मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेशमान पुन
२०७८ पौष ११ आइतबार ०८:३९:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

राष्ट्रिय सम्मेलन : पार्टी रूपान्तरणको औजार

Read Time : > 5 मिनेट
गणेशमान पुन
२०७८ पौष ११ आइतबार ०८:३९:००

राष्ट्रिय सम्मेलनमार्फत पार्टीमा भएका विचलन, समस्या र चुनौती चिर्दै नयाँ ढंगको पार्टी निर्माण गर्नु हाम्रो दायित्व हो


माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै छ । सम्मेलनले नयाँ कार्यदिशा, नयाँ विचार संश्लेषणसहित कार्यदिशा निर्माण गर्छ कि गर्दैन ? यसले आफूलाई क्रान्तिकारी पार्टीको रूपमा रूपान्तरण गर्छ कि गर्दैन ? एक्काइसौँ शताब्दीको वैज्ञानिक समाजवादको स्वरूप कस्तो हुन्छ ? राज्य पुनर्संरचनाको पूर्णतासहित संघीयता कार्यान्वयनलाई अर्को उचाइमा उठाउँछ कि उठाउँदैन ? पार्टीलाई रचनात्मक बहससहित विचार तथा ज्ञान निर्माण प्रक्रियामा होम्छ कि होम्दैन ? स्थानीय प्राकृतिक स्रोतसाधनको परिचालन, स्थानीय अर्थतन्त्रको प्रवद्र्धन, ग्रामीण औद्योगिकीकरण, सामुदायिक परिचालनका माध्यमबाट समाजवादको भ्रूण निर्माण गर्छ कि गर्दैन ? कस्तो नेतृत्व निर्माण गर्छ ? जस्ता प्रश्न उठिरहेका छन् । यी प्रश्नको जवाफ दिन सकेन भने सम्मेलन औपचारिक मात्र हुन्छ ।

विभिन्न राजनीतिक दलका महाधिवेशन सम्पन्न भइसकेका छन् । तर, कसैले पनि पार्टी रूपान्तरणको विचारमा छलफल गरेको छैन । नयाँ पुस्ता नेतृत्वको टिममा आउनुलाई सकारात्मक मान्न सकिएला । तर, पार्टीलाई रूपान्तरण गर्ने विचारविनाको नयाँ पुस्ताले मात्र देशलाई कहीँ पु¥याउन सक्दैन । अर्कातिर, कम्युनिस्ट आन्दोलनको नाममा प्रतिगामी यथास्थितिवादी ढर्रामा केपी ओलीलाई देवता बनाउने कुम्भमेलाले पनि कम्युनिस्ट आन्दोलनलाई बदनाम बनाएको छ । यस सन्दर्भमा हामीले पार्टीमा भएका विचलन, समस्या र चुनौती चिर्दै नयाँ ढंगको पार्टी निर्माण गर्नुपरेको छ । 

पार्टीलाई नैतिक आचरण, क्रान्तिकारी विचार, ज्ञाननिर्माणको गहिराइ, जनतासँगको सम्बन्ध आदिका हिसाबले रूपान्तरण गर्नुपर्छ । पार्टीलाई क्रान्तिकारी पार्टीका रूपमा अलिकति वाम कोल्ट्याउन जरुरी छ । जनयुद्ध र जनआन्दोलनका क्रममा मृत्यु वा मुक्ति भनेर ऐतिहासिक भूमिका खेलेको पार्टीमा किन व्यक्तिगत स्वार्थ र व्यक्तिवादी प्रवृत्ति आउँछ ? पत्ता लगाउनुपरेको छ । भौतिक सत्ता प्राप्तिको लडाइँमा लाग्नुभन्दा कैयौँ गुणा अप्ठ्यारो विश्व दृष्टिकोण बदल्नु हुन्छ भन्ने माओको भनाइ हामीमा पनि लागू भएको छ । धेरै विकृति, विसंगति र विचलनहरू देखा परेका छन् । वर्गीय पक्षधरता हराएजस्तो भएको छ । 

अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिको विश्लेषणका आधारमा नेपाली क्रान्तिको विचार संश्लेषण जरुरी छ । त्यसले एक्काइसौँ शताब्दीको समाजवादको कार्यदिशा निर्माण गर्नेछ । समाजवादी रणनीतिअन्तर्गत कार्यनीति तय गर्नेछ । त्यसका लागि सिंगै पार्टीलाई रचनात्मक बहसमा तान्न जरुरी छ । किनकि, पार्टीमा रचनात्मक बहस सुषुप्त भएको छ । 

विचारका हिसाबले सही भएर मात्र हुँदैन । विचार निर्माणसँगसँगै वा विचार निर्माण गर्नुअघि र पछि सम्पूर्ण पार्टी सदस्य ज्ञान निर्माण प्रक्रियामा लागिरहनुपर्छ । पार्टीभित्रको ज्ञान निर्माण प्रक्रिया के हो ? किन आज पार्टीहरूले ज्ञानका आधारमा आफ्ना कार्यकर्ता परिचालन गर्न सकेका छैनन् ? किन कम्युनिस्ट कार्यकर्ता कम्युनिस्टजस्ता छैनन् ? किन कम्युनिस्टले वेला–वेला दक्षिणपन्थको यात्रा गर्छन् । यो सबै कुराको चुरो विचार र ज्ञान निर्माण प्रक्रियासँग गाँसिएको छ । मालेमाका रचनालाई नेपालको जमिनमा तान्ने, हाम्रो संस्कृतिसँग तान्ने, हाम्रो अर्थतन्त्रसँग त्यसको विश्लेषण जोड्ने कार्यको ठूलो खडेरी छ । जसले हाम्रो विविधता, नेपाली सामाजिक सम्बन्ध, वर्गीय विश्लेषणजस्ता कुरालाई यथार्थमा विश्लेषण गर्नै सक्दैन ।

आधारभूत ढाँचामा माक्र्सवाद, लेनिनवाद र माओवादलाई स्वीकार गरी यसको नेपाली समाजसँग तारतम्य मिलाउनु अहिलेको प्राथमिक दायित्व हो । पार्टीको दीर्घकालीन र तत्कालीन ज्ञानको मियो के हो ? तलदेखि माथिसम्म प्रशिक्षित गर्नुपर्छ । ज्ञान निर्माणको तरिका सहभागिता र बहसमूलक बनाउँदै एउटा कम्युनिस्ट पार्टीले पार्टी कार्यकर्ता, जनतालाई सहजीकरण गर्न सक्नुपर्छ । यस्तो प्रक्रियाभित्र ज्ञानको प्याकेजिङ जरुरी छ । जसले नेपालको राजनीतिलाई तत्काल दीर्घकालीन समाधान दिन सक्छ । पार्टीको स्कुलिङ नियमित र व्यवस्थित मात्रै होइन, ज्ञानका प्रक्रियाले पनि समृद्ध हुनुपर्छ । पार्टी कार्यकर्ताहरू वैचारिक रूपमा जनताभन्दा धेरै अगाडि होइन, एक कदम अगाडि भने हुनुपर्छ । 

अहिलेको अप्ठ्यारो के हो, सविस्तार व्याख्या र विश्लेषण गरेर पुग्दैन । पुग्ने ठाउँ कहाँ हो ? रणनीति के हो ? दैनिक रूपमा कार्यकर्ताले गर्नुपर्ने काम के हो ? यो ठूलो महत्वको विषय हो । पार्टीको ज्ञान वा विचार निर्माण प्रक्रियामा पनि समाजको प्रभुत्वशाली वर्ग समुदायकै भूमिका बढी छ । जुन ज्ञानले मजदुर, किसान, महिला, दलित, जनजाति र मधेसीलाई खास फाइदा पुग्दैन वा कहिलेकाहीँ त उल्टो हुन्छ । पार्टीहरू अहिले यही ज्ञान प्रक्रियाबाट गुज्रिरहेका छन् । अहिलेकै ज्ञानले हामी कम्युनिस्टजस्ता देखिँदैनौँ र यही ज्ञानले समाजवादमा उडान भर्न पनि सक्दैन । यही ज्ञानका आधारमा पार्टी जनताको निगरानी र नियन्त्रणमा पुग्न पनि सक्दैन । मूल कुरा पार्टीको वैचारिक कार्यदिशा, दीर्घकालीन लक्ष्य र ज्ञान निर्माण प्रक्रियाले नै निक्र्योल गर्छ ।

एउटा कम्युनिस्ट पार्टीको निरन्तर काम संघर्ष हो । त्यसो हो भने सरकारको नेतृत्व गरिरहेको कम्युनिस्ट पार्टीको सरकारले गर्ने वर्गसंघर्षको स्वरूप कस्तो हो ? यसबारे अहिलेसम्म धेरै छलफल भएको छैन । खासगरी सीमान्तकृत जनताको पक्षमा नीति निर्माण गर्न ऐन, नीति, कार्यक्रम र कानुनले उनीहरूलाई बलियो बनाउन गरिने संघर्ष हुनुपर्ने थियो, तर त्यो कमजोर छ । कम्युनिस्ट पार्टीकै नेतृत्वको पनि सरकारका एजेन्डाहरू त्यति गरिबमुखी छैनन् । सरकारले गर्ने वर्गसंघर्षको विश्लेषण हुन सकेको छैन । सरकार एउटा मोर्चा हो भने यो मोर्चा कम्युनिस्ट आन्दोलनका दृष्टिले धेरै फलदायी हुन सकेको छैन । वेलाबखत त उल्टो पो साबित भएको छ ।

राष्ट्रिय सम्मेलनले पार्टीलाई नैतिक आचरण, क्रान्तिकारी विचार, ज्ञान निर्माणको गहिराइ, जनतासँगको सम्बन्ध आदिका हिसाबले रूपान्तरण गर्न सक्नुपर्छ 

अहिलेको राजनीतिमा सदनको भूमिका महत्वकै विषय हो । तर, कम्युनिस्ट पार्टीका सदस्यले सदनमा खेलिरहेको भूमिका के हो ? सांसदले नीति निर्माणमा योगदान गरेका छन् कि आफ्नो निर्वाचन क्षेत्रका विकास परियोजनामा मात्र समय बिताएका छन् ? सांसदको काम मुख्यतः विकासका लागि चाहिने नीति निर्माण गर्नु हो, तर सांसदहरू आफैँ विकासको कर्ता भएर हिँडिरहेका छन्, जसले गर्दा नीति–निर्माणमा सार्वजनिक बहस हुन सकेको छैन र सांसदको भूमिका पनि कमजोर देखिएको छ ।

अहिले नीति–निर्माणको नेतृत्व कर्मचारीतन्त्रले गरेको छ, जुन सर्वाधिक उल्टो हो । प्रदेश सभाको पनि स्थिति भिन्न छैन । त्यसो हो भने सदनमा वर्गसंघर्षको प्रतिबिम्ब कसरी हुन्छ ? यसका लागि नीति निर्माण तहमा संलग्न गराउन सांसदको क्षमता अभिवृद्धि गर्ने, नीतिगत विश्लेषणको दक्षता अगाडि बढाउनेजस्ता काम गर्नुपर्ने देखिन्छ । नत्र संसद्मा वर्गसंघर्षले प्रतिनिधित्व गर्दैन, वर्गसंघर्षले स्थान पाउँदैन ।

नेपालमा विभेदका बहुआयाम छन् । अहिले पनि समाजमा जातीय, लैंगिक, क्षेत्रीय, वर्गीय विभेद छन् । कम्युनिस्ट कार्यकर्ता जहाँ र जुन कमिटीमा छन्, ती कमिटीबाट यस्ता विभेद अन्त्यको पहल हुनुपर्छ । यस्ता विभेद भइरहँदा चुपचाप बस्ने, यथास्थितिमा रहने भद्र र शालीन कार्यकर्ता आवश्यक छैन । जहाँ अन्याय देखिन्छ, त्यही अन्यायलाई आधार मानेर संगठन र संघर्ष गर्दै जाने दिशामा कार्यकर्तालाई कसरी रूपान्तरण गर्ने भन्ने अहिलेको ठूलो चुनौती हो । 

नेपालका ससाना शासकीय एकाइमा ठूलो समस्या छ । भौतिक पूर्वाधारले सुसम्पन्न स्कुलमा पढाइ नै हुँदैन । स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्यकर्मी नै हुँदैनन् । आफ्नो नजिकैका यस्ता एकाइमा कम्युनिस्ट कार्यकर्ताको ध्यान पुगेको छैन । अब कम्युनिस्ट कार्यकर्तामाझ दुई कार्यभार छन् । पहिलो कार्यभार सामाजिक विभेद अन्त्य गर्नु हो भने दोस्रो कार्यभार कृषि, शिक्षा, स्वास्थ्यजस्ता सरकारी एकाइलाई जनमुखी बनाउन पहल लिनु हो ।

आजको कम्युनिस्ट पार्टीमा युवाहरू कति आकर्षित छन् ? छेउ पारिएका वा सीमान्तीकरणमा पारिएका व्यक्तिहरू कति आकर्षित छन् ? आफ्नो विषयमा दक्षता हासिल गरेका, लामो समय अनुसन्धानमा संलग्न रहेका व्यक्तिहरू अहिलेको कम्युनिस्ट पार्टीभित्र कति आकर्षित छ्न् ? उल्लिखित युवा, अपेक्षाकृत विषयमा दक्षता प्राप्त व्यक्ति, सीमान्तकृत व्यक्ति कम्युनिस्ट पार्टीमा आकर्षित भएनन् भने यो यथास्थितिको औजार हुन जान्छ । बचेखुचेका मानिसको झगडा गर्ने एउटा ठाउँ बन्छ । रचनात्मक बहस र छलफलले प्रवेश पाउँदैन । त्यसो भएको हुनाले कसरी युवा, सीमान्तकृत समुदाय, अपेक्षाकृत दक्षता प्राप्त व्यक्तिलाई आकर्षित गर्ने ? यसको सुरुवात सदस्यता वितरणदेखि नै गरी सामाजिक न्यायको अवधारणालाई आत्मसात् गर्दै कमिटी निर्माण र परिचालनमा जोड दिनुपर्छ । अन्यथा, पार्टी उही–उही व्यक्ति बस्ने, गफ गर्ने, कहिले खुसी र कहिले दुःखी हुने थलोका रूपमा मात्रै रूपान्तरण हुने खतरा हुन्छ । 

नेपाली क्रान्तिको विचारको नेता नै हाम्रो पार्टीको मूल नेतृत्व भएको अहिलेको परिस्थितिमा अन्य पदाधिकारी बनाउँदा नयाँपनको जरुरी छ । यहाँ पुस्ताको कुरा धेरै उठ्ने गर्छ तर विचार, राजनीति, संगठन, परिचालन, नैतिक आचरण, वर्गीय पक्षधरता, विशेष ब्रान्ड र बिम्बका हिसाबले नयाँपन जरुरी छ । जमिनबाट खारिएर विचार, नीति, कार्यक्रमबाट आफ्नो औचित्य पुष्टि गर्ने नेताहरूको टिम हुन जरुरी छ । मुख्य नेतृत्वको आशीर्वाद, कृपा थाप्ने र कहिलेकाहीँ घुर्की–धम्की लगाएकै भरमा नेतृत्व निर्माण हुन सक्दैन ।

समाजवादका नेपाली विशेषता के हुन् ? आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक स्वरूपहरू के हुन् ? सम्मेलनले पहिचान गर्नेछ र गर्नुपर्छ । नेपाली समाजवादको एउटा विशेषता सामुदायिकता हुनेछ । नेपालमा सामुदायिकताको अभ्यास प्रचूर मात्रामा छ । अझै पनि सामुदायिक सम्पत्ति, सामुदायिक व्यवस्थापन, सामुदायिक शासकीय संरचना, स्थानीय ज्ञान, सीप र प्रविधिको प्रचूरता छ । यस्तो अवस्थामा स्थानीय प्राकृतिक स्रोतसाधनको सामुदायिक परिचालन जरुरी छ । स्थानीय सांस्कृतिक सम्पदाको खोज–अनुसन्धान, व्यवस्थापन र प्रवद्र्धन जरुरी छ । स्थानीय अर्थतन्त्रको व्यापक बहस, प्रवद्र्धन र सबलीकरण गर्न जरुरी छ । जमिन, पानी, जंगलमा आधारित अर्थतन्त्रलाई मूलतः सामुदायिक, सामूहिक, ससाना समूह, सहकारी विधिबाट धेरै उत्पादनका एकाइ खोल्न जरुरी छ । 

राष्ट्रिय आवश्यकताका उद्योगको पहिचान, आफ्नै स्रोतसाधन र कच्चा पदार्थमा आधारित उद्योगलाई प्राथमिकता दिँदै राष्ट्रिय औद्योगिकीकरणको सुरुवात गरिनुपर्छ । आत्मनिर्भर अर्तन्त्रको सुरुवात गर्ने, सूचनाप्रविधिको चेतना जनस्तरमा पु¥याउँदै यसको प्रयोग गर्ने, नेपालको विशिष्ट भौगोलिक विशेषताको उपयोगको योजना निर्माण गर्ने, युवा जनशक्ति परिचालन गर्ने, पर्यटन विकासजस्ता राष्ट्रियस्तरका आर्थिक योजना निर्माण समाजवादी रणनीतिअन्तर्गत गर्न जरुरी छ ।

तलबाट माथि, आधार र उपरि संरचनाबाट समाजवाद निर्माण गर्ने योजना बनाउनुपर्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासकीय स्वरूप, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्य पुनर्संरचनाको पूर्णतासहित संघीयताको सुदृढीकरण पनि यो सम्मेलनका महत्वपूर्ण मुद्दा हुनुपर्छ ।