१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १o:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अवैध उत्खनन गरिरहेको अवस्थामा जेसिबी र टिपर नियन्त्रणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:३१:oo

सिराहाको नरहा गाउँपालिका– ३ चोहर्वामा सार्वजनिक जग्गाबाट अवैध रूपले ढुंगा, गिटी, ग्राभेल उत्खनन गरिरहेको अवस्थामा वन कर्मचारीको टोलीले एक–एक थान जेसिबी र टिपर नियन्त्रणमा लिएको छ । चोहर्वास्थित सबडिभिजन वन कार्यालयको गस्ती टोलीले सैनिक क्याम्पपछाडिको चुरे वन क्षेत्रबाट बा.५प १८६७ नम्बरको टिपर र नम्बर नरहेको जेसिबी बुधबार बिहान नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा सबडिभिजनका वन अधिकृत मनोजकुमार कर्ण नेतृत्वको टोलीले उत्खननमा प्रयोग गरिएको टिपर र जेसिबी नियन्त्रणमा लिएको डिभिजन वन प्रमुख सुजितकुमार झाले जानकारी दिए ।

उनका अनुसार वन कर्मचारीको टोली देखेपछि जंगल क्षेत्रमा फरार भएका दुवै चालकको खोजी भइरहेको छ । टिपर र जेसिबीचालक फरार भए पनि अवैध उत्खननमा प्रयोग गरिएका साधन स्थानीय ग्राभेल व्यवसायी रामबाबु यादवको रहेको बुझिएको छ । वनले फरार चालकको टिपर र जेसिबी अहिलेसम्म कसैले पनि दाबी गर्न नआएको जनाएको छ । नियन्त्रणमा लिएको दुवै सवारीसाधन चोहर्वा सबडिभिजनमा राखिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ । 

प्रहरी प्रशासनको मिलेमतोमा उत्खनन
सैनिक क्याम्पपछाडिको वन क्षेत्र, सामुदायिक विद्यालय, पूर्व–पश्चिम लोकमार्गको दक्षिणपट्टिको बुट्यान क्षेत्रबाट वर्षौँदेखि विना दर्ता निर्वाध रूपमा प्रहरी प्रशासनकै मिलेमतोमा अवैध उत्खनन हुँदै आएको स्थानीय बासिन्दाको आरोप छ । स्थानीयको दबाबपछि वेलाबखत केही टिपर र जेसिबी नियन्त्रणमा लिइने भए पनि सामान्य राजस्व बुझाएर छुट्ने र पुनः अवैध उत्खननमा संलग्न हुने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले बताए ।

‘विद्यालय क्षेत्रकै वरपर गैरकानुनी रूपमा ढुंगा, गिटी, ग्राभेल उत्खनन भइरहँदासमेत स्थानीय प्रहरी मौन रहनु सेटिङबाहेक केही हुन सक्दैन,’ उनले भने । विद्यालयवरपरको क्षेत्रमा अवैध उत्खनन रोक्न पटकपटक जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी गर्दासमेत  नरोकिएको उनीहरूको गुनासो छ । प्रायः २४ सै घण्टा प्रहरी रहने चोहर्वा क्षेत्रबाट उत्खनन गरिएको ढुंगा, गिटी, ग्राभेल बोकेका दर्जनौँ टिपर, ट्रक हिँड्ने भए पनि प्रहरीले आँखा चिम्लिने गरेको स्थानीयको गुनासो छ । 
 

ad
ad