शुक्रबहादुरले जिते सूर्य नेपाल सेन्ट्रल ओपन

शनिबार, १ माघ, २०७८
डिजिटल संस्करण

प्रतियोगिताको सुरुदेखि नै अग्रता लिएका शुक्रबहादुरले दोस्रो स्थानका रवि राईविरुद्ध एक स्ट्रोक दूरी राख्दै उपाधि हात पारे

पहिलो दिनदेखि अग्रता लिँदै शुक्रबहादुर राईले शुक्रबार सूर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल गल्फ ओपनको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा प्रतियोगिताको अन्तिम दिन शुक्रबहादुरले १० अन्डर दुई सय ७८ स्कोर गर्दै उपाधि हात पारेका हुन् । दोस्रो स्थानमा रवि खड्का रहेका छन् । उनले समग्रमा नौ अन्डर दुई सय ७९ स्कोर गरे । शुक्रबहादुरले रविमाथि एक स्ट्रोकको अग्रता लिँदै उपाधिमाथि कब्जा जमाउन सफल भए । 

प्रतियोगितामा भुवन नगरकोटी तेस्रो स्थानमा रहँदा ६ अन्डर दुई सय ८२ कोर गरेका थिए । उनले शुक्रबार इभन पार खेलेका थिए । उपाधिसँगै शुक्रबहादुरले एक लाख ३५ हजार तथा उपविजेता रविले ८८ हजार रुपैयाँ पाएका छन् । तेस्रो स्थानमा रहेका भुवनले ६५ हजार रुपैयाँ पाए । यता एमेच्योतर्फको उपाधि १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका दोहोरो स्वर्णपदक विजेता सुवास तामाङले जितेका छन् । 

सुवासले चार अन्डर दुई सय ८४ स्कोर गरी उपाधि हात पारेका हुन् । अन्तिम दिनमा उनले इभन पार खेले । एमेच्योरतर्फ सद्भव आचार्य दोस्रो स्थानमा रहे । उनले समग्रमा तीन ओभर ७५ को स्कोर गरेका थिए । व्यावसायिकतर्फ चौथो स्थानमा रहेका रामे मगरले एक ओभर दुई सय ८९ स्कोर गरेका थिए । उनले ५३ हजार पाँच सय रुपैयाँ पाए । यसैगरी निरज तामाङ पाँचौँ स्थानमा रहँदा चार ओभर दुई सय ९२ स्कोर गरेका थिए । उनले ४५ हजार रुपैयाँ पाए । जयराम श्रेष्ठ व्यावसायिकतर्फ छैटौँ स्थानमा सीमित भएका छन् ।

उनले नौ ओभर दुई सय ९७ स्कोर गरेका थिए । सातौँ स्थानमा बलभद्र राई र सञ्जय लामा रहेका छन् । सूर्यप्रसाद शर्मा नवौँ र धनबहादुर थापा दशौँ स्थानमा रहेका छन् । प्रतियोगिताको अन्तिम दिनमा शुक्रबहादुरले रवि र भुवनविरुद्ध ६ स्ट्रोकको अग्रता लिएका थिए । तेस्रो राउन्डमा भुवनले बल सही स्थानमा नराख्दा एक पेनाल्टीको सामना गरे । रविले पहिलो, तेस्रो, छैटौँ र सातौँ होलमा बर्डिज निकाल्न सफल भए ।

अन्तिमको नवौँ होलमा शुक्रबहादुर र रविबीच केवल तीन स्ट्रोकको अन्तर थियो । प्रतियोगितामा कुल ५८ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । जसमा ३९ प्रो तथा १९ एमेच्योर खेलाडी थिए । 

See More On

सुझावित समाचार