१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
यम बम काठमाडाैं
२o८१ जेठ ५ शनिबार o६:२८:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

तीन वर्षयताकै उच्च डढेलो

Read Time : > 4 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:२८:oo

पछिल्ला चार महिनामा ५३५१ स्थानमा डढेलो, आगलागी र डढेलोका घटनामा ७६ जनाले ज्यान गुमाए, १२९७ घर खरानी भए

देशैभरका जंगल डढेलोको चपेटामा परेका छन् । नासाको मोडिज भूउपग्रहको तथ्यांकअनुसार पछिल्ला चार महिना (जनवरीदेखि ३ मेसम्म)मा पूर्व ताप्लेजुङदेखि पश्चिम कञ्चनपुरसम्मका पाँच हजार ३५१ ठाउँमा डढेलो लागेको छ, जुन पछिल्ला तीन वर्षयताकै धेरै हो । पछिल्लोपटक सन् २०२१ मा नेपाल डढेलोको यस्तै उच्च चपेटामा परेको थियो । 

जनवरीदेखि अप्रिल (१६ पुसदेखि १८ वैशाख)सम्म चार हजार ९४ स्थानमा डढेलो लागेको थियो । तर, मेको तीन दिनमै (बुधबारदेखि शुक्रबारसम्म) एक हजार २९७ स्थानमा डढेलो लागेको छ । यसअघि २०२१ मा ७५ जिल्लाका ६ हजार ७९९ ठाउँमा डढेलो लागेको थियो । तर, त्यसपछिका वर्षमा डढेलो घट्दै गएकोमा २०२४ मा उच्च भएको हो । २०२२ मा एक हजार ३३४ र २०२३ मा तीन हजार १७४ ठाउँमा डढेलो लागेको थियो । 

वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिव वाग्लेले पछिल्ला दुई वर्ष घटेको डढेलो यस वर्ष पानी नपर्दा क्रमशः बढिरहेको बताए । डढेलो अझै बढ्ने आकलन गरिएको छ । ‘चैतसम्म डढेलो कम थियो । त्यसपछि लगातार बढिरहेको छ । यसपटक लामो समय डढेलो लागेको छ,’ महानिर्देशक वाग्लेले भने, ‘तत्काल पानी परेन भने अझ धेरै ठाउँमा डढेलो लाग्न सक्छ ।’ 

नेपालमा हरेक तीन–चार वर्षको अन्तरालमा डढेलोले उच्च बिन्दु नाघ्ने गरेको छ । यसअघि २०२१ मा देशैभरका जंगलमा डढेलो लागेकोमा त्यसअघि २०१६ मा डढेलो उच्च थियो । महानिर्देशक वाग्लेका भनाइमा एकपटक डढेलो लागिसकेपछि त्यही ठाउँमा लगत्तै डढेलो फैलिने सम्भावना कम हुन्छ । त्यसपछिका दुई–तीन वर्ष पातपतिंगर, काठदाउरा थुप्रिँदै जाँदा आगो सल्किएमा ठूलो क्षेत्रमा डढेलो फैलन्छ । 

‘गाउँघर, पहाडमा मान्छे बस्थे । खेतीपाती गर्थे, गाईबस्तु पाल्थे । वर्षभरका लागि माघ, फागुनमा दाउरा संकलन हुन्थ्यो । मल हुन्छ भनेर गाईभैँसीलाई ओछ्याउन पातपतिंगर ल्याइन्थ्यो,’ महानिर्देशक वाग्लेले भने, ‘मान्छे पनि घटे । गाईभैँसी पनि पाल्न कम भयो । सुकेको काठदाउरा, पातपतिंगर जंगलमै थुप्रिएको छ । चुरोटको ठूटो फाले पनि सल्किएर वनभरि नै डढेलो फैलिने गरेको छ ।’

यसपटक डढेलोले कति वन क्षेत्र सखाप पार्‍यो भनेर यकिन तथ्यांक छैन । तर, बर्सेनि औसतमा दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । जसकारण काठदाउरा, बुट्यान जल्ने मात्र होइन, वन्यजन्तुको वासस्थानसमेत खलबलिने गरेको छ । वनमा लागेको डढेलो बस्ती पस्दा जीउधनको क्षतिसमेत बढिरहेको छ । 

गृह मन्त्रालयको आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार जनवरीदेखि ३ मेसम्म डढेलोका कारण १२ जनाको ज्यान गइसकेको छ । २६ जना घाइते भएका छन् । यस अवधिमा डढेलो बस्ती पस्दा तीन सय १३ घरमा आगलागी भएको छ, जसमध्ये दुई सय १७ घर पूर्ण रूपमा नष्ट भएका छन् । दुई सय ३२ गोठ जलेका छन् भने तीन सय ५७ पशुचौपाया मरेका छन् । डढेलोले वन्यजन्तुलाई समेत क्षति पुर्‍याउने भए पनि तथ्यांक छैन ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले लामो समयदेखिको खडेरीका कारण डढेलो बढेको र हावा बढी चल्दा डढेलो बस्ती पसेका घटना धेरै रहेको बताए । ‘घरछेउमा जंगल भए पनि त्यहाँ डढेलो छैन, डेढ किलोमिटर टाढाको आगोको लप्का उडेर घरको छानामा पुगेको देखिन्छ,’ गुल्मीको इस्मा गाउँपालिकाको हस्तीचौर र सिदुंखामा डढेलो बस्ती पस्दा भएको आगलागीको घटनाबारे अध्ययन गरेर फर्किएका भट्टराईले भने, ‘आगलागी र डढेलो नियन्त्रणका लागि जनस्तरमा अभियान चाल्न जरुरी छ । त्यो काम गर्न सक्ने राजनीतिक दल, सामुदायिक उपभोक्ता समूह, क्लब, सहकारी, विद्यालय हुन् । टोलसम्म संगठन भएका दलले सचेतना अभियान चलाउँदा प्रभावकारी हुन्छ ।’

नेपालमा सबैभन्दा बढी डढेलो अप्रिलमा लाग्ने गरेका छ । यो महिना तापक्रम उच्च हुने र वर्षा पनि कम हुने भएकाले आगलागी र डढेलोका घटना पनि अप्रिलमा बढी हुने गर्छन् । नासाको मोडिज भूउपग्रहको तथ्यांकअनुसार यसपटक अप्रिलमा मात्र तीन हजार ४१५ ठाउँमा डढेलो लागेको छ । जब कि त्यसअघिका दुई महिनामा डढेलो कम छ । जनवरीमा ९०, फेब्रुअरीमा १४३ र मार्चमा ४४६ ठाउँमा मात्र डढेलो लागेको छ । तर, पछिल्लो २४ घण्टाको तथ्यांक हेर्दा ५८ जिल्लाका ३८८ स्थानमा डढेलो छ । बिहीबार ५५२ र बुधबार ३५७ स्थानमा डढेलो लागेको थियो । २०२१ को अप्रिलमा तीन हजार ८८३, २०२२ को अप्रिलमा ८३१ र २०२३ अप्रिलमा एक हजार ४७९ ठाउँमा डढेलो लागेको थियो । 

आगलागीको ग्राफ पनि चार वर्षयताकै उच्च
आगलागीको ग्राफ पनि चार वर्षयताकै उच्च छ । माघदेखि वैशाखसम्मको गर्मीयामको अवधिको तथ्यांक विश्लेषण गर्दा आगलागी दोब्बरले बढेको छ । 

गृह मन्त्रालय, आपत्कालीन कार्य सञ्चालनको तथ्यांकअनुसार अघिल्लो गर्मीयामको चार महिना (माघदेखि वैशाख मसान्त)सम्म एक हजार ९५१ ठाउँमा आगलागी र डढेलो (बस्तीमा क्षति पुर्‍याएका र ठूला घटना मात्र)का घटना भएका थिए । जसमा ५४ जनाको मृत्यु र २०७ जना घाइते भएका थिए । ७६७ घरमा आगलागी भएको थियो । एक अर्ब दुई करोड ५१ लाखको क्षति भएको थियो ।

तर, यसपटक सोही अवधिको चार महिना पुग्न नौ दिन बाँकी छँदै आगलागी (ठूला डढेलोसहित) दोब्बरले बढेको छ । २१ वैशाखसम्म तीन हजार ४५ ठाउँमा आगलागी भएको छ । यी घटनामा ७६ जनाले ज्यान गुमाइसकेका छन् भने २८० जना घाइते भएका छन् । तीन हजार ५९७ परिवार प्रभावित/विस्थापित भएका छन् । एक हजार २९७ घर पूर्ण रूपमा ध्वस्त हुँदा ६१३ घरमा आंशिक क्षति पुगेको छ । भौतिक क्षति पनि एक अर्ब १९ करोड ८१ लाख रहेको छ । 

यसपटक वैशाखमा आगलागीका ठुल्ठूला घटना भएका छन् । महोत्तरीको मटिहानी नगरपालिका– ६ जरलहवा टोलमा बुधबार भएको भीषण आगलागी एक सय तीन घरमा सल्कियो । सय घर पूर्ण रूपमा जलेका छन् । झन्डै पाँच सय स्थानीय विस्थापित भएका छन् । परालको कुनिउँमा लागेको आगो बस्तीभर फैलिएर एक करोड ६२ लाख ८५ हजारको क्षति भएको आकलन मटिहानी नगरपालिकाको छ । 

पछिल्लोपटक हरेक दिन कुनै न कुनै ठाउँमा आगलागी भइरहेको छ । तर, बस्ती नै सखाप पार्ने गरी भएको जरलहवाको आगलागी ०८१ कै पहिलो हो । वनमा लागेको डढेलो ८ वैशाखमा बस्ती पसेपछि इस्मा गाउँपालिका– २ हस्तीचौर र वडा नम्बर ४ सिदुंखाकाका २६ घर र ४९ गोठ जलेका थिए । एक सय ९९ स्थानीयको त्रिपालमुनिको वास भएको छ । ९ वैशाखमा सप्तरी कञ्चनरूप नगरपालिका– ५ पडेमारामा आगलागी हुँदा १२ परिवारका २४ घर जलेका थिए । 

०७८/७९ को सोही अवधिको चार महिना भने आगलागी अझ कम थियो । एक हजार १८३ स्थानमा आगलागीका घटना हुँदा ५७ जनाको ज्यान गएको थियो भने १८१ जना घाइते भएका थिए । ४९३ घर पूर्ण र २९८ घर आंशिक रूपमा क्षतिग्रस्त बनेका थिए । एक अर्ब एक करोड ३९ लाखको क्षति भएको थियो । ०७७/७८ को गर्मीयामका चार महिनामा एक हजार ५२१ स्थानमा डढेलो लाग्दा एक हजार १७५ घर जलेका थिए । जसमध्ये ७४४ घर त पूर्ण रूपमा ध्वस्त भएका थिए । आगलागीमा ५७ जनाको ज्यान गएको थियो भने १५१ जना घाइते भएका थिए । एक अर्ब चार करोड ७७ लाखको क्षति भएको थियो ।

भाषणमै सीमित फायर फाइटर हेलिकोप्टर किन्ने योजना 
आगलागी र डढेलो नियन्त्रणका लागि फायर फाइटर हेलिकोप्टर किन्ने सरकारी योजना भाषणमै सीमित बनेको छ । ०७७ मा देशभर आगलागी र डढेलो बढेपछि वन तथा वातावरण मन्त्रालयले दुईवटा फायर फाइटर हेलिकोप्टर किन्न अर्थ मन्त्रालयसँग दुई अर्ब माग गरेको थियो । त्यतिखेर परराष्ट्र मन्त्रालयले समेत कुन देशबाट ल्याउन सहज हुन्छ भनेर चासो पनि व्यक्त गरेको थियो ।

फायर फाइटर नेपाली सेनालाई हस्तान्तरण गर्ने र डढेलो लागेकै स्थानमा आकाशबाट पानी बर्साएर/ग्यासको सहयोगले आगो निभाउने योजना थियो । तर, डढेलो घटेसँगै सरकार तीन वर्ष चुप बस्यो । फायर फाइटर प्लेन वा हेलिकोप्टरले कम जनशक्तिको प्रयोगमा फराकिलो क्षेत्रमा लागेको डढेलो निभाउन सक्छ । पानीले आगो निभाउने र अन्य ग्यासको सहयोगले आगो निभाउने प्रविधि जडान भएका हुन्छन् ।

यसपटक फेरि देशभर आगलागी र डढेलो बढेपछि फेरि फायर फाइटर हेलिकोप्टरको विषय उठेको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा गृहसचिव एकनारायण अर्यालले अरू देशहरूमा डढेलो नियन्त्रणका लागि हेलिकोप्टरबाट आगो निभाउने प्रचलन रहे पनि  स्रोत अभावका कारण नेपालमा नरहेको बताए । ‘यसका लागि मन्त्रीज्यूले क्याबिनेटमा कुरा पनि गरिसक्नुभएको छ । स्रोतको सीमितता, बुझाइको कमी, तीन तहबीच स्रोत बाँडफाँट (कुन तहले कहाँ खर्च गर्ने अस्पष्टता)मा एकरूपता नहुँदा पनि विपत् व्यवस्थापनमा काम गर्न गाह्रो भएको छ,’ उनले भने ।

 

ad
ad