१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतले दशगजा मिचेर ड्याम बनाएपछि रौतहटको बन्जराह गाउँमा समस्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:४५:oo

भारतले दशगजामा नियम मिचेर बाँध बनाएपछि रौतहटको एक गाउँका बासिन्दालाई आवतजावतमा समस्या भएको छ। ईशनाथ नगरपालिका– १ को बन्जराह गाउँका बासिन्दालाई भारतले बनाएको ड्यामले समस्या भएको हो। दशगजा क्षेत्रमा भारतले ड्याम बनाएपछि यस गाउँमा आपतकालीन अवस्थामा एम्बुलेन्ससमेत जाने अवस्था छैन।

बाँधको कारण वर्षातका वेला पानीको निकास नभएर गाउँ नै डुबानमा पर्ने गरेको छ। अन्य समयमा गाउँमा चारचक्के गाडीसमेत आउने अवस्था नरहेको सो वडाका वडा अध्यक्ष बिगु साहले बताए। भारतीय पक्षले बन्जराह क्षेत्रमा ड्याम (बाँध) बनाएपछि स्थानीयलाई गाउँमा एम्बुलेन्स लैजानसमेत समस्या रहेको साहको भनाइ छ। दशगजा मिचेर भारतले बाँध बनाएपछि बाँध बनाएको ठाउँबाट सवारीसाधन तल झार्न समस्या भएको हो।
 
गाउँमा विवाह भयो भने जन्तीको गाडी ड्याममा राखेर जन्ती हिँडेर गाउँमा आउनुपर्ने अवस्था रहेको स्थानीय ओमप्रकाश सिंहले बताए। भारतले दशगजामा ड्याम बनाउन थालेपछि स्थानीयले तत्कालीन प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई जानकारी गराएका थिए। भारतीय पक्षले पटकपटक बाँध निर्माणकार्य रोक्ने सहमति गरे पनि सहमतिविपरीत बन्जराह गाउँ डुब्ने गरी ड्याम बनाएको छ। दशगजा मिचेर ड्याम बनाए पनि नेपाल सरकारको पक्षबाट रोक्नेतर्फ कुनै पहल नहुँदा स्थानीयवासी समस्यामा परेका छन्।

स्थानीयका अनुसार धेरै पहिला खेतको आली मात्र रहेको सो स्थानमा भारतले करिब दश वर्ष अगाडिदेखि बाँध बनाउन सुरु गरेको हो। सुरुवातमा बाँध होचो भए पनि भारतले बर्सेनि बढाउँदै लाने गरेकाले बन्जराह गाउँ हरेक वर्ष डुबानमा पर्ने गरेको स्थानीय आलोककुमार सोनीले बताए। भारतले बनाएको ड्यामका कारण पानीको निकास नहुँदा बन्जराह गाउँमा धान खेतीसमेत हुन छाडेको भन्दै स्थानीय दुःखेसो गर्छन्।

लकडाउनको वेला भारतीय पक्षले बाँध साबिकको भन्दा पाँच फिट बढी अग्लो बनाएपछि बन्जराह गाउँमा दशगजाबाट गाडी छिर्न बन्द भएको हो। भारतीय पक्षले लकडाउनको मौका छोपेर पुनः बाँधको उचाइ बढाएको थियो। भारतीय पक्षले बनाएको बाँधको कारण वर्षाको पानीले निकास नपाउँदा बर्सेनि सो क्षेत्र डुबानमा पर्ने गरेको छ। बाँधकै कारण ईशनाथ नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ वर्षा हुँदा  पूर्ण रूपमा डुबान पर्ने गरेको छ।

ad
ad