१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ माघ ९ आइतबार १३:१०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीयको विरोधपछि लुदीखोलाघाट क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन रोकियो

Read Time : > 1 मिनेट
२०७८ माघ ९ आइतबार १३:१०:००

गोरखा नगरपालिका– १३ अँबुवास्थित दरौँदी नदीको लुदीखोलाघाटमा भइरहेको नदीजन्य पदार्थको अवैध उत्खननलाई लिएर स्थानीयले विरोध गरेपछि उत्खनन रोकिएको छ । बिहीबार मृतकको अन्तिम दाहसंस्कार गर्ने घाटमा नै पुगेर अवैध रूपमा नदीजन्य सामग्री अनियन्त्रित रूपमा उत्खनन गरिएको भन्दै स्थानीयले विरोध जनाएपछि उत्खनन कार्य रोकिएको हो । 

गोरखा नगरपालिका– १२ र १३ स्थित दराैँदी र लुदीखोलाको संगमस्थलमा रहेको मसानघाट क्षेत्रमा नगरपालिकाको स्वीकृतीमा मनोकामना गुरुङ निर्माण सेवाले नदीजन्य सामग्रीको उत्खनन गर्दै आएको थियो । तर, ठेक्का लिएको सो कम्पनीले दाहसंस्कार गर्ने घाटमा क्षति पुग्ने गरी उत्खनन गरेपछि विरोधमा उत्रिनुपरेको गोरखा नगरपालिका– १३ अँबुवा कर्मसिङ टोल विकास संस्थाका अध्यक्ष किसान उप्रेतीले बताए । नदीजन्य पदार्थको अवैध दोहन रोक्न स्थानीयले पटकपटक अनुरोध गरे पनि नगरपालिकाले बेवास्ता गरी अवैध रूपमा उत्खनन गर्न दिएको र अहिले स्थानीयले विरोध गरेपछि रोकिएको उनको भनाइ छ । ‘घाट क्षेत्रमा उत्खनन गर्न पाइँदैन भनेर सुरुदेखि नै हामीले विरोध गर्दै आएका थियौँ,’ उनले भने, ‘तर, नगरपालिका र ठेकेदार कम्पनीले पनि वास्ता गरेनन्, नगरपालिका कार्यालयले पनि नसुनेझैँ गरी उत्खनन गर्न दिइरह्याे,’ उप्रेतीले भने, ‘घाट नै ध्वस्त हुने गरी दोहन हुन थालेपछि अब त अति नै भयो भनेर हामी सबै विरोधमा उत्रिएका हौँ । बल्लतल्ल अहिले घाट क्षेत्रमा अवैध दोहन रोकिएको छ ।’ 

नगरपालिकाले खटाएको प्राविधिकलाई अवैध रूपमा उत्खनन गर्दा पनि किन नरोकेको भनेर सोध्दा कर उठाउन उत्खनन गर्न दिएको भन्दै प्राविधिकहरू पन्छिने प्रयास गरेका उप्रेतीले बताए । तर, नगरपालिकाले भने घाटको दोहन नभई संरक्षण गर्नु नगरपालिकाको कर्तव्य भएको जनाएको छ । ‘हामीले घाटको दोहन होइन, संरक्षण गर्नुपर्छ । तर, ठेकेदार कम्पनीले भूलवश घाटमा उत्खनन गरेछ,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  दिनेशराज पन्तले भने, ‘स्थानीयवासीले विरोध गरेपछि मात्र हामीलाई जानकारी भयो । जानकारी पाउनासाथ हामीले काम रोक्का गर्न निर्देशन दिएका छौँ ।’ आवश्यक परेमा सो घाटको मर्मतसम्भार गर्न नगरपालिका कार्यालय तयार रहेको पनि उनले बताए ।

ढुंगा, गिटी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड– २०७७ मा उत्खनन गर्दा सडक, वन, खोलानालाको किनारा, घाट, पुललाई कुनै हानि–नोक्सानी गर्न नमिल्ने उल्लेख छ । त्यस्तै, नगरपालिकाले निर्माण गरेको ‘प्रारम्भिक वातावरणीय परीक्षण’ (आइइई) मा पनि सो कुरा उल्लेख छ । तर, ठेकेदार कम्पनीले मापदण्डलाई लत्याउँदै घाट क्षेत्रमा जेसिभीको प्रयोग गरी उत्खनन गर्दै आइरहेका थिए । सो कम्पनीलाई नगरपालिका कार्यालयले एक हजार नौ सय ५० घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न गत पुस २० गते ठेक्का सम्झौता गरेको थियो । 

घाट क्षेत्रमा अवैध उत्खनन पूर्ण रूपमा बन्देज लगाउन वडा कार्यालयको अनुरोध

स्थानीयवासीले विरोध गरेपछि वडा नं. १३ को कार्यालयले पनि घाटमा उत्खनन गर्न पूर्ण रूपमा बन्देज लगाउन आग्रह गरेको छ । शुक्रबार वडा कार्यालयले गोरखा नगरपालिका कार्यालयलाई पत्र लेख्दै सो क्षेत्रमा नदीजनय पदार्थ उत्खनन, संकलन र बिक्री–वितरणलाई बन्देज लगाउन भनेको छ ।

गोरखा नगरपालिका– १३ अन्तर्गत लुदीखोला दोभानघाट क्षेत्रमा भइरहेको नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) को उत्खनन, संकलनले अँबुवा कर्मसिंह टोल, वनदेवी सामुदायिक वन क्षेत्र, दरौदी मोटरेबल पुललगायतलाई जोखिम पार्ने हुँदा उक्त क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री–वितरणलाई पूर्ण रूपमा बन्देज लगाउनुपर्ने सो पत्रमा उल्लेख गरिएको छ । 

यस अघि अँबुवा कर्मसिंह टोल विकास संस्थाको वैठकले सो क्षेत्रको दराैँदी नदी किनारमा नदीजनय पदार्थ उत्खनन र संकलन कार्य बन्द गराउने निर्णय गरेको थियो ।