Skip This
एक वर्षमा दुई सय ४३ उद्योग दर्ता, दुई खर्ब ३९ अर्ब लगानी प्रतिबद्धता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नवीन अर्याल काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार o९:३o:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एक वर्षमा दुई सय ४३ उद्योग दर्ता, दुई खर्ब ३९ अर्ब लगानी प्रतिबद्धता

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o९:३o:oo

सन् २०२१ मा स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा एक खर्ब सात अर्ब बढ्यो 

कोभिड महामारीको कहर कम हुँदै गएपछि स्वदेशी तथा विदेशी लगानीकर्ता उत्साहित भएका छन् । सन् २०२१ मा उद्योग विभागमा दुई खर्ब ३९ अर्ब १६ करोड रुपैयाँ लगानी प्रस्तावका उद्योग दर्ता भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा एक खर्ब सात अर्ब रुपैयाँले बढी हो । सन् २०२० मा एक खर्ब ३२ अर्ब ३७ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएका उद्योग दर्ता भएका थिए । गत वर्ष स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता ४४.६५ प्रतिशतले बढेको विभागले जनाएको छ । 

सन् २०२१ मा लगानी प्रतिबद्धतासँगै उद्योगको दर्ता संख्या पनि बढेको छ । सन् २०२० मा एक सय ९३ उद्योग दर्ता भएकोमा गत वर्ष (सन् २०२१) दुई सय ४३ उद्योगहरू दर्ता भएको विभागको तथ्यांक छ । गत वर्ष कृषि तथा वन पैदावारमा आधारित २० परियोजना दर्ता हुँदा ऊर्जामूलक ३४, सूचना प्रविधिमा आधारित चार, पूर्वाधारका चार, उत्पादनमूलक उद्योग एक सय चार, सेवामूलक २९ र पर्यटनका ४९ उद्योग दर्ता भएका छन् । यी उद्योगहरूले १८ हजार दुई सय ५३ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।

सन् २०२० को सुरुवातदेखि नै विश्वभरि फैलिन थालेको कोभिड महामारीले नेपालमा मार्चदेखि प्रभाव देखाउन थालिसकेको थियो । २०२० को मार्चदेखि सेप्टेम्बरसम्म कोभिडको ठूलो त्रास कायम रहिरहँदा स्वदेशी तथा विदेशी लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा थिए । तर, सन् २०२१ तुलनात्मक रूपमा धेरै सुरक्षित रह्यो । कोभिडको दोस्रो लहरले २०२१ को मेदेखि जुलाईसम्म आक्रान्त रहे पनि त्यसपछि संक्रमण कम हुँदै गयो । नेपालसहित विश्वभरिको ठूलो जनसंख्याले कोभिडविरुद्धको खोप लगाउन थालेपछि आत्मविश्वास पनि बढ्दै गयो । यही कारण सन् २०२१ मा स्वदेश तथा विदेशका लगानीकर्ता उत्साहित बनेको विभागले जनाएको छ । 

यी हुन् ठूला परियोजना
सन् २०२१ मा जय भद्रकाली डेभलपर्स प्रालिले पोखरा महानगरपालिका–१८ मा अपार्टमेन्ट बनाउन एक अर्ब ५७ करोड रुपैयाँको परियोजना दर्ता गरेको छ । ताप्लेजुङको श्रीजंगामा २१.९३ मेगावाटको परियोजना बनाउन काबेली हाइड्रोपावरले चार अर्ब २७ करोड पुँजी भएको परियोजना दर्ता गरेको छ । यस्तै, बलेफी इनर्जी प्रालिले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ४० मेगावाटको जलविद्युत् परियोजना बनाउन पाँच अर्ब ८३ करोड कुल पुँजीको परियोजना दर्ता गरेको छ । रेमिट हाइड्रो प्रालिले ताप्लेजुङको फक्ताङलुङमा ७७.५ मेगावाटको जलविद्युत् परियोजना बनाउन १७ अर्ब ६२ करोड लगानी गर्ने प्रस्ताव गरेको छ । 

गुराँस हाइड्रोले संखुवासभाको सिलिचोङमा ४१.६ मेगावाटको परियोजना बनाउन पाँच अर्ब ९७ करोड र बन्दीपुर केबलकार प्रालिले तनहुँको आबुखैरेनीमा निर्माणाधीन केबलकार परियोजनामा एक अर्ब १६ करोड लगानी गर्ने भएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २० मेगावाटको परियोजना बनाउन अपरसेती हाइड्रो प्रालिले तीन अर्ब ६८ करोड रुपैयाँ लगानी गर्ने गरी परियोजना दर्ता गरेको छ । स्वर्णिम होटेल पोखरा प्रालिले पोखरामा एक अर्ब लगानीमा ९० कोठाको होटेल खोल्ने भएको छ । 

बुटवल पावर कम्पनीले मनाङमा ७.९ मेगावाटको जलविद्युत् आयोजना बनाउन एक अर्ब २९ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ । नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजले महोत्तरीको गौशालामा पेपर उद्योग सञ्चालन गर्न एक अर्ब २८ करोड रुपैयाँ प्रस्ताव गरेको छ । सिजी अटोमोटिभ्सले बारामा अटो एसेम्बल्ड प्लान्ट सञ्चालन गर्न एक अर्ब ३१ करोड रुपैयाँ लगानी गर्दै छ । कपिलवस्तुमा पाँच अर्ब ९० करोड रुपैयाँ लगानीमा गौरीशंकर सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ । ओखलढुंगामा पुवाखोला–१ हाइड्रो बनाउन तीन अर्ब ८१ करोड रुपैयाँ प्रस्ताव गरिएको छ । 

सिद्धिलक्ष्मीले नवलपरासीको रामग्राममा चामल, दाल तथा तेल उद्योग सञ्चालन गर्न दुई उद्योग दर्ता गरेको छ, जसमा कुल दुई अर्ब ८६ करोड लगानी गर्ने प्रस्ताव छ । सरस वेभरेजले धादिङको धुनिबेँसीमा दुई अर्ब लगानीमा जुस फ्याक्ट्री सञ्चालनमा ल्याउने भएको छ । 

ताप्लेजुङको मिक्वाखोलामा नौ मेगावाटको हाइड्रो बनाउन हिमाली हाइड्रो फन्डले एक अर्ब ९० करोड रुपैयाँ, वाटर इनर्जी सोलुसनले इलामको देउमाईमा हाइड्रो बनाउन एक अर्ब ६५ करोड रुपैयाँ, दोलखाको गौरीशंकरमा ६.२ मेगावाटको हाइड्रो परियोजना बनाउन कोप्लाङ इनर्जी हाइड्रोले एक अर्ब २९ करोड रुपैयाँ, मेन्छियम हाइड्रोपावरले संखुवासभाको चैनपुरमा ७.७ मेगावाटको आयोजना बनाउन एक अर्ब ३० करोड रुपैयाँ लगानी प्रस्ताव गरेका छन् ।

कालिकोटको तिलागुफामा २४.५ मेगावाटको आयोजना बनाउन रुरुगाड पावर कम्पनीले चार अर्ब ३८ करोड रुपैयाँ, रिभरसाइड हाइड्रो इनर्जीले ताप्लेजुङको फक्ताङलुङमा ३७.५ मेगावाटको आयोजना बनाउन पाँच अर्ब ९५ करोड रुपैयाँ, सीता हाइड्रोपावरले मनाङमा ६५ मेगावाटको दूधखोला आयोजना बनाउन १० अर्ब ४३ करोड, बुटवल पावर कम्पनीले मनाङमा १३९.२ मेगावाटको तल्लो मनाङ–मर्स्याङ्दी आयोजना बनाउन ३३ अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेका छन् । ब्राह्मायणी हाइड्रोपावर कम्पनीले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ३५.४७ मेगावाटको परियोजना बनाउन पाँच अर्ब ९५ करोड लगानी प्रस्ताव गरेको छ ।

एमएडब्लू अटो प्रालिले मोरङको टंकिसिनबारीमा एक अर्ब ५१ करोड रुपैयाँ लगानी गरेर मोटरसाइकल तथा स्कुटर एसेम्बल्ड प्लान्ट खोल्ने भएको छ । सूर्य नेपाल प्रालिले काठमाडौंको बूढानीलकण्ठमा ६ अर्ब लगानी गरेर एक सय ९० बेडको पाँचतारे होटेल बनाउँदै छ । हुलास इन्फ्राले पर्सामा एक अर्ब ५७ करोड लगानीमा निर्माण क्षेत्रमा आवश्यक सामग्री उत्पादन गर्ने उद्योग लगाउँदै छ ।

समेद्धि मेटालिक्स प्रालिले नवलपरासीको रामग्राम नगरपालिकामा वार्षिक दुई लाख २२ हजार टन एमएस बिलेट उत्पादनका लागि दुई अर्ब ६७ करोड ६३ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ । गोपीकृष्ण सेन्ट्रल कम्पलेक्स (जिकेसिसी)ले चाबहिलमा मल्टिप्लेक्स, सपिङ कम्पलेक्ससहितको पाँचतारे होटेल सञ्चालनका लागि उद्योग विभागमा दर्ता गरिसकेको छ । यो परियोजनामा करिब ६ अर्ब लगानी हुने जिकेसिसीका प्रबन्ध निर्देशक निरक पौडेलले बताएका छन् ।

ad
ad