मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १६ बिहीबार २१:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपामा थापा र लिङ्देनको प्यानल, को–को छन् पदाधिकारीका दाबेदार ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १६ बिहीबार २१:३८:००

राप्रपामा नेतृत्वका लागि चुनाबी प्रक्रिया शुक्रबार मात्रै सुरु हुने भएको छ । अध्यक्ष कमल थापा पक्षले फर्जी मतदाताको सूची बनाएको भन्दै राजेन्द्र लिङ्देन पक्षले विरोध गरेपछि छानबिन समिति गठन गरेर यससम्बन्धी विवाद समाधान भएको हो । बिहीबार साँझ केन्द्रीय निर्वाचन समितिले नामावलीको सूची टाँसेको छ ।  

राप्रपा वरिष्ठ नेता हरिबहादुर बस्नेत नेतृत्वको निर्वाचन समितिले मतदाता नामावली छानबिनका लागि समिति गठन गरेको थियो । राप्रपा नेता तोरणबहादुर गुरुङ, पुष्कर अधिकारी, श्यामबहादुर शाही, झनक प्याकुरेल र कैयाँ चौधरी रहेको समितिले नामावली विवाद समाधान गरेर अन्तिम रूप दिएसँगै नामावली टाँसिएको छ । छानबिन समितिले ४ हजार ४ सय ७१ जनाको आधिकारिकता टुंग्याएको छ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले थप महाधिवेशन प्रतिनिधि मनोनीत गरेका छन् । 

बिहीबार साँझसम्म अध्यक्षका प्रत्यासी कमल थापा र राजेन्द्र लिङ्देन दुवै पक्षले प्यानल तय गरेका छन् । थापा पक्षबाट उपाध्यक्षका उम्मेदवारमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की छन् । लिङ्देन पक्षबाट उपाध्यक्षका उम्मेदवारहरू  विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ छन् । पाण्डे दुवै पक्षका उम्मेदवार भएका छन् । राप्रपामा एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीनजना महामन्त्री निर्वाचित हुनुपर्ने विधानमा उल्लेख छ । 

थापा पक्षका महामन्त्रीका उम्मेदवारहरू पनि तय भएका छन् । भुवन पाठक, भाष्कर भद्रा र कुन्तीकुमारी शाही थापा पक्षका उम्मेदवार हुन् । लिङ्देन समूहले महामन्त्रीमा रेखा थापा, डा. धवलशमशेर राणा र श्याम तिमल्सिनालाई उठाउने भएको छ । उपाध्यक्षका उम्मेदवार पाण्डेले कुन पक्षमा लाग्ने भन्ने खुलाएका छैनन्, उनलाई दुवै पक्षले आफ्नो उम्मेदवार तय गरेको छ । 

केन्द्रीय निर्वाचन समितिका अनुसार राप्रपाका अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका दाबेदारहरूले शुक्रबार बिहानदेखि उम्मेदवारी दर्ता गराउने समय दिइएको छ । उम्मेदवारी दर्ता शुक्रबार साँझसम्म टुंगिएपछि शनिबार बिहान मतदान सुरु गर्ने निर्वाचन समितिको तयारी छ । आइतबारसम्म मतपरिणाम सार्वजनिक हुने समितिका एक सदस्यले जानकारी दिए ।