एक लाख ४२ हजार चार सय ८७ जनामा संक्रमण देखिएको छ । यो साता इटालीमा औसत संक्रमणदरसमेत एक लाख ७३ हजारभन्दा बढी छ । जोन हप्किन्स विश्वविद्यालयको विवरणअनुसार जर्मनीमा पनि यो साताको औसत संक्रमणदर एक लाख सात हजारभन्दा बढी छ । 

बेलायतमा भने जनवरी दोस्रो साताको सुरुवातदेखि संक्रमणदर ओरालो लागेको छ । बेलायतमा ६ जनवरीमा एकैदिन एक लाख ८० हजारभन्दा बढी संक्रमण पुष्टि भएको थियो । आइतबार संक्रमणदर ७४ हजार आठ सयमा झरेको छ । 

स्पेनमा साताको औसत संक्रमणदर एक लाख ४२ हजारभन्दा बढी छ । युरोपका केही देशहरूबाहेक अधिकांशमा संक्रमणदर बढ्ने क्रममै रहे पनि केही समयपछि आफैँ घट्दै जाने अनुमान गरिएको छ । ओमिक्रोन बढ्दै गए पनि गम्भीर नदेखिएकाले यसलाई महामारीको अन्त्यको सूचकका रूपमा विश्लेषण गर्न थालिएको हो ।

युरोपियन देशहरूमा कुल जनसंख्याको ६७ प्रतिशत जनसंख्याले कोभिडविरुद्धको खोप लगाएका छन् । जसमध्ये ६३ प्रतिशतले खोपको पूर्ण डोज लगाएको तथ्यांक छ । खोपको बुस्टर डोजसमेत लगाउन सुरु गरिसकेका कारण अस्पतालमा गम्भीर बिरामीको भिड घट्दै गएको अस्पतालहरूले जनाएका छन् । 

नेपालमा संक्रमणदर ४९.८ प्रतिशत
चिकित्सकहरू भन्छन्– खोपको प्रयोग, अत्यधिक संक्रमणले नै बिस्तारै महामारी अन्त्यतिर गइरहेको सत्य हो 

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्– 

अधिकांश मानिसमा एकपटक संक्रमण भइसकेपछि भाइरस कमजोर बन्दै जानु स्वाभाविक हो । कुनै समय तहल्का मच्चाएका स्वाइनफ्लु, हङकङ फ्लुको उदाहरण लिन सकिन्छ, जुन अहिले नियन्त्रणमा छन् । म्युटेसन आफैँमा खराब होइन र अर्को भेरियन्ट आउँदैमा खोपको प्रभाव शून्य हुन्छ भन्ने हुँदैन । खोपको प्रयोग, अत्यधिक संक्रमणले नै बिस्तारै महामारी अन्त्यतिर गइरहेको सत्य हो ।

नेपालमा कोरोना संक्रमणदर ४९.८ प्रतिशत छ । पछिल्लो २४ घन्टामा गरिएको परीक्षणको आधारमा देशभर संक्रमणदर ४९.८ प्रतिशत देखिएको हो । आइतबार ३७ प्रतिशतमा झरेको कोभिड दैनिक संक्रमण सोमबार बढेको छ । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सोमबार देशभर २१ हजार दुई सय एकजनामा परीक्षण गर्दा १० हजार तीन सय १९ संक्रमित थपिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ८२ हजार पाँच सय ५० पुगेको छ । सोही अवधिमा दुई हजार पाँच सय ४० जना निको भएका छन् । कोरोना संक्रमणबाट थप चारजनाले ज्यान गुमाएका छन् ।

पछिल्ला भेरियन्टको तुलनामा ओमिक्रोन कम घातक भएको पुष्टि भइसकेकाले संक्रममण बिस्तारै कमजोर हुँदै गएको चिकित्सकहरू बताउँछन् । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोभिडको तेस्रो लहर कमजोर हुनुमा संक्रमण बढे पनि प्रतिरोधी क्षमता कम हुनु र टी सेलहरू सक्रिय हुनु रहेको बताए । 

‘अधिकांश मानिसमा एकपटक संक्रमण भइसकेपछि भाइरस कमजोर बन्दै जानु स्वाभाविक हो । कुनै समय तहल्का मच्चाएका स्वाइनफ्लु, हङकङ फ्लुको उदाहरण लिन सकिन्छ, जुन अहिले नियन्त्रणमा छन् । म्युटेसन आफैँमा खराब होइन र अर्को भेरियन्ट आउँदैमा खोपको प्रभाव शून्य हुन्छ भन्ने हुँदैन । खोपको प्रयोग, अत्यधिक संक्रमणले नै बिस्तारै महामारी अन्त्यतिर गइरहेको सत्य हो,’ उनले भने ।नेपालमा हालसम्म लक्षित जनसंख्याको ८१.८ प्रतिशतले खोपको एक मात्रा र ६५.१ प्रतिशतमा खोपको पूर्ण मात्रा लगाएका छन् ।