१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o७:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ए डिभिजन लिग : मनाङ शीर्ष स्थानमा उक्लियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:o१:oo

लिगको चौथो चरणमा फ्रेन्ड्सलाई २–० ले निराश पारेको सर्वाधिक आठपटकको विजेता मनाङ १० अंकका साथ शीर्ष स्थानमा छ

सर्वाधिक आठपटकको विजेता मनाङ मर्स्याङ्दी क्लब सहिद स्माकर ए डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लेको छ । दशरथ रंगशालामा मनाङले चौथो चरणमा ललितपुुरको फ्रेन्ड्समाथि २–० को जित निकाली १० अंकका साथ शीर्ष स्थानमाथि कब्जा जमाएको हो । फ्रेन्ड्स दुई अंकका साथ लिगको १२औँ स्थानमा छ । लिगको चौथो चरण खेल सुरु भइसक्दा पनि जावलाखेल र एपिएफ क्लबले अंक खाता खोल्न सकेका छैनन् । 

मनाङको जितमा नाइजेरियन स्ट्राइकर ओलावाले अफिज र दिनेश राजवंशीले एक–एक गोल गरेका थिए । खेलमा पकड जमाएको मनाङले ४१औँ मिनेटमा अग्रता लियो । नाइजेरियन खेलाडी अफिजले निकै क्लोज रेन्जबाट गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । कप्तान अञ्जन विष्टको सटिक क्रसमा डिबक्सभित्र अनमार्कमा रहेका अफिजले हेडिङ गोल गरेका हुन् । यसअघि खेलको आठौँ मिनेटमा फ्रेन्ड्सले अग्रता अवसर गुमायो । 

मनाङका गोलरक्षक विशाल सुनारले बललाई ग्रिपमा लिन नसकेको अवस्थामा नाथालिन जुडे गार्सियाको प्रहारलाई सरोज योन्जन लामाले गोललाइनबाट ब्लक गरेका थिए । फ्रेन्ड्समाथि हाबी देखिएको मनाङले खेलको २१औँ मिनेटमा एडेलाजा सोमिडेले डिबक्सबाहिरबाट प्रहार गरेको बल दोस्रो बारनजिक हुँदै बाहिरियो । खेलको ७३औँ मिनेटमा दिनेशले मनाङलाई २–० को अग्रता दिलाए । डिबक्सबाहिर पुजन उपरकोटीको फ्रिकिकमा दिनेशले हेडिङ गोल गरेका हुन् । 

खेलको ५४औँ मिनेटमा मनाङका कप्तान विष्टले वान भर्सेस वानको अवस्थामा गरेको प्रहार सिधै फ्रेन्ड्सका गोलरक्षक राहुलले बचाए । मनाङका प्रशिक्षक फुजाले खेलाडीले अझै मिहिनेत गर्नुपर्ने बताएका छन् । ‘खेलबाट निकै खुसी छु, तर अझै पनि खेलाडीहरूले मिहिनेत गर्नुपर्छ,’ खेलपछि पत्रकार सम्मेलनमा फुजाले भने, ‘जितको अन्तर यो भन्दा बढी हुन सक्थ्यो, हामी यो खेलभन्दा माथिल्लो स्तरमा खेल्न सक्ने टोली हौँ ।’ फ्रेन्ड्सका प्रशिक्षक मृग्रेन्द्र मिश्रले प्रमुख तीन खेलाडी घाइते हुँदा खेलमा असर परेको जनाए । ‘मनाङविरुद्ध प्रमुख तीनजना खेलाडी घाइते थिए, उनीहरूले आफ्नो स्तरअनुसार खेल्न सकेनन्,’ मिश्रले भने, ‘डिफेन्सका खेलाडीले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा हामीले अनावश्यक गोल व्यहोर्‍यौँ ।’ 

यसैबीच मनाङले घरेलु मैदानका रूपमा पोखरा रंगशालालाई प्रयोग गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मनाङलाई पोखरा रंगशालामा घरेलु मैदानका रूपमा लिगअन्तर्गत तीनवटा खेल खेल्न अनुमति दिएको हो । क्लबहरूले पनि मनाङविरुद्ध पोखरामा प्रतिस्पर्धा गर्ने सहमति जनाइसकेका छन् । मनाङले नेपाल पुलिस क्लब, ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबसँग पोखरामा खेल्नेछ । यसअघि एन्फाले दशरथ रंगशालासँगै पोखरा, च्यासल तथा सातदोबाटोको मैदानमा लिग सञ्चालन गर्ने घोषणा गरेको थियो । 

जर्जप्रिन्स र जगजितले आर्मीलाई जिताए 
साविक उपविजेता आर्मीले च्यासल युथ क्लबलाई २–० ले हराएको छ । आर्मीको जितमा स्ट्राइकर जर्जप्रिन्स कार्की र मिडफिल्डर जगजित श्रेष्ठले एक–एक गोल गरेका हुन् । आर्मीको यो लिगमा दोस्रो जित हो । जितसँगै आर्मीले शीर्षस्थानको मनाङलाई पछ्याउँदै दोस्रो स्थानमा उक्लेको छ । आर्मीले चार खेलबाट आठ अंक जोडेको छ । च्यासल चार अंकका साथ लिगको नवौँ स्थानमै छ । च्यासलले लिगमा दोस्रो हारको सामना गरेको छ । एक खेल कम खेलेको सातदोबाटो सात अंकका साथ तेस्रो स्थानमा रहेको छ । 

शुक्रबारको दोस्रो खेलमा आर्मीले १९औँ मिनेटमै अग्रता लियो । आर्मीलाई जर्जप्रिन्सले हेडिङ गोल गर्दै अग्रता दिलाएका हुन् । जर्जप्रिन्सले गोल गर्दा डिबक्सबाहिर सन्तोष तामाङ र टंक बस्नेतबीच उत्कृष्ट तालमेल भएको थियो । टंकले निकालेको क्रसमा जर्जप्रिन्सले हेडिङ गोल गरे । खेलको ३६औँ मिनेटमा जगजित श्रेष्ठले आर्मीलाई २–० को स्थितिमा राखे । गोलरक्षक अर्पण कार्कीको गल्तीमा जगजितले वान टर्चमै आकर्षक गोल गरेका हुन् । 

 

 

ad
ad