१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १० शुक्रबार
  • Wednesday, 02 July, 2025
कमल खत्री म्याग्दी
२o७८ मङ्सिर १० शुक्रबार १३:४६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीयवासीद्वारा घारखोला जलविद्युत् आयोजनाको काम ठप्प

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७८ मङ्सिर १० शुक्रबार १३:४६:oo

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले काम रोकेर अवरोध गरेका छन्। वडा नम्बर ६ घारको प्रभावित क्षेत्रमा पर्ने सडक स्तरोन्नति नगरेको र क्षति पुगेका जग्गाधनीलाई मुआब्जा दिन आयोजनाले आनाकानी गरेको भन्दै स्थानीयवासीले बुधबारदेखि आयोजनाको सम्पूर्ण काम ठप्प पारेका हुन्।

स्थानीयवासीका जायज मागहरूमा आयोजनाले बेवास्ता गरेको र पटकपटकको ताकेतालाई समेत सम्बोधन नगरेपछि आन्दोलनमै उत्रिएर आयोजनाको सबै काम ठप्प पार्नुपरेको संघर्ष समितिका संयोजक राजु बरुवालले बताए। बरुवालको नेतृत्वमा आयोजनाको निर्माण कार्य भइरहेको क्षेत्रमा पुगेका दुई दर्जन स्थानीयवासीले सुरुङमार्गमा बार लगाइदिएका छन्। आयोजनाको स्टोर, क्रसर, सवारी मर्मत स्थललगायत सबै ठाउँको काम ठप्प भएको छ।

म्याग्दी हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको यस आयोजनामा सुरुङ ब्रेक थु भएर अन्य ड्याम साइट र विद्युतगृहतर्फको काम अघि बढेको थियो। आयोजनाको आन्तरिक पहुँचमार्ग बिरौटाबाट कुरिलाबौरसम्म पर्ने करिब तीन किलोमिटर सडक स्तरोन्नति र यस मार्गका कारण क्षति भएकाहरूका लागि क्षतिपूर्ति तथा विगतमा गरिएका सम्झौताहरू आयोजनाले कार्यान्वयन नगरेकाले दबाबमूलक आन्दोलनमा उत्रन बाध्य भएको स्थानीयवासीले बताएका छन्। 

स्थानीयवासीले आन्तरिक पहुँचमार्गलाई ग्याबिन जाली लगाएर, मेसिनरी पर्खाल लगाउने, नाली निर्माणसहित दुई लेनको बनाउनुपर्ने र आवश्यकताअनुसार, सोलिङ र ढलानसँगै कालोपत्रे गर्नुपर्ने माग गरेका छन्। आयोजनाले पहुँचमार्गको चौडाइ बढाउँदा आवश्यक पर्ने व्यक्तिगत जग्गाहरूलाई उचित मुआब्जा दिनुपर्ने, पहुँचमार्गमा पर्ने खोला तथा खोल्सीहरूमा पुल तथा ह्युमपाइपको व्यवस्था गरिनुपर्ने माग गरेका छन्।

त्यसैगरी व्यक्तिगत तथा सार्वजनिक जग्गाहरू संरक्षण गर्नका लागि पहुँचमार्ग निर्माण गर्दा असर पुगेका ठाउँमा आवश्यकताअनुसार पर्खाल र ग्याबिन जाली लगाउनुपर्ने, प्रभावित क्षेत्रका खानेपानीका मूलहरू सुक्दै गएको पाइएकोले मूलहरूको अनुगमन तथा संरक्षण गर्नुपर्ने, पहुँचमार्गका कारणले सिँचाइमा असुविधा पुगेकाले वैकल्पिक सिँचाइ सुविधाको प्रबन्ध मिलाउन माग गरेका छन्।

अन्नपूर्ण गाउँपालिका ५ नम्बर वडा शिख र ६ नम्बर वडा घारको सीमा क्षेत्रमा पर्ने कुरिला बगरमा बाँध रहने यस आयोजनामा सुरुङमार्गबाट पानी लगेर पोखरे बगरमा रहने विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ। ०७४ चैतबाट निर्माण सुरु भएको यस आयोजनाबाट आगामी असार मसान्तभित्रै विद्युत् उत्पादन गर्ने गरी निर्माणकार्य अघि बढाइएको थियो। कुल दुई अर्ब ४२ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा कोरोनाका कारण निर्माणको काम पछि धकेलिएसँगै लागत बढ्ने देखिएको आयोजनाले जनाएको छ।