१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
गणेशमान पुन
२o८१ जेठ ६ आइतबार o९:o४:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण

पार्टीको रूपान्तरण र स्थानीय मुद्दा

Read Time : > 4 मिनेट
गणेशमान पुन
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o९:o४:oo

आदिवासी, दलित, जनजाति तथा गरिब छुट्दै गएको अवस्थामा स्थानीय मुद्दासहित सीमान्तकृत वर्गको सहभागिता पार्टी रूपान्तरणको बाटो हुनुपर्छ


माओवादी केन्द्रले पुस (११–१३) मा राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ । यतिखेर अबको समाजवाद कस्तो र यसका लागि चाहिने कम्युनिस्ट पार्टी कस्तो भन्ने प्रश्न उठिरहेका छन् । राष्ट्रिय सम्मेलनले यी प्रश्नको उत्तर दिन सकेन भने औपचारिकता मात्रै पूरा हुनेछ । यही क्रममा हुने टोल, वडा, पालिका या प्रदेश सम्मेलनहरूमा यो बहस अर्थात् कस्तो पार्टी र कसरी समाजवाद भन्ने विषयमा गहन छलफल भएन भने राष्ट्रिय सम्मेलनले सही उत्तर दिन सक्दैन । हामीमाथि सोझिएका केही प्रश्न आफ्नै पंक्तिबाट उठेका छन् ।

आफ्नै शुभचिन्तक र समर्थकबाट उठेका ती प्रश्न केलाउनुपर्ने वेला हो, यो । हामी र अरू पार्टीबीच वैचारिक भिन्नता के हो ? कार्यशैलीको भिन्नता के हो ? जनतासँगको सम्बन्धको भिन्नता के हो ? भन्ने प्रश्न विपक्षी कोणबाट होइन, मित्रवत् कोणबाटै उठिरहेका छन् । यस्ता प्रश्नको उत्तर अहिलेको राष्ट्रिय सम्मेलनले दिनैपर्छ । कागज र भनाइमा मात्र होइन, व्यवहारमा देखिने गरी, जनताले सुँघ्दै थाहा पाउने गरी उत्तर दिनु यसको दायित्व हो ।

एउटा बिर्सिनै नहुने तथ्य के छ भने युद्ध वा आन्दोलनमा मात्रै होइन, मतदानमा पनि नेपालीले कम्युनिस्ट पार्टीलाई अथाह विश्वास गरेका छन् । विभिन्न समयमा विभिन्न माध्यमबाट जनताको विश्वास उजागर भइरहेको छ । बरु जनताको विश्वासअनुसार जनताकै दुःख र मर्मको नेतृत्व कम्युनिस्ट पार्टीले गर्न सकेको छैन । जनयुद्धको सन्दर्भमा माओवादीले एक ढंगबाट शोषितपीडितको नेतृत्व गर्‍यो । समयक्रममा कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भयो ।

एकता आफैँमा अपरिहार्य आवश्यकता थियो । तर, यत्रो आवश्यकतामा काम गर्दा पनि एकताले ठोस रूप लिन सकेन । केपी शर्मा ओलीको व्यक्तिवाद, गुटवाद, रामसीतापथ, विकासका हावादारी सपना, अझ खासगरी आफ्नो नेतृत्व अर्थात् आफू राजाजसरी कम्युनिस्ट पार्टीलाई पञ्चायतजस्तो व्यवस्थामा अभ्यस्त गराउन खोज्दा पार्टी एकता टुट्यो । परिस्थिति यस्तो बन्यो, हिजो एकता गर्नु पनि ठीक र टुट्नु पनि ठीकजस्तो भयो । किनभने, एकीकृत पार्टीले जनताको खास मुद्दामा नेतृत्व गर्न सक्दैन भने त्यस्तो कम्युनिस्ट पार्टी अहिलेको आवश्यकता होइन । विचार र संगठनमा एकताको अभियान भने त्यसबाट डराएर वा तर्सिएर रोकिँदैन । 

त्यस्तो कम्युनिस्ट पार्टी आवश्यक होइन भने कस्तो कम्युनिस्ट पार्टी आवश्यक हो त ? अहिलेको सबैभन्दा ठूलो छलफलको विषय यही हो । अझ हाम्रो पार्टीका सन्दर्भमा त हिजो माओवादीले उठाएका भुइँ तहका मुद्दाहरू सम्बोधन भएका छैनन् । उपरी संरचनामा आएको परिवर्तनले समाजको तल्लो तह, वर्ग, मजदुर, किसान, शोषित र उत्पीडितहरू ठाडो र प्रत्यक्ष लाभान्वित छैनन् । जतिवेलासम्म उपल्लो संरचना परिवर्तनको अर्थ मजदुर किसान र शोषितपीडितसम्म पुग्दैन, त्यतिवेलासम्म परिवर्तन अधुरै रहन्छ ।

राष्ट्रिय राजनीतिका ठूला मुद्दा संघीयता, समाजवाद, नयाँ संविधानलगायतका कारणले स्थानीय मुद्दा र स्थानीय पार्टीमा हाम्रो ध्यान नपुगेकै हो । स्थानीय पार्टी र स्थानीय मुद्दा एक ढंगले तपसिलका विषय बन्न पुगे । माथिमाथिबाटै धेरै कुरा हुन्छ भनेजस्तो देखियो । स्थानीय मुद्दा र स्थानीय पार्टी नछोडीकन माथिल्ला मुद्दामा संलग्नता जरुरी थियो । तर, अहिले फेरि हामीलाई अवसर आइपुगेको छ । किनभने, हामी टोलदेखि राष्ट्रिय सम्मेलनको प्रक्रियामा छौँ । यो ठूलो राजनीतिक अवसर हो ।

राष्ट्रिय सम्मेलनका दौरान सांस्कृतिक रूपान्तरणका विषय स्थानीयस्तरमा छलफलको विषय बन्नुपर्छ । स्थानीय तहमा यस्ता विषयले प्राथमिकता पाउनुपर्छ । अर्कातर्फ, कम्युनिस्ट पार्टीका सदस्यहरूको श्रमसँगको सम्बन्ध पातलिँदै गएको छ, कमजोर बन्दै गएको छ । कम्युनिस्ट पार्टीका सदस्यहरू स्थानीय उत्पादन र श्रममा कसरी जोडिने, कसरी स्थानीय स्तरमा रोजगारीको विकास गर्ने जस्ता सवालहरू प्राथमिकतामा पर्नुपर्छ । साथै, पार्टी कार्यकर्ताहरूको राजनीतिक र सैद्धान्तिक क्षमता विकास नहुँदा पार्टी अरू नै या थोरै मान्छेको कब्जामा पुग्ने खतरा छ । पार्टीले जनतासँगको सम्बन्ध विकासका लागि पनि कार्यकर्ताको वैचारिक र शैलीगत अभ्यासमा रूपान्तरण खोजेको छ ।

अहिलेको हाम्रो वर्गसंघर्षको प्रक्रिया र खाका के हो ? सहरमा गरिने वर्गसंघर्षको स्वरूप कस्तो हो ? कर्णाली र मधेसजस्ता वर्गीय असन्तुलन धेरै भएको ठाउँमा गरिने वर्गसंघर्षको स्वरूप कस्तो हो ? पहाडी भेगमा गरिने वर्गसंघर्ष कस्तो हो ? छलफल जरुरी छ । वर्गसंघर्ष त लुकाइएको विषयजस्तो बन्न पुगेको छ । नेपालमा वर्गहरूको विश्लेषण नै कसरी गर्ने ? वर्ग र पहिचानको मुद्दालाई कसरी जोड्ने ? एकातिर पहिचानको तिर्खा मेटिइसकेको छैन वा पहिचान व्यवस्थापन भइसकेको छैन भने अर्कातिर वर्गीय असन्तुलन के गाउँ र के सहर, बढ्दो छ ।

नेपालमा मात्रै नभई संसारमै वर्गीय असन्तुलन बढिरहेको छ । यस्तो वर्गीय असन्तुलनको वेला पार्टीको राष्ट्रिय सम्मेलन हुँदै छ । हाम्रा टोल, वडा र पालिका सम्मेलनहरूबाट स्थानीय वर्गहरूको विश्लेषण, वर्गसंघर्षको खाका र वर्गसंघर्ष सञ्चालन गर्ने विधि तय गरिएन भने फेरि हामीले भुइँ छाड्ने खतरा हुन्छ । जनतासँग सिक्दै विभिन्न कालखण्डमा आर्जित ज्ञानलाई संश्लेषित गर्दै मालेमावादसँगको तालमेलले नै हामीलाई जनतामाझ पुर्‍याउँछ । कम्युनिस्ट पार्टी जनताबाट सिक्ने पनि र जनतालाई प्रशिक्षित पनि गर्ने दोहोरो भूमिकामा हुन्छ । यतिवेला समाजमा जरा गाड्ने र जनतासँग एकीकृत हुने कम्युनिस्ट पार्टी जरुरी हो । जनताको स्वामित्वमा कम्युनिस्ट पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता हो । पहिचान व्यवस्थापनका लागि पार्टीको भूमिका के ? र, अबको वर्गसंघर्षको स्वरूप स्थानीयस्तरमा प्रमुख रूपमा छलफलका विषय हुन् । हामीले जरैदेखि यस्ता विषयलाई उठाएर सम्मेलनमा ल्याइपुर्‍यायौँ भने मात्र यस सम्मेलनले नयाँ रंग दिनेछ । कार्यकर्ताको क्षमता विकास हुन्छ र पार्टीमा बहसको संस्कृतिले ठाउँ पाउँछ । 

अहिले विश्वव्यापी रूपमा चलिरहेको विकास वा समृद्धिको मुद्दाले हाम्रा समाजका विभेदहरूलाई छायामा पारिहेका छन् । विकास वा समृद्धिको चाहना मात्रै मुखरित भएको देखिन्छ । तर, वास्तविकता त्यस्तो होइन । हाम्रो समाजमा अहिले पनि मजदुर, भूमिहीन, किसान, दलित, जनजाति, महिला, सीमान्तकृत समुदायहरू विभेदको भारीले थिचिएका छन् । नेपाली समाजको उपल्लो राजनीतिक रूपान्तरणले यस्ता विभेद हटाउने मौका त दियो, तर हाम्रो कोसिस नपुग्दा विभेदहरू अझै बाँकी नै छन् । कम्युनिस्ट पार्टीको मुख्य काम यस्ता मुद्दामा काम गर्नु हो । तसर्थ, अहिलेका तलदेखि माथिसम्मका सम्मेलनहरूले आ–आफ्नो ठाउँमा भएका विभेद, विभेदका स्वरूप, कम्युनिस्ट पार्टीको संलग्नताको तरिका र विभेद सम्बोधनको दिशा तय गरिएन भने जनताको दुःख र हाम्रा मुद्दाबीच तालमेल हुँदैन । हाम्रो पार्टीको उद्देश्य अरू केही नभएर मूल रूपमा जनताका दुःखसँग एकीकृत हुनु, दुःख हल गर्न सँगै हिड्नु र समृद्धिको यात्रा सँगसँगै तय गर्नु हो । तलदेखि माथिसम्मका सम्मेलनले यो बाटो तय गर्‍यौँ भने जनताका अगाडि धेरै स्पष्टीकरण दिइरहनुपर्ने छैन । अरूभन्दा हामी के फरक छौँ भन्ने व्यवहारले नै उत्तर दिनेछौँ । विभेदको अन्त्यसँगसँगै स्थानीय उत्पादनको वृद्धि, स्थानीय अर्थतन्त्रको सबलीकरण, स्थानीय रोजगारी र समृद्धिको यात्रा तय गर्नु अबको हाम्रो बाटो हो । विकास र विभेद दुवैलाई सम्बोधन गर्ने दुईखुट्टे नीति नै हाम्रो पार्टीको नीति हुनुपर्छ । यस्तो नीति स्थानीयदेखि केन्द्रीय सन्दर्भमा लागू भयो भने हामी छोटो समयमै नयाँ ठाउँमा पुग्न सक्छौँ ।

अर्कातिर, हामीले समाजवाद भनेका छौँ । कस्तो समाजवाद भन्ने बहसमा छौँ । हाम्रो जस्तो सामुदायिकता प्रचुर भएको देशमा समाजवादको आधार के हो ? समाजवादमा जान स्थानीय उत्पादनको भूमिका के हो ? जस्ता विषयमा व्यापक बहस जरुरी छ । अर्कातिर स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य, उत्पादनजस्ता विषय लथालिंग छन् । सार्वजनिक शिक्षाको ठाउँ निजी शिक्षाले लिँदै गएको छ । स्वास्थ्यमा निजी क्षेत्रको जब्बर उपस्थिति छ । सरकारको लगानीका शिक्षा र स्वास्थ्य संस्थाहरू ओइलाएका छन् । स्थानीय उत्पादन नराम्ररी घटेको छ र बाह्य उत्पादनले ठाउँ पाएको छ । यस्तो सन्दर्भमा हाम्रो पार्टीका तलदेखि माथिसम्मका सम्मेलनहरू कसरी सामुदायिक शिक्षाको स्तरोन्नति गर्ने, कसरी सामुदायिक स्वास्थ्यको स्तरोन्नति गर्ने, यिनका शासन विधिमाथि पनि निगरानी र हस्तक्षेप जरुरी छ । यस्ता संस्थाको स्तरोन्नति नभएसम्म गरिबले शिक्षा र स्वास्थ्यको अवसरमा पहुँच राख्न सक्दैनन् ।

मानौँ एउटा गाउँमा हाम्रो पार्टी बलियो हुने, तर सामुदायिक शिक्षा र स्वास्थ्य कमजोर हुने सुहाउने विषय होइन । यस्ता विषयमा फराकिलो बहस र चिन्तन जरुरी छ ।
यी सबै कुरा गर्न मूल प्रश्न कस्तो कम्युनिस्ट पार्टी नै भन्ने हो । कम्युनिस्ट पार्टीभित्र युवाहरूको प्रवेश र भूमिकालाई कसरी व्यवस्थापन गर्ने ? आदिवासी, दलित, जनजाति, गरिब जनता हाम्रो पार्टीबाट छुट्दै गएको सन्दर्भमा उनीहरूलाई आकर्षण गर्ने सांगठनिक तथा वैचारिक तरिका के हो ? तलदेखि नै विचार पुर्‍याउनुपर्छ । सदस्यता वितरण गर्दा, नवीकरण गर्दा, सम्मेलनको सहभागीको प्रतिनिधित्वको कुरा गर्दा सकारात्मक विभेदको सिद्धान्तलाई अंगीकार गर्न जरुरी छ । मूल प्रश्न पार्टीको रूपान्तरण नै हो । स्थानीय मुद्दासहितको सीमान्तकृत वर्गको व्यापक सहभागिता पार्टी रूपान्तरणको बाटो हुनुपर्छ । स्थानीय मुद्दा र राष्ट्रिय मुद्दाबीचको तालमेल नै अहिलेको हाम्रो प्रमुख बाटो हो । (पुन माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्) 

ad
ad