Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७८ पौष २८ बुधबार ०६:३१:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रपति र पूर्वराजाले नै मिचे कोरोना प्रोटोकल

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ पौष २८ बुधबार ०६:३१:००

सिसिएमसिसीदेखि उपत्यकाका सिडिओहरूसम्मले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएका छन्, तर सिंहदरबार गेटमै राष्ट्रपतिदेखि पूर्वराजासम्मले स्वास्थ्य मापदण्डको धज्जी उडाउँदै भिड जम्मा गरेका छन्, जब कि कुल संक्रमितको आधाभन्दा धेरै काठमाडौं उपत्यकामै छन्

महामारीको बेवास्ता गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीजयन्तीको अवसरमा सिंहदरबारअगाडिको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न गए, उनका वरिपरि सयौँको भिड थियो । तस्बिर : प्रदीपराज वन्त/रासस

राष्ट्रपति विद्या भण्डारीलाई पनि स्वास्थ्य मापदण्डले छेकेन । पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाँदा उनको सवारीले बाटोमा जाम भयो, भिड बढ्यो । तस्बिर : संजित परियार/नयाँ पत्रिका

कोरोनाको तेस्रो लहरबाट जोगिन सरकारले सोमबारबाट २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको छ । तर, २४ घन्टा नबित्दै देशका उच्चपदस्थ व्यक्तिबाटै सिंहदबार गेटमै सरकारी निर्णयको अवज्ञा भएको छ । जब कि सोमबारको तुलनामा मंगलबार संक्रमण करिब ८० प्रतिशतले वृद्धि भएको छ । मंगलबार दुई हजार चार सय ४४ मा कोरोना संक्रमण पुष्टि भएको छ । अझ त्योभन्दा डरलाग्दो त कुल संक्रमितमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकामा छन् । 

सरुवारोगविज्ञ डा. शेरबहादुर पुन भन्छन्–संक्रमण केही साता निरन्तर बढ्ने देखिन्छ

संख्यात्मक रूपमा कोरोनाको अर्को लहर आइसकेको छ । भारतमा संक्रमणको ट्रेन्ड हेर्दा नेपालमा पनि केही सातासम्म निरन्तर बढ्ने देखिन्छ । तर, विश्वको अवस्था हेर्दा अस्पताल भर्नादर र मृत्युदर न्यून हुने अनुमान गर्न सकिन्छ । 

कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)ले आइतबार तीव्र गतिमा बढ्दै गएको संक्रमणप्रति सचेतना अपनाउन १३ बुँदे निर्देशनात्मक प्रस्ताव सरकारलाई गरेको थियो । त्यसको लगत्तै सोमबार गृह मन्त्रालयले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको थियो । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका सिडिओहरूले पनि त्यही निर्देशन जारी गरेका छन् । 

तर, मंगलबार पृथ्वीनारायण शाहको जन्मजयन्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मले भिड जम्मा गरेका छन् । सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न उनीहरू पुग्दा ठूलो भिड जम्मा भएको थियो । 

राष्ट्रपति सुरक्षाकर्मी मात्र लिएर गए पनि कार्यक्रमस्थलवरिपरि सर्वसाधारणको भिड थियो । विगतका वर्षहरूमा राष्ट्रपति यसरी नजाने गरे पनि कोरोनाकै समयमा भने यस्तो कार्यक्रममा जानुलाई सुरक्षाकर्मीले समेत अनौठो मानेका छन् । मंगलबार नै राष्ट्रपति भण्डारीले चन्द्रागिरि नगरपालिका– १ स्थित दहचोकमा रहेको काजी कालु पाँडेको सालिकमा पुष्पहार अर्पण गरेकी थिइन् ।

राष्ट्रपतिले अपराह्न ट्विट गर्दै राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा कार्यक्रम मिलाएकामा नेपालका विभिन्न प्रज्ञा–प्रतिष्ठान, स्थानीय तह, नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई पनि धन्यवाद दिएकी छिन् । ३००औँ पृथ्वी जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी पुगेकी थिइन् । त्यसअघि कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानबाट सांस्कृतिक झाँकीसहित शोभायात्रा राजधानीको विभिन्न भाग परिक्रमा गरी सिंहदरबारको पश्चिम मूलढोकामा आइपुगेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित हुँदा त उनका समर्थकको ठूलो भिड नै थियो । त्यस्तै, राप्रपाका नेता तथा कार्यकर्ता नारा–जुलुससहित त्यहाँ पुग्दा पनि प्रशासनले आफ्नै निर्णय कार्यान्वयन गराउन सकेन । 

कोभिड– १९ संकट व्यवस्थापन समन्वय समिति (सिसिएमसी) को सिफारिसअनुसार गृह मन्त्रालयले सोमबार नै यससम्बन्धी निर्णय गरी ७७ जिल्लालाई नै परिपत्र गरेको थियो । सोहीअनुसार उपत्यकाका तीनवटै प्रशासन कार्यालय (काठमाडौं, ललितपुर र भक्तपुर)ले १८ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका थिए । 

तीनवटै प्रशासन कार्यालयका प्रमुख तथा सुरक्षा अधिकारीको मंगलबार बसेको बैठकले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेको थियो । आदेश उल्लंघन गर्नेविरुद्ध कारबाही गरिने चेतावनीसमेत छ । प्रशासनको आदेशको बुँदा नम्बर ४ मा ‘२५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सव एवं सामाजिकलगायतका काम नगर्ने, नगराउने’ भनिएको छ । तर, आदेश जारी भएकै दिन उच्चपदस्थ व्यक्तिहरूले नै यसको उल्लंघन गरे ।

गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले कोरोनासम्बन्धी नियमको पालना गर्ने जिम्मेवारी सबैको भएको बताए । यस्तो आदेश उल्लंघन गर्नेलाई संक्रमण रोग ऐन, २०२० अनुसार जरिवाना गर्न सक्ने अधिकारसमेत सिडिओलाई छ । 

प्रशासन कार्यालयद्वारा जारी सूचनामा आदेशानुसार घरबाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न उपत्यकावासीमा आह्वान गरिएको छ ।

निर्देशनमा राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न तथा सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरैजना उपस्थित हुने गरी कार्यक्रम गर्न रोक लगाइएको छ । अत्यावश्यक तथा नियमित कार्यका लागि स्थानीय प्रशासनको अनुमति आवश्यक पर्ने बताइएको छ । 

आदेशमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, सार्वजनिक स्थान (होटेल, रेस्टुरेन्ट, सिनेमाहल, रंगशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी ७ माघदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राखेको हुनुपर्ने उल्लेख छ । ७ माघदेखि सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड लगाएको हुनुपर्ने गरी आदेश जारी भएको छ ।

सार्वजनिक सेवा प्रवाहमा चाप हुने कार्यालयमा भिडभाड नहुने उपयुक्त तरिका अपनाएर काम गर्न भनिएको छ । सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ । कोरोनासम्बन्धी आदेश प्रभावकारी पालना गराउन सुरक्षा निकायबाट आकस्मिक तथा नियमित अनुगमन गरिने जनाइएको छ ।