१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
उद्घाटन खेलमा गोलका लागि प्रयास गर्दै एपिएफ र सहारा क्लबका खेलाडी ।
२०७८ माघ ७ शुक्रबार ०७:५९:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आहा रारा गोल्डकप फुटबल सुरु : उद्घाटन खेलबाटै एपिएफको विजयी सुरुवात

प्रतियोगितामा एक विदेशीसहित १० टिम सहभागी छन्, विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् 

Read Time : > 2 मिनेट
२०७८ माघ ७ शुक्रबार ०७:५९:००

आजको खेल : हिमालयन शेर्पा र नेपाल पुलिस क्लब 

सशस्त्र प्रहरीको विभागीय टिम एफिएफ क्लबले २०औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालामा बिहीबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलअन्तरले पछि पार्दै एपिएफले प्रतियोगिताका सुखद् सुरुवात गरेको हो । जितसँगै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको एफिएफले सेमिफाइनल प्रवेशका लागि शनिबार हुने खेलमा पाहुना टोली अमेरिकाको बिवाइएससी मिनेसोटासँग प्रतिस्पर्धा गर्नेछ ।

यो प्रतियोगिता हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको प्रायोजनमा भएको हो । यसअघिका दुई उद्घाटन खेलमा पनि सहारा र एपिएफबीच भिडन्त भएको थियो । तीनैपटकको भेटमा एपिएफले जित हात पारेको छ । एपिएफसँग १७औँ संस्करणमा सडनडेथमा र १९औँ संस्करणमा १–० गोलले सहारा पराजित भएको थियो । आजको खेलमा एपिएफले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गरी दुई गोल गरेको थियो । 

१४औँ मिनेटमै एपिएफको पहिलो गोल
खेलको १४औँ मिनेटमा एपिएफका लागि आवास लामिछानेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । अर्मान्ड बेडाउनले दिएको पासलाई आवासले पुनः नवीन लामालाई दिएका थिए । लामाले पेनाल्टी क्षेत्रभित्र आवासलाई पुनः दिएको पास उपयोग गर्दै सेकेन्ड बार च्याप्दै हानेको बलले जाली चुमेको थियो । यसैगरी खेलको ६०औँ मिनेटमा टोलीको अग्रता दोब्बर पार्ने क्रममा प्रदीप लामाले गोल गरेका थिए । रवि थिङले दिएको क्रस पास आफ्नो नियन्त्रणमा लिँदै हानेको बलले पोस्टको सही दिशा लिन सफल भएको थियो ।

खेलको सुरुदेखि नै एपिएफ हाबी भएको थियो । एपिएफको टिमको अघि सेट हुन नपाएको सहाराको टोली केही कमजोर देखिएको थियो । खेल सुरु हुनु दुई दिनअघि मात्र सहाराले आफ्नो टिममा रहने खेलाडी छिनोफानो गरेको थियो । जसका कारण टिम राम्रोसँग सेट हुन पाएको थिएन जसको फाइदा एपिएफले लिएको छ । 

यसअघि खेल सुरु भएको पाँच मिनेटमा एपिएफका प्रदीप लामा टोलीलाई अग्रता दिलाउनबाट चुकेका थिए । उनले हानेको उत्कृष्ट प्रहार सहाराका विदेशी खेलाडी पिटर सेगुनले क्लियर गरेका थिए । 

२२औँ मिनेटमा विकी तामाङले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार अकासिँदा एपिएफले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । २४औँ मिनेटमा सहाराका जीवन रायमाझीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी गोल गर्न चुके । ३१औँ मिनेटमा शुशील लामाले हानेको हेड प्रहार विपक्षी गोलरक्षक अभिषेक बरालले क्लिएर गरेका थिए । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा कप्तान मानबहादुर तामाङको फ्री–किकलाई एपिएफका गोलरक्षक युया कुरियामाले क्लिएर गर्न सकेनन् ।

खेलको ५३औँ मिनेटमा अर्मान्डको हेड क्रसबारमा लाग्दै बाहिरिँदा एपिएफ पुनः अग्रता दोब्बर बनाउनबाट चुकेको थियो । ५६औँ मिनेटमा प्रदीप लामाको हेड सहाराका किपरले पञ्च गर्दै विफल पारिदिएका थिए । ६४औँ मिनेटमा अर्मान्डको प्रहार पोलमा लागेर फर्किएको थियो । ८०औँ मिनेटमा नवीन लामाले हानेको प्रहार सहाराका कप्तानले हेड गर्दै विफल पारिदिएका थिए ।

राम्रोसँग अभ्यास गर्ने समय भएन : प्रलाद हिराचन, प्रशिक्षक, सहारा
हाम्रो टिम राम्रोसँग सेट हुन पाएन, जसका कारण योजनाअनुसार खेल्न सकिएन । खेल हुनुभन्दा एक दिनअघि मात्रै टोलीमा सहभागी हुने दुई विदेशी खेलाडी फिक्स भए । टोलीमा राम्रा खेलाडीलाई आबद्ध गराए पनि टिम सेटका लागि राम्रोसँग अभ्यास गर्ने समय भएन । खेलाडीहरुमा राम्रो तालमेल हुन नसक्दा पराजित भयौँ । दर्शक नहुँदा त्यसको केही असरसमेत टोलीलाई पर्‍यो । 

यसपटक उपाधि हामी नै उचाल्छौँ : कुमार थापा, प्रशिक्षक, एपिएफ
सहाराको टिम सेट टिम नभएका कारण प्रत्यक्ष फाइदा लियौँ । हामीले अझै केही थप गोल गर्नुपर्ने हो गर्न सकेनौँ । विदेशी खेलाडीसहित मोफसलमा पहिलोपटक खेल्यौँ । नतिजासमेत राम्रो आयो, हामी उत्साहित छौँ, लाग्छ यसपटक उपाधि उचाल्छौँ । 

विष्टलाई उत्कृष्ट वर्ष खेलाडी सम्मान 

उद्घाटन समारोहमा नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई उत्कृष्ट वर्ष खेलाडीबाट सम्मान गरिएको थियो । आयोजक सहाराले प्रतियोगिता उद्घाटनका दिन फुटबल विकासमा राष्ट्रिय टोलीबाट योगदान पुर्‍याउने एक खेलाडीलाई सम्मान गर्दै आएको छ । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नगद ३५ हजारसहित सम्मानपत्र र दोसल्लाले विष्टलाई सम्मान गरेका थिए । 

प्रतियोगितामा एक विदेशीसहित १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार नगदसहित सिल्ड, मेडल र प्रमाण–पत्र पुरस्कार पाउनेछन् ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटरसँगै बेस्ट अफ फाइफ विधातर्फ उत्कृष्ट हुनेले नगद २५ हजारसँगै ट्रफी र प्रमाण–पत्र पाउने आयोजक क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।