१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १६ बिहीबार
  • Wednesday, 02 July, 2025
रासस मुस्ताङ
२o७८ मङ्सिर १६ बिहीबार १o:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुस्ताङ प्रवेश गर्न पिसिआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य    

Read Time : < 1 मिनेट
रासस मुस्ताङ
नयाँ पत्रिका मुस्ताङ
२o७८ मङ्सिर १६ बिहीबार १o:२५:oo

कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पिसिआर रिपोर्ट वा कोरोनाविरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन् ।

हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको जोखिमलाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार विशेष गरी पर्यटकका लागि सात दिनभित्रको पिसिआर नेगेटिभ रिपोर्ट वा पूर्ण मात्राको खोप कार्ड वा पछिल्लो ७२ घन्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको हो । मुस्ताङमा स्थायी बसोवास गर्दै आएकाहरू तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीहरूका लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।  

'मंसिर १५ गते राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागू हुने गरी मुस्ताङ घुम्न आउनेहरूका लागि कडाइ गरेका छौँ, त्यसबाहेक जिल्लाभित्रका विभिन्न क्रियाकलापहरूमा पनि कडाइ गर्दै आदेश जारी भएको छ,' प्रजिअ शर्माले भने 'नेपाल भित्रिएका बाह्य तथा आन्तरिक पर्यटकहरू एकपटक मुस्ताङ पुग्ने योजनामा हुन्छन् । अहिले विभिन्न देशमा नयाँ भेरियन्ट फैलिँदै गएको खबर आइरहेकाले पर्यटकका माध्यमबाट मुस्ताङसम्म पुग्न सक्ने जोखिमका कारण कडाइ गरिएको हो ।'

जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार लगायतका भीडभाड हुने खालका कार्यक्रम नगर्न पनि आदेश दिएको छ । त्यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका अनिवार्य कार्य गर्नु परेमा भने २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको छ ।