मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ मङ्सिर १७ शुक्रबार ०६:५५:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेसको १४औँँ महाधिवेशन : भृकुटीमण्डपमा उद्घाटन,  पुलिस क्लब र सभागृहमा मतदान 

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर १७ शुक्रबार ०६:५५:००

२९ वटा मतपत्र : एक मतदातालाई भोट हाल्न एक घन्टाभन्दा बढी समय लाग्ने

कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन भृकुटीमण्डपमा हुने भएको छ । ‘उत्साह, एकता, रूपान्तरण ः सफल बनाऔँ १४औँ महाधिवेशन’भन्ने मूल नाराका साथ कांग्रेसले मंसिर २४ देखि २७ सम्म महाधिवेशन गर्दै छ । 

भृकुटीमण्डपमा उद्घाटन गरेपछि केन्द्रीय पदाधिकारीका लागि मतदान भृकुटीमण्डप, महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृहमा गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले महाधिवेशनको अन्तिम तयारी भइरहेको बताए । 

कांग्रेस महाधिवेशनका लागि देशभरबाट पाँच हजार महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् । यसबाहेक विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि पनि महाधिवेशनमा सहभागी हुनेछन् । 

कांग्रेसले महाधिवेशनलाई शक्ति प्रदर्शनका रूपमा भने लिएको छैन । ‘कोरोनालाई ख्याल गरेर भिडभाड गर्दैनौँ । स्वास्थ्य मापदण्ड पालना गरेर शालीन रूपमा महाधिवेशन सम्पन्न गर्छौँ,’ प्रवक्ता शर्माले भने, ‘संख्यालाई मात्रै शक्ति मान्न सकिँदैन । आगामी निर्वाचनको ब्यालेट बक्सबाट कांग्रेसले शक्ति प्रदर्शन गर्छ ।’

साथै, उनले एमाले महाधिवेशनतर्फ लक्षित गर्दै कांग्रेस महाधिवेशनमा निषेधको राजनीति नहुने स्पष्ट पारे । ‘कांग्रेसमा जुनसुकै समयमा पनि नेतृत्वको आलोचना र विरोध गर्न पाइन्छ । भोट नहाल भन्ने सूची वितरण गर्नेजस्ता निषेधका क्रियाकलाप हुने छैनन्,’ उनले भने ।

२९ वटा मतपत्र : मतदान गर्न एक घन्टाभन्दा बढी समय लाग्ने
कांग्रेसले केन्द्रीय पदाधिकारीको निर्वाचनका लागि २९ प्रकारका मतपत्रको व्यवस्था गरेको छ । कांग्रेस सूचना अधिकारी केशव रिजालका अनुसार उम्मेदवारको संख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था हुनेछ । मतदानका क्रममा सयभन्दा बढी उम्मेदवार रहने भएकाले मतदान गर्न एक व्यक्तिलाई एक घन्टाभन्दा बढी समय लाग्नेछ । पाँच हजार प्रतिनिधि महाधिवेशनका मतदाता हुन् । 

उनले निर्वाचन गर्नुपर्ने पदको संख्या बढी भएकाले मतपत्रको संख्या बढी भएको र एक मतदातालाई एक घन्टाभन्दा बढी समयसम्म लाग्ने अनुमान गरिएको नयाँ पत्रिकालाई बताए । ‘निर्वाचित हुनुपर्ने पदसंख्या धेरै भएकाले २९ वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ,’ रिजालले नयाँ पत्रिकासँग भने, ‘एक मतदातालाई ३० मिनेटदेखि एक घन्टाभन्दा बढी समयसम्म लाग्ने अनुमान छ ।’