मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर १६ बिहीबार ०८:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले महाधिवेशनमा सहभागी हुन  चितवन हिँडेका सदाको बाटोमै मृत्यु

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर १६ बिहीबार ०८:३४:००

सदाको मृत्यु कसरी भयो भन्नेबारे प्रहरी नै अन्योलमा, एमालेले ‘महाधिवेशन सहिद’ घोषणा गर्नुपर्ने परिवारको माग

सप्तरीको सुरुंगा नगरपालिका–३ दौलतपुर भुसी महुलिया गाउँका परशुराम सदाको बुढेसकालको सहारा थिए ३६ वर्षीय भगलु सदा । घुम्न र रमाइलो हेर्न पाइन्छ भनेपछि साथीहरूको लहैलहैमा उनी चितवनमा एमालेको महाधिवेशन उद्घाटन हेर्न घरबाट हिँडे । गाउँका सातजना साथीसँग हिँडेका सदा घर त फर्किए, तर शव बनेर । एमाले महाधिवेशनमा गएको छोरा मंगलबार राति शव बनेर फर्किएपछि परिवारमा रुवाबासी चलेको छ ।

महाधिवेशनको उद्घाटनसत्र सकिएपछि भोलिपल्ट बिहानीपख गाउँका साथीहरू घर फर्किए पनि सदा नफर्किएपछि परिवारजनले सोधखोज गरिरहे । १२ मंसिरमा प्रहरीमार्फत चितवनमा घाइते अवस्थामा उपचार भइरहेको खबर पाएपछि त्यही राति श्रीमती सुनिता सदासहित परिवारका दुईजना भरतपुर गएको स्थानीय रामनारायण चौधरीले बताए । भरतपुरस्थित सरकारी अस्पतालमा उपचार गराइरहेका सदाको १३ मंसिर दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । 

उनका अनुसार ११ मंसिर बिहान भरतपुर महानगरपालिका–१२ सुकुमबासी बस्तीनजिकै रहेको नहरमा घाइते अवस्थामा भेटिएका थिए सदा । ‘दुवै खुट्टाको गोलीगाँठोनजिक चोट लागेको र केही छाला खुइलिएर घाइते अवस्थामा भेटिएका सदालाई तत्काल उद्धार गरी भरतपुर अस्पताल भर्ना गर्‍यौँ,’ प्रहरी नायव उपरीक्षक अधिकारीले नयाँ पत्रिकासँग भने । सदाको उपचार चलिरहेकै वेला सोेधखोज गर्दा घर ठेगाना बताएपछि सप्तरी प्रहरीमार्फत परिवारजनलाई खबर गरिएको उनले बताए । ‘१३ मंसिर बिहान श्रीमतीसहित आफन्त आएपछि पनि बोल्दै थिए, उपचार चल्दाचल्दै त्यही दिन दिउँसो करिब पौने २ बजेतिर मृत्यु भयो,’ अधिकारीले भने । सदाको शवको पोस्टमार्टम गरी शव परिवारजनको जिम्मा लगाएर पठाइएको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने उनले बताए । 

बाटोमै हराएका थिए सदा
महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन भन्दै ९ मंसिर राति साथीहरूसँग हिँडेका सदा चढेको रिजर्भ बस मकवानपुर र बाराको सीमा चुरेनजिक सवारीसाधनको चापले १० मंसिर बिहानसम्म जाममा फसेको थियो । बिहानसम्म सवारी आवागमन अवरुद्ध भएपछि शौच गर्न निस्किएका सदा नफर्किंदै जाम खुलिसकेकाले उनी अलपत्र परेको उनीसँगै गएका साथीहरू बताउँछन् । ‘एक्कासि प्रहरीमार्फत घाइते अवस्थामा भेटिएको सुनेपछि छाँगाबाट खसेजस्तै भयौँ,’ श्रीमती सुनिताले भनिन्, ‘परिवारको भरणपोषण गर्ने खम्बा नै ढलेपछि वृद्ध ससुरा, स–साना दुई छोरा, एक छोरीको बिचल्ली हुने भो ।’

सहिद घोषणाको माग
बुढेसकालको सहारा एक्लो छोरोको मृत्यु भएपछि वृद्ध बाबु परशुराम बोल्न पनि सकिरहेका छैनन् । ‘मेरो छोरा पार्टीको कार्यक्रममा गएको वेला मृत्यु भएको हो भने पार्टीले मञ्चबाटै सहिद घोषणा किन गरेन ? यो कस्तो विभेद हो ?’ उनले भने, ‘पार्टीको कार्यक्रममा गएको छोराको मृत्युका बारेमा छानबिन गरी नियोजित हो भने दोषी पत्ता लगाएर कारबाही गर्न माग गर्दछु ।’ करिब दुई सातापछि वैदेशिक रोजगारीका लागि खाडी मुलुक कतार जाने तयारीमा रहेका सदा एमालेको महाधिवेशनमा गएको अवस्थामा मृत्यु भएकाले महाधिवेशनको सहिद घोषणा गरिनुपर्ने उनको माग छ । भगलु केही वर्ष खाडी मुलुकमै रोजगारी गरेर फर्किएका थिए । 

घरमा शव ल्याएलगत्तै दाहसंस्कार गर्ने तयारी गरिएको थाहा पाएपछि आफूहरू तत्काल पुगेर घटनाको छानबिन, परिवारलाई पार्टीबाट क्षतिपूर्ति उपलब्ध नगराएसम्म शव जलाउन नदिइने अडान राखेको राष्ट्रिय दलित मुक्ति जागरण अभियानका राजेश विद्रोहीले बताए । उनका अनुसार बुधबार बिहान एमाले जिल्ला सचिव देवनाथ यादवसहितको उपस्थितिमा पारिवारसँगको छलफलपछि परिवारलाई पार्टीबाट क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने, तीन छोराछोरीको शिक्षादीक्षाको व्यवस्था पार्टीले गर्ने, काजकिरियाबापत तत्काल पार्टीले रकम उपलब्ध गराउने सहमतिपछि दिउँसो स्थानीय बलान नदीकिनारमा दाहसंस्कार गरिएको उनले जानकारी दिए ।