१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १६:३९:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

महाकाली नदी नियन्त्रण आयोजना : दुईवटा प्याकेजमा निर्माण कार्य सुस्त

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:३९:oo

०७० सालको बाढीपछि निर्माण सुरु भएको दार्चुला सदरमुकाम खलंगा क्षेत्रको तटबन्ध निर्माणको काम अझै सकिएको छैन । आर्थिक वर्ष ०७०/७१ मा सुरु गरिएको साढे चार किलोमिटर तटबन्ध निर्माणको काम अझै नसकिएको हो ।  लेकम गाउँपालिकाको लालीदेखि व्यास गाउँपालिकाको छाङरुसम्म सञ्चालनमा रहेको महाकाली नदी नियन्त्रण आयोजनाका अन्य क्षेत्रमा काम भए पनि सदरमुकाम क्षेत्रका दुईवटा प्याकेजमा काम सकिएको छैन ।

सदरमुकाम खलंगा क्षेत्रको प्याकेज नम्बर १८ र १९ मा अझै काम हुन नसकेको महाकाली नदी नियन्त्रण आयोजनाका सूचना अधिकारी इन्जिनियर स्मित श्रेष्ठले जानकारी दिए । चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म निर्माण कार्य सुस्त छ । गत वर्ष नै ठेक्का लागेका यी दुवै ठाउँमा यही साता आगामी चैत ३० गतेसम्मलाई म्याद थप गरिएको छ । 

निर्धारित समयमा काम गर्न नसकेको यी दुवै ठेक्कामा प्रगति पनि निराशाजनक छ । इन्जिनियर श्रेष्ठका अनुसार प्याकेज नम्बर १८ रहेको सदरमुकाम पुलघाटमा २२ प्रतिशत र प्याकेज नम्बर १९ रहेको श्रीवड क्षेत्रमा ४ प्रतिशत मात्रै प्रगति देखिएको छ । प्याकेज नम्बर १८ मा गत वर्ष कुल नाै करोड ४५ लाख  ४८ हजार रुपैयाँ तथा प्याकेज नम्बर १९ मा ११ करोड ५५ लाख ४४ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको हो । यी दुवै ठाउँमा राजेन्द्र निर्माण सेवाले ठेक्का पाएको छ । 

गत वर्ष नै ठेक्का लागेका प्याकेज नम्बर १६, १७ मा काम सम्पन्न भएको छ । तर, १८ र १९ मा समयमै काम नहुँदा आयोजनाको प्रगति पनि देखिइसकेको छैन । यी दुवै प्याकेजका निर्माण व्यवसायी भीमबहादुर साउद हुन् । उनी अहिले डडेल्धुरा कांग्रेस जिल्ला सभापति छन् । श्रीवडमा गत वर्ष निर्माणको काम सुरु गर्ने वेला महाकालीमा बाढी आएपछि निर्माण कार्य अस्तव्यस्त बनाएको छ । चालू आर्थिक वर्षमा पनि यी दुवै ठाउँमा समयमै काम हुने अवस्था छैन । प्याकेज नम्बर १८ को पुलघाटमा जोड्न सक्यो भने खलंगा क्षेत्रको साढे चार किलोमिटर पक्की तटबन्ध निर्माणको काम पूरा हुने श्रेष्ठको भनाइ छ ।

०७० सालमा सदरमुकाम खलंगामा बाढीका कारण ठूलो क्षति भएको थियो । बाढीपछि सदरमुकाम जोगाउन महाकाली नदी नियन्त्रण आयोजना सुरु भएको हो । सुरुमा तीन वर्षभित्र निर्माण सक्ने गरी आयोजना सुरु भएको हो । निर्धारित समयमा काम हुन नसकेपछि आयोजनाको गुरुयोजना ०७५ मंसिर ५ गते संशोधन गरिएको थियो । 

संशोधन गुरुयोजनाअनुसार पनि काम हुन नसकेपछि पुनः आर्थिक वर्ष ०७७/७८ सम्म निर्माण सक्ने गरी संशाेधन गरिएको थियो । पटक–पटक गुरुयोजना संशोधन गर्दै जाँदा पनि काम सम्पन्न हुन नसक्दा तेस्रोपटक ०७७ मंसिर ९ गते पुनः म्याद थप गर्दै आयोजनाको लक्ष्य ०७९/८०सम्म पुर्‍याइएको  छ । पछिल्लो समय महाकाली नदी नियन्त्रण आयोजनाअन्तर्गत दार्चुलाकै चमेलिया र नौगाड क्षेत्रमा काम विस्तार गरिएको छ । यस्तै बझाङ, बैतडी र डडेल्धुरामा समेत संघअन्तर्गतका तटबन्ध निर्माणको काम अहिले नदी नियन्त्रण आयोजनाले पाएको छ ।

सदरमुकाम खलंगा तहसनहस भएको अवस्थामा साढे चार किलोमिटर क्षेत्रमा पक्की संरचना निर्माणपछि अहिले सदरमुकाम सुरक्षित छ । देशकै नमुना आयोजनाको रूपमा सुरु गरिएको तटबन्ध निर्माण समयमै निर्माण सम्पन्न गर्नुपर्नेमा जिल्लावासीको माग छ । सदरमुकाम खलंगा पूरै रिङरोडमा जोड्न पुलघाट क्षेत्रमा तटबन्ध निर्माण गर्नुपर्नेछ । तटबन्धसँगै सडक पनि निर्माण गरिएको हुँदा देशकै नमुना तडबन्ध पक्की संरचना बनेको हो । अहिले यो तटबन्ध निर्माण भएको क्षेत्रमा जथाभावी बालुवा उत्खनन र केही ठाउँमा नदीका कारण तटबन्ध संरचना भत्किने खतरा बढेको आयोजनाले जनाएको छ । 

चमेलिया र नौगाडमा तटबन्ध निर्माण गर्न बजेट अभाव
नदी कटानको उच्च जोखिममा रहेका दार्चुलाको नौगाड गाउँपालिकाको होपरीगाड क्षेत्र र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर बजार क्षेत्रमा पक्की तटबन्ध निर्माणको प्रक्रिया चालू भए पनि बजेट अभावले काम हुन सकेको छैन । यो क्षेत्रमा दार्चुला सदरमुकामको जस्तै पक्की तटबन्ध बनाउने गरी गुरुयोजना निर्माण गरिएको छ । तर, अहिलेसम्म बजेट सुनिश्चितता नहुँदा निर्माणको काम अघि बढ्न नसकेको महाकाली नदी नियन्त्रण आयोजनाका इन्जिनियर स्मित श्रेष्ठ बताउँछन् ।

अहिले पनि चमेलिया नदीमा तारजाली लगाउन एक करोड र नौगाडमा जाली राख्न ५० लाख रुपैयाँ मात्रै बजेट छ । ‘यहाँको जस्तै संरचना बनाउने योजना हो, तर बजेट सुनिश्चितता नहुँदा बोलपत्र आह्वान हुन सकेको छैन,’ श्रेष्ठले भने । नौगाडको होपरीगाड क्षेत्रमा तीनपटक बाढी आएपछि यहाँका बस्ती जोखिममा परेका छन् । यस्तै गोकुलेश्वर बजार क्षेत्रको एक किलोमिटर क्षेत्रभित्र चमेलियाको कटान अत्यधिक रहेको भन्दै तत्काल तटबन्ध निर्माणको कार्य अघि बढाउने गरी प्रक्रिया थालिएको भए पनि बजेट अभावमा काम हुन सकेको छैन ।

निर्माण नसकिँदै भत्किन थाल्यो तटबन्ध
सदरमुकाम खलंगा क्षेत्रमा निर्माणाधीन तटबन्ध भत्किन थालेको छ । सदरमुकाम खलंगाको साढे चार किलोमिटरभित्र निर्माणाधीन तटबन्ध निर्माणको काम नसकिँदै भत्किन थालेको हो । निर्माणाधीन तटबन्धको आधा दर्जनभन्दा बढी ठाउँमा तटबन्ध भत्किन थालेको हो । पछिल्लो समय तिंकर खेडा क्षेत्रको सिँढी भएको क्षेत्रमा तटबन्ध भत्किएको छ । स्थानीयको लागि हिँडडुल बनाउन बनाइएको तटबन्ध पूरै छुट्टिएर गएको छ । 

सदरमुकाम खलंगाको नमस्कारदेखि बंगाबगड लास्कुसम्म रिङरोडसम्म जोड्ने गरी निर्माण गरिएको तटबन्ध अझै पूरा भएको छैन । प्याकेज नम्बर १८ क्षेत्र तोकिएको पुलघाट क्षेत्रमा तटबन्ध निर्माणाधीन छ । राजेन्द्र निर्माण सेवाले यो क्षेत्रमा ठेक्का पाए पनि गत वर्ष काम गर्न नसक्दा तटबन्ध निर्माणको काम अधुरै रहेको महाकाली नदी नियन्त्रण आयोजनाका इन्जिनियर स्मित श्रेष्ठले जानकारी दिए ।

तटबन्ध निर्माण सम्पन्न नहुँदै भत्किन थालेपछि स्थानीय भने चिन्तित बन्न थालेका छन् । तिंकरखेडा क्षेत्रमा पूरै जोडिएको तटबन्ध अलग भएको छ । यसको साथै साढे चार किलोमिटरभित्रका विभिन्न क्षेत्रमा अहिले तटबन्ध जोखिममा परेको छ । आयोजनाका इन्जिनियर श्रेष्ठका अनुसार तटबन्ध भत्किएका क्षेत्रमा पुनः ठेक्का लगाउने गरी तयारी गरिएको छ । थुप्रै ठाउँमा भत्किएका छन्, बिग्रिएको ठाउँमा पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको उनले बताए ।

 

ad
ad